1 थेसलोनिकी 5:12-28

1 थेसलोनिकी 5:12-28 NCV

अब दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूमध्ये कठोर परिश्रम गर्नेहरू, प्रभुमा तिमीहरूलाई अगुवाइ गर्नेहरू र तिमीहरूलाई उत्साह दिनेहरूलाई आदर गर। अनि तिनीहरूका कामको निम्ति तिनीहरूलाई प्रेमसाथ अति उच्‍च आदर देओ। एक-आपससँग मेलमिलापमा बस। दाजुभाइ-दिदीबहिनीहरू हो, हामी तिमीहरूलाई आग्रह गर्दछौँ, अल्छेहरूलाई चेतावनी देओ, डराएकाहरूलाई उत्साह देओ; अनि कमजोरहरूलाई सहायता गर, र सबैसँग सहनशील होओ। यस विषयमा ध्यान देओ, कसैले पनि खराबीको बदला खराबी नगरोस्, तर एक-आपसमा साथै अरू सबैसँग सधैँ भलाइ गर्ने प्रयास गर। सधैँ आनन्दित रहो। निरन्तर प्रार्थना गरिरहो। हरेक परिस्थितिमा धन्यवाद देओ; किनकि ख्रीष्‍ट येशूमा तिमीहरूको लागि परमेश्‍वरको इच्छा यही हो। पवित्र आत्मालाई ननिभाओ। अगमवाणीलाई तुच्छ नठान। हरेक कुरालाई जाँच गर; जे कुरा असल छ, त्यसलाई पक्रिराख। हरेक किसिमका दुष्‍टतालाई इन्कार गर। तिमीहरूलाई शान्तिका परमेश्‍वर आफैँले सम्पूर्ण रूपले शुद्ध बनाऊन्। हाम्रा प्रभु येशू ख्रीष्‍टको दोस्रो आगमनसम्म तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर निष्कलङ्क रहून्। तिमीहरूलाई बोलाउनुहुने परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ र उहाँले नै यो गर्नुहुनेछ। दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा निम्ति प्रार्थना गरिदेओ। परमेश्‍वरका सबै जनहरूलाई ख्रीष्‍टिय प्रेमसाथ अभिवादन गर। यो पत्र सबै दाजुभाइ-दिदीबहिनीहरूलाई पढेर सुनाइदेओ भनी प्रभुको नाममा म तिमीहरूलाई आग्रह गर्दछु। हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसँग रहोस्!

1 थेसलोनिकी 5 पढ्नुहोस्