परमप्रभुले नातान अगमवक्तालाई दाऊदकहाँ पठाउनुभयो। नातान दाऊदकहाँ गएर भने, “एउटा सहरमा दुई जना मानिसहरू बस्थे, एउटा धनी र अर्कोचाहिँ गरीब थियो। धनी मानिसका धेरै गाई-गोरु र भेडाहरू थिए; तर त्यो गरीब मानिससित आफूले किनेको एउटा मात्र भेडाको पाठो थियो। उसले त्यसको स्याहार-सुसार गर्थ्यो र घरमा उसका बाल-बालिकासित त्यो बढ्यो। उसले त्यसलाई आफ्नै भोजनबाट खान दिन्थ्यो, आफ्नो कचौराबाट पिउन दिन्थ्यो र काखमा लिन्थ्यो। उसले त्यस पाठोलाई छोरी बराबर मान्थ्यो। एक दिन धनी मान्छेको घरमा एउटा पाहुना आयो। पाहुनाको भोजन तयार गर्न त्यस धनी मानिसले आफ्नै गोठको भेडा वा गोरु मार्न लाएन; तर त्यसको सट्टामा उसले गरीबको भेडाको पाठो मार्यो र पाहुनाको लागि भोजन तयार गर्यो।” दाऊदलाई त्यस धनी मानिससित साह्रै रिस उठ्यो र उनले नातानलाई भने, “जीवित परमप्रभुलाई साक्षी राखी दृढतासाथ म भन्दछु कि यस्तो काम गर्ने मानिस मृत्युको योग्य छ! यस्तो निर्दयी काम गर्नेले आफूले लिएको भन्दा चौगुणा फिर्ता दिनुपर्नेछ।” “त्यो मानिस तपाईं नै हुनुहुन्छ,” नातानले दाऊदलाई भने, “र परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘मैले तँलाई इस्राएलका राजा बनाएँ र शाऊलको हातबाट बचाएँ। त्यसका राज्य र स्वास्नीहरू मैले तँलाई दिएँ, तँलाई इस्राएल र यहूदाका राजा बनाएँ। त्यतिले तँलाई नपुगेको भए म त्यसको दोब्बर पनि दिनेथिएँ। किन तैँले मेरो आज्ञा मानिनस्? किन तैँले यो दुष्ट कर्म गरिस्? तैँले उरियाहलाई लडाइँमा मार्न लगाइस्। अम्मोनीहरूका हातमा त्यसलाई मर्न दिइस् र त्यसकी स्वास्नी लगिस्? मेरो आज्ञापालन नगरेर तैँले उरियाहकी स्वास्नी लगिस्। यसकारण हरेक पुस्तामा तेरा केही सन्तान तरवारले मारिनेछन्। म किरिया खाई भन्छु कि तेरै घरानाको कसैको हातबाट म तँलाई कष्ट दिन लाउनेछु। तेरा स्वास्नीहरू खोसेर अर्को मानिसलाई दिँदा तैँले यी सबै भएको देख्नेछस् र त्यसले दिउँसै तिनीहरूसित सम्भोग गर्नेछ। तैँले गुप्तमा पाप गरिस्; तर म यो कुरा सारा इस्राएलले देख्ने गरी दिउँसो गराउनेछु।” दाऊदले भने, “मैले परमप्रभुको विरुद्धमा पाप गरेको छु।” नातानले उत्तर दिए, “परमप्रभुले तपाईंलाई क्षमा दिनुहुन्छ, तपाईं मर्नुहुनेछैन। तर यो दुष्कर्म गरेर तपाईंले परमप्रभुलाई तिरस्कार गर्नुभएको हुनाले तपाईंको बालक बाँच्नेछैन।” त्यसपछि नातान घर गए।
२ शमूएल 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ शमूएल 12:1-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू