परमप्रभुले नातान अगमवक्तालाई दाऊदकहाँ पठाउनुभयो, र तिनी दाऊदको उपस्थितिमा हाजिर भएर तिनले भने, “एक पल्ट एउटा सहरमा दुई जना मानिस थिए, एक जना धनी र अर्कोचाहिँ गरीब। धनी मानिसका धेरै भेड़ाबाख्राका बगाल र गाई-गोरुका बथान थिए, तर त्यो गरीब मानिसको आफूले किनेको एउटा सानो पाठीबाहेक आफ्नो भन्ने केही थिएन। उसले त्यसलाई आफैले पालनपोषण गर्यो, र आफ्नै घरमा आफ्नै छोराछोरीसँग त्यो हुर्क्यो। त्यसले उसकै थालमा खान्थ्यो, र उसकै कचौरामा पिउँथ्यो, र उसकै काखमा सुत्दथ्यो। त्यसलाई उसले आफ्नो छोरीलाई जस्तै गर्थ्यो। “एक दिन एउटा परदेशी त्यस धनी मानिसको घरमा आयो, अनि त्यस धनी मानिसले पाहुनालाई आफ्नै बगाल र बथानबाट केही दिने मन गरेन, तर त्यस गरीब मानिसको पाठी ल्याएर त्यस पाहुनाको निम्ति भोजन तयार गर्यो।” दाऊदलाई त्यस कुराले साह्रै रीस उठ्यो, र तिनले कराएर भने, “जीवित परमप्रभुको नाउँमा म भन्दछु, कि यस्तो काम गर्ने मानिस मृत्युको योग्य छ! त्यसले दयामाया नगरेर यस्तो काम गरेबापत त्यस पाठीको साटो चार गुणा तिर्नुपर्छ।” तब नातानले दाऊदलाई भने, “त्यो मानिस तपाईं नै हो! परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरें। मैले तँलाई शाऊलको हातबाट छुटाएँ। मैले तँलाई तेरा मालिकको घर र त्यसका पत्नीहरू तेरै हुनलाई दिएँ। मैले तँलाई इस्राएल र यहूदाका घरानाहरू दिएँ। अनि यतिले नपुगेको भए म तँलाई अरू धेरै दिनेथिएँ। तर तैंले उहाँको दृष्टिमा जे खराब थियो त्यो गरेर किन परमप्रभुको वचनलाई तुच्छ ठानिस्? तैंले हित्ती उरियाहलाई तरवारले मारिस्, र तैंले त्यसकी पत्नीलाई आफ्नी बनाउन लगिस्। तैंले त्यस मानिसलाई अम्मोनीहरूको तरवारले मर्न दिइस्। तैंले मलाई तुच्छ ठानेको हुनाले र हित्ती उरियाहकी पत्नीलाई तैंले आफ्नी पत्नी तुल्याउनलाई लगेको हुनाले, तेरो घरानाले कहिल्यै तरवारबाट विश्राम पाउनेछैन’। “परमप्रभु भन्नुहुन्छ: ‘म तेरो आफ्नै घरानाभित्रबाट तँमाथि विपद् ल्याउनेछु। म तेरा पत्नीहरूलाई लिएर तेरै आँखाको सामुन्ने तेरो नजिकको मानिसलाई दिनेछु, र त्यो दिउँसै तिनीहरूसित सुत्नेछ। तैंले जे गरिस् त्यो गुप्तमा गरिस्, तर म योचाहिँ सारा इस्राएलले देख्ने गरी दिनको उज्यालोमा गर्नेछु’।” तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरुद्धमा पाप गरें।” नातानले तिनलाई जवाफ दिए, “परमप्रभुले तपाईंको पाप लगिदिनुभएको छ। तपाईं मर्नुहुनेछैन। तर यस कामद्वारा तपाईंले परमप्रभुका शत्रुहरूलाई भयङ्कर घृणाको मौका दिनुभयो, यसैले तपाईंबाट जन्मेको छोरोचाहिँ मर्नेछ।” नातान आफ्नो घरमा गएपछि उरियाहकी पत्नीले दाऊदबाट जन्माएको छोरालाई परमप्रभुले प्रहार गर्नुभयो, र त्यो बिरामी पर्यो।
२ शमूएल 12 पढ्नुहोस्
सुन्नुहोस् २ शमूएल 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ शमूएल 12:1-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू