YouVersion लोगो
खोज आइकन

१ शमूएल 20:1-17

१ शमूएल 20:1-17 सरल नेपाली

त्‍यसपछि, दाऊद रामाको नैयोतबाट भागेर जोनाथनकहाँ गए। “मैले के गरेको छु?” तिनले सोधे, “मैले कुन अपराध गरेको छु? मैले तपाईंको बुबाको के खराबी गरें र तिनले मलाई मार्न चाहन्‍छन्?” जोनाथनले उत्तर दिए, “परमेश्‍वरले तिम्रो मृत्‍यु हुनुदेखि तिमीलाई बचाऊन्! मेरा बुबाले आफूले गर्ने ठूला-साना सबै कुराहरू मलाई भन्‍नुहुन्‍छ र यो कुरा पनि मदेखि लुकाउनुहुनेछैन। यो साँचो हुन सक्‍दैन!” तर दाऊदले उत्तर दिए, “तपाईंको बुबाले राम्ररी जान्‍दछन् कि तपाईंले मलाई कति मन पराउनुहुन्‍छ र तिनले के उपाय गर्दैछन्, सो तपाईंलाई नभन्‍ने निश्‍चय गरेका छन् किनभने त्‍यसले तपाईंलाई गहिरो चोट पुर्‍याउनेछ। जीवित परमप्रभुलाई र तपाईंको जीवनलाई समेत साक्षी राखी म भन्‍दछु कि अब त मेरो मृत्‍यु नजिकै छ।” जोनाथनले भने, “तिमी जे चाहन्‍छौ, त्‍यो म गर्नेछु।” दाऊदले जवाफ दिए, “भोलि औँसीको चाड हो र मैले राजासित भोजन गर्ने कुरा छ। तर म पर्सि बेलुकासम्‍म खेतमा गई लुक्‍नेछु। यदि तपाईंको बुबाले म भोजमा नआएको चाल पाउनुभयो भने तपाईंको अनुमति लिएर बेथलेहेममा आफ्‍नो घर गए भनिदिनुहोला किनभने मेरा सारा परिवारले वार्षिक बलिदान चढाउने समय यही हो। राजाले ‘ठीकै छ’ भनेदेखि मलाई डर छैन; तर उनी रिसाए भने उनीबाट मलाई खतरा छ भनी तपाईंले बुझ्‍नुहुनेछ। कृपा गरी ममाथि यो निगाह गर्नुहोला र मसित गरेको आफ्‍नो पवित्र प्रतिज्ञाको पालना गर्नुहोला। तर म अपराधी छु भने तपाईं आफैंले मलाई मार्नुहोस्। किन मलाई मार्नको लागि आफ्‍ना बुबाकहाँ पुर्‍याउनुहुन्‍छ?” “यस्‍तो विचार नै नगर!” जोनाथनले उत्तर दिए, “मेरो बुबाले तिम्रो खराबी गर्ने निश्‍चय गरेका छन् भनी मलाई थाहा भए, मैले तिमीलाई भन्‍ने थिइनँ र?” तब दाऊदले सोधे, “तपाईंको बुबाले रिसाएर तपाईंलाई रूखो जवाफ दिए भने कसले मलाई खबर गर्नेछ?” “हामीहरू मैदानमा जाऔं,” जोनाथनले उत्तर दिए। तिनीहरू खेतमा गए र जोनाथनले दाऊदलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर हाम्रा बीच साक्षी रहून्! भोलि र पर्सि यति नै बेला म मेरा बुबालाई सोध्‍नेछु। उनको आचरण तिमीप्रति ठीक छ भने म खबर पठाउनेछु। तिमीलाई हानि गर्ने उनको इच्‍छा रहेछ भने मैले तिमीलाई त्‍यसको खबर दिएर कुशलसाथ भगाउने काम गरिनँ भने परमप्रभुले मलाई मारून्। परमप्रभु मेरा बुबासित रहे झैँ तिमीसित रहून्! र म बाँचिरहें भने तिम्रो पवित्र प्रतिज्ञा मानेर मप्रति विश्‍वासयोग्‍य रहनू‌ तर म मारिएँ भने त्‍यही प्रकारको विश्‍वासयोग्‍यता मेरो परिवारप्रति सदैव देखाऊ अनि परमप्रभुले जब तिम्रा सबै शत्रुहरूलाई नाश गरिसक्‍नुहुन्‍छ, तब हाम्रा आपसको प्रतिज्ञा त्‍यति बेला पनि रहिरहोस्। त्‍यो तोडियो भने परमप्रभुले तिमीलाई दण्‍ड दिनुहुनेछ।” फेरि एकपल्‍ट जोनाथनले दाऊदलाई उनीसित प्रेम गर्छु भनी प्रतिज्ञा गर्न लगाए किनभने तिनले दाऊदलाई आफैंलाई जस्‍तै प्रेम गर्थे।

१ शमूएल 20 पढ्नुहोस्