याहवेहले नातानलाई दावीदकहाँ पठाउनुभयो। जब नातान दावीदकहाँ आए, र तिनले भने, “कुनै एउटा सहरमा दुई जना मानिसहरू थिए, एक जना धनी र अर्कोचाहिँ गरिब थिए। त्यस धनी मानिससँग धेरै भेडा र गाईबस्तुहरू थिए। तर त्यस गरिब मानिससित आफूले किनेको एउटी पाठीबाहेक केही थिएन। त्यसले पाठीलाई आफ्नै छोराछोरीसँगै हुर्कायो र त्यो बढ्यो। त्यसले उसकै भोजनबाट खान्थ्यो, र उसकै कचौराबाट पिउँथ्यो; अनि उसकै काखमा सुत्दथ्यो। त्यो पाठी उसका निम्ति आफ्नै छोरीतुल्य थियो। “एक दिन धनी मानिसकहाँ एक जना यात्री पाहुना आयो। तर त्यस धनी मानिसले आफूकहाँ आएको यात्रीको निम्ति भोजन बनाउनको लागि आफ्नो भेडा अथवा गाईबस्तु मार्ने इच्छा गरेनन्। बरु त्यसको सट्टा तिनले त्यस गरिब मानिसको त्यो पाठी लिएर आफूकहाँ आएको व्यक्तिको निम्ति भोजन तयार गर्यो।” तब दावीद त्यो कुरा सुनेर त्यस धनी मानिससँग साह्रै रिसाए, र तिनले नातानलाई भने, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्चय नै त्यसो गर्ने त्यो मानिस मारिनैपर्छ! त्यस मानिसले त्यस पाठीको दाम चार गुणा तिर्नुपर्छ। किनकि त्यसले त्यस्तो काम गर्यो, र त्यसले कुनै दया देखाएन।” तब नातानले दावीदलाई भने, “त्यो मानिस तपाईं नै हुनुहुन्छ! याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरेँ; अनि मैले तँलाई शाऊलको हातबाट छुटाएँ। मैले तँलाई तेरा मालिकको घर र तेरा मालिकका पत्नीहरू तेरो हातमा दिएँ। मैले तँलाई इस्राएल र यहूदाका घराना दिएँ। अनि यदि तँलाई यी सबै कुराहरू अपुग भएको भए म तँलाई अझ बढी दिनेथिएँ। तैँले याहवेहको वचनलाई तुच्छ ठानेर किन उहाँको दृष्टिमा जे खराब छ, त्यही गरिस्? तैँले हित्ती उरियाहलाई तरवारले मारिस्, र त्यसकी पत्नीलाई आफ्नी पत्नी बनाइस्। तैँले त्यसलाई अम्मोनीहरूको तरवारद्वारा मारिस्। यसकारण अब तेरो घरानाले कहिल्यै तरवारबाट विश्राम पाउनेछैन; किनकि मलाई तुच्छ ठानेर तैँले हित्ती उरियाहकी पत्नीलाई ल्याएर आफ्नी पत्नी बनाइस्।’ “याहवेह यसो भन्नुहुन्छ: ‘म तेरो आफ्नै घरानाबाट तँमाथि विपत्ति ल्याउनेछु। तेरो आफ्नै आँखाको सामु म तेरा पत्नीहरूलाई लिएर अर्को व्यक्तिलाई दिनेछु। अनि दिउँसै त्यो तिनीहरूसित सुत्नेछ। तैँले गुप्तमा यो गरिस्, तर मचाहिँ यो कुरा सारा इस्राएलको सामु दिउँसो उज्यालोमा गराउनेछु।’ ” त्यसपछि दावीदले नातानलाई भने, “मैले याहवेहको विरुद्धमा पाप गरेको छु।” नातानले तिनलाई जवाफ दिए, “याहवेहले तपाईंको पाप क्षमा गर्नुभएको छ। तपाईं मर्नुहुनेछैन। तर तपाईंले यस्तो काम गर्नुभएकोले गर्दा याहवेहका शत्रुहरूलाई घृणा गर्ने मौका दिनुभयो। त्यसकारण तपाईंबाट जन्मेको छोराचाहिँ निश्चय मर्नेछ।” अनि नातान घर गए। तब उरियाहकी पत्नीले दावीदबाट जन्माएको शिशुलाई याहवेहले प्रहार गर्नुभयो, र त्यो सिकिस्त बिरामी भयो।
2 शमूएल 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 2 शमूएल 12:1-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू