तब दावीद रामाको नैयोतबाट भागेर जोनाथनकहाँ गएर सोधे, “मैले के गरेको छु? मेरो अपराध के हो? मैले तिम्रा पितालाई के खराबी गरेको छु र उहाँले मलाई मार्न खोज्दैहुनुहुन्छ?” जोनाथनले जवाफ दिए, “कदापि यस्तो हुनेछैन! तपाईं मर्नुहुनेछैन! हेर्नुहोस्, मेरा पिताले मलाई नभनी ठूलो वा सानो होस्, कुनै पनि काम गर्नुहुन्न। उहाँले यो कुरा मदेखि किन लुकाउनुहुन्थ्यो र? यस्तो हुनै सक्दैन!” तर दावीदले शपथ खाएर भने, “मैले तिम्रो दृष्टिमा निगाह पाएको छु भनी तिम्रा पितालाई थाहा छ। त्यसैले उहाँले आफ्नो मनमा यसरी सोच्नुभएको होला, ‘यो कुरा जोनाथनले थाहा नपाओस्, नत्रता त्यो दुःखी हुनेछ।’ साँच्चै जीवित याहवेह र तिमीलाई साक्षी राखेर म भन्दछु, म र मृत्युको बीचको दूरी एक कदम मात्र छ।” तब जोनाथनले दावीदलाई भने, “मैले तपाईंको निम्ति जे गरेको तपाईं चाहनुहुन्छ, म त्यही गर्नेछु।” यसकारण दावीदले भने, “हेर, भोलि औँसीको चाड हो। मैले राजासँग भोजन खानुपर्ने हुन्छ। तर मलाई जान देऊ, र पर्सि साँझसम्म खेतमा गएर लुक्नेछु। यदि तिम्रा पिताले मलाई खोज्नुभयो भने उहाँलाई यसो भनिदेऊ, ‘बेथलेहेममा आफ्नो घर अचानक जानुपर्ने भएको हुनाले दावीदले मसँग अनुमति मागे; किनकि त्यहाँ तिनको सम्पूर्ण घरानाका निम्ति वार्षिक बलिदान चढाउनुपर्ने रहेछ।’ यदि उहाँले, ‘ठिकै छ,’ भन्नुभयो भने तिम्रो सेवक सुरक्षित छ। तर यदि उहाँ रिसाउनुभयो भने उहाँले मलाई हानि गर्ने संकल्प गरिसक्नुभएको छ भनी तिमी निश्चित हुनु। तर तिमीले चाहिँ आफ्नो सेवकमाथि दया देखाऊ; किनकि तिमीले उसलाई याहवेहको सामु करारमा बाँधेको छौ। यदि म दोषी ठहरिएछु भने मलाई तिमी आफैँले नै मार्नु! मलाई तिम्रो पिताको हातमा किन सुम्पिदिन्छौ र?” जोनाथनले भने, “यस्तो हुनै सक्दैन! मेरा पिताले तपाईंलाई हानि गर्ने कुराको सङ्केत मैले अलिकति पनि पाएको भए के म तपाईंलाई भन्नेथिइनँ र?” तब दावीदले जोनाथनलाई सोधे, “यदि तिम्रा पिताले तिमीलाई कठोर जवाफ दिनुभयो भने त्यो कुरा मलाई कसले थाहा दिन्छ?” जोनाथनले भने, “आउनुहोस्, हामी खेतमा जाऔँ।” यसरी तिनीहरू एकसाथ खेतमा गए। तब जोनाथनले दावीदलाई भने: “याहवेह इस्राएलका परमेश्वरको नाममा म यो प्रतिज्ञा गर्छु कि, म पर्सि साँझसम्म आफ्नो पिताको मन बुझ्नेछु! यदि उहाँ तपाईंप्रति दयालु हुनुहुँदोरहेछ भने के म तपाईंकहाँ खबर पठाएर यो कुरा तपाईंलाई थाहा दिन्नँ र? तर यदि मेरा पिताले तपाईंलाई हानि गर्न निश्चय गर्नुभएको रहेछ भने मैले त्यो कुरा तपाईंलाई बताएर सुरक्षासाथ भगाइनँ भने याहवेहले मलाई दण्ड देऊन्। याहवेह मेरा पितासँग रहनुभएझैँ तपाईंसँग पनि रहून्। तर म बाँचुन्जेल मप्रति याहवेहलेझैँ अटुट दया देखाउनुहोस्, ताकि म मारिनु नपरोस्। अनि याहवेहले सारा संसारबाट दावीदको प्रत्येक शत्रुलाई नष्ट गर्नुभए तापनि मेरो परिवारबाट तपाईंको दया कहिल्यै नहटोस्।” यसकारण जोनाथनले दावीदको घरानासँग करार बाँधेर भने, “याहवेहले दावीदका शत्रुहरूको लेखा लिऊन्।” दावीदप्रतिको तिनको प्रेमको कारण जोनाथनले दावीदलाई आफ्नो प्रतिज्ञा दृढ गराए, किनकि जोनाथनले उनलाई आफूलाई झैँ प्रेम गर्थे।
1 शमूएल 20 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1 शमूएल 20:1-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू