YouVersion लोगो
खोज आइकन

प्रेरित 13:13-25

प्रेरित 13:13-25 NNRV

पावल र तिनका साथीहरू पाफोसबाट जहाज चढ़ी पामफिलियाको पर्गामा पुगे, र यूहन्‍नाचाहिँ तिनीहरूबाट छुट्टिएर यरूशलेम फर्के। तर तिनीहरू पर्गाबाट निस्‍केर पिसिदियाको एन्‍टिओखियामा आए, र शबाथमा सभाघरभित्र गएर बसे। अब व्‍यवस्‍था र अगमवक्ताका पुस्‍तकको पाठ पढ़ेपछि सभाघरका शासकहरूले तिनीहरूकहाँ यसो भनी पठाए, “ए भाइ हो, तपाईंहरूसित मानिसहरूका निम्‍ति अर्तीको वचन केही छ भने भन्‍नुहोस्‌।” तब खड़ा भएर पावलले हातले इशारा गरी भने, “हे इस्राएलका मानिस र परमेश्‍वरको डर मान्‍ने हो, सुन्‍नुहोस्, इस्राएल जातिका परमेश्‍वरले हाम्रा पिता-पुर्खाहरूलाई चुनिकन मिश्रदेशमा रहँदा तिनीहरूलाई महान्‌ तुल्‍याउनुभयो, र उहाँको शक्तिशाली बाहुलीले तिनीहरूलाई त्‍यस देशबाट निकाली ल्‍याउनुभयो। उजाड-स्‍थानमा प्राय: चालीस वर्षसम्‍म उहाँले तिनीहरूको हेरचाह गर्नुभयो। तब उहाँले कनान देशमा सात वटा जातिलाई नाश पारेर उनीहरूका देशको अधिकार प्राय: चार सय पचास वर्षसम्‍म तिनीहरूलाई दिनुभयो। “यी कुरापछि शमूएल अगमवक्ताको पालोसम्‍म उहाँले न्‍यायकर्ताहरू दिनुभयो। त्‍यसपछि तिनीहरूले राजा मागे, र परमेश्‍वरले बेन्‍यामीन कुलका कीशका छोरा शाऊललाई चालीस वर्षसम्‍म तिनीहरूमाथि राज्‍य गर्न दिनुभयो। उहाँले तिनलाई हटाउनुभएपछि दाऊदलाई तिनीहरूका राजा हुन खड़ा गर्नुभयो। उनको विषयमा परमेश्‍वरले गवाही दिएर भन्‍नुभयो, ‘मैले यिशैको छोरो दाऊदलाई मेरो हृदयअनुसारको मान्‍छे पाएँ, जसले मेरा सबै इच्‍छा पूरा गर्नेछ।’ “यही मानिसको भावी सन्‍तानबाट, उहाँको प्रतिज्ञाबमोजिम, परमेश्‍वरले इस्राएलको लागि एक मुक्तिदाता, येशूलाई ल्‍याउनुभयो। उहाँ आउनभन्‍दा अघि यूहन्‍नाले इस्राएलका सबै मानिसलाई पश्‍चात्तापका बप्‍तिस्‍माको प्रचार गरेका थिए। यूहन्‍नाले आफ्‍नो कार्य समाप्‍त गर्न लाग्‍दा भनेका थिए, ‘तिमीहरू के ठान्‍छौ, म को हुँ? म ऊ होइनँ। तर मपछि एक जना आउनुहुनेछ, जसका खुट्टाका जुत्तासम्‍म पनि फुकाल्‍ने लायकको म छैनँ।’

Video for प्रेरित 13:13-25