तब दाऊद रामाको नैयोतबाट भागेर जोनाथनकहाँ आए। तिनले जोनाथनलाई भने, “मैले के गरेको छु? मेरो दोष के छ? तपाईंका बुबाको विरुद्धमा मैले के खराबी गरेको छु र उहाँ मेरो ज्यान लिन चाहनुहुन्छ?” जोनाथनले जवाफ दिए, “यस्तो नहोस्। तपाईं मर्नुहुन्न। मलाई यो पक्का थाहा छ कि मलाई नभनीकन मेरा बुबाले केही पनि गर्नुहुन्न। मेरा बुबाले यस्तो कुरा मबाट किन लुकाउनुहुन्थ्यो र? यो कुरा सत्य होइन।” तर दाऊदले शपथ खाएर भने, “तपाईंका बुबाले आफ्नो मनमा भन्नुभएको छ, ‘जोनाथनलाई यो कुरा थाहा नहोस्, नत्रता त्यो दु:खित हुनेछ’। किनभने उहाँलाई थाहा छ कि मप्रति तपाईंको ठूलो श्रद्धा छ। जीवित परमप्रभुको नाउँमा र तपाईंका जीवनको पनि शपथ खाएर म भन्दछु कि अब त मेरो मृत्यु नजिकै छ।” जोनाथनले दाऊदलाई भने, “तपाईं जे इच्छा गर्नुहुन्छ, म तपाईंको निम्ति त्यही गर्छु।” दाऊदले जवाफ दिए, “भोलि औंसीको चाड़ हो, र मैले राजासित खानैपर्नेछ। तर म पर्सिको साँझसम्म खेतमा गएर लुकिरहनेछु। तपाईंका बुबाले मेरो अनुपस्थिति ख्याल गर्नुभयो भनेदेखि उहाँलाई यसो भनिदिनुहोस्, “बेथलेहेममा आफ्नो घरमा झट्टै जानुपर्ने हुनाले दाऊदले मसित बिदा मागे, किनभने त्यहाँ तिनको जम्मै परिवारको वर्षेनी बलिदान चढ़ाउनुपर्ने रहेछ।” यदि उहाँले ‘ठीकै छ’। भन्नुभयो भने त्यो मेरो निम्ति एउटा असल लक्षण हुनेछ, तर रीसले चूर हुनुभयो भने उहाँले मेरा अहित गर्न नै चिताउनुभएको रहेछ भनी तपाईंलाई थाहा हुनेछ। हजूर, मप्रति दया देखाउनुहोस्, किनकि तपाईं र म परमप्रभुको सामु एउटा करारले बाँधिएका छौं। म दोषी छु भने तपाईंले नै मलाई मार्नुहोस्। मलाई तपाईंका बुबाको हातमा किन पर्न दिनुहुन्छ?” जोनाथनले भने, “यस्तो नहोस्। यदि मेरा बुबाले तपाईंको अहित नै गर्न चिताउनुभएको रहेछ भन्ने मैले थाहा पाएको भए मैले तपाईंलाई बताउनेथिइन र?” दाऊदले जोनाथनलाई भने “उहाँले तपाईंलाई रूखो जवाफ दिनुभएको तपाईंले मलाई कसरी थाहा दिनुहुन्छ?” जोनाथनले भने, “मसँग खेतमा आउनुहोस्।” तब तिनीहरू दुवै खेतमा गए। जोनाथनले दाऊदलाई भने, “दाऊद, परमप्रभु इस्राएलका परमेश्वरको दृष्टिमा म यो प्रतिज्ञा गर्दछु, कि पर्सि यही बेला म मेरा बुबाको मन छाम्नेछु। यदि उहाँको मन तपाईंप्रति राम्रै रहेछ भने म तपाईंलाई थाहा दिन्नँ र? तर यदि मेरा बुबाले खराबी नै सोच्नुभएको रहेछ भने, अनि मैले तपाईंलाई थाहा दिइनँ र तपाईंलाई कुशलसित भगाइनँ भने परमप्रभुले मलाई त्यसभन्दा पनि बढ़ी गरून्। परमप्रभु मेरा बुबासँग हुनुभएझैँ तपाईंसँग पनि होऊन्। तर म बाँचुञ्जेल परमप्रभुले झैँ तपाईं ममाथि कृपा देखाउनुहोस्, र मलाई नमारिओस्। तपाईं मेरो घरानाप्रति दया गर्न कहिल्यै नछोड्नुहोस्। परमप्रभुले पृथ्वीबाट दाऊदका सबै शत्रुहरूलाई पन्साइसक्नुभए तापनि यो दया नछुटोस्।” यसरी जोनाथनले दाऊदको परिवारसँग यसो भनी वाचा बाँधे, “परमप्रभुले दाऊदका सबै शत्रुहरूको लेखा लिऊन्।” अनि जोनाथनले दाऊदलाई जोनाथनप्रतिको तिनको प्रेमको कारणले तिनको शपथ पुनर्पुष्टि गर्न लगाए, किनभने तिनले जोनाथनलाई आफैलाई झैँ प्रेम गर्थे।
१ शमूएल 20 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 20
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 20:1-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू