तब शमूएलले एउटा ढुङ्ग्रोमा जैतुनको तेल लिएर त्यो तेल शाऊलको शिरमाथि खन्याइदिए, र तिनलाई चुम्बन गरेर भने, “याहवेहले तिमीलाई उहाँको उत्तराधिकारमाथि अगुवा अभिषेक गर्नुभएको छ। जब तिमी आज मसँग बिदा भएर जान्छौ, तब तिमीले बेन्यामीन कुलको सिमानाभित्र सेल्साहमा भएको राहेलको चिहानको नजिकै दुई जना मानिसहरूलाई भेट्टाउनेछौ। तब तिनीहरूले तिमीलाई भन्नेछन्, ‘तपाईंले खोज्न निस्कनुभएका ती गधाहरू भेट्टाइएका छन्। तर तपाईंका बुबा तिनीहरूको विषयमा होइन, तपाईंको लागि चिन्तित हुनुभएको छ। उहाँले सोध्दै हुनुहुन्छ, “म आफ्नो छोराको निम्ति के गरूँ?” ’ “तब तिमी त्यहाँबाट तबोरको ठूलो रूखमा नपुगेसम्म अगि बढिरहनू। त्यहाँ बेथेलमा परमेश्वरको आराधना गर्न गइरहेका तीन जना मानिसहरूले तिमीलाई भेट्नेछन्। एक जनाले बाख्राका तीन वटा कलिला पाठाहरू, र अर्कोले तीन वटा रोटीहरू, र अर्कोले चाहिँ एक मसक दाखमद्य बोकेका हुनेछन्। तिनीहरूले तिमीलाई अभिवादन गर्नेछन् र दुई वटा रोटी दिनेछन्। तिमीले तिनीहरूबाट ती रोटीहरू स्वीकार गर्नू। “त्यसपछि पलिश्तीहरूको चौकी भएको परमेश्वरको गेबामा तिमी जानू। जब सहर पुग्नेछौ, तब तिमीले सारङ्गी, खैँजडी, बाँसुरी र वीणा बजाउनेहरूका पछि अगमवाणी गर्दै अल्गा देवस्थानबाट आइरहेका अगमवक्ताहरूको एक दललाई भेट्टाउनेछौ। अनि याहवेहको आत्मा तिमीमाथि शक्तिशाली रूपमा आउनुहुनेछ, र तिमीले तिनीहरूसँगै अगमवाणी गर्नेछौ। अनि तिमी बदलिएर भिन्दै मानिस हुनेछौ। जब यी आचम्मका चिन्हहरू पूरा हुनेछन्, तब तिमीले जे चाहन्छौ, त्यही गर्नू; किनकि परमेश्वर तिमीसँग हुनुहुन्छ। “अनि तिमीहरू मेरो अगि गिलगालमा ओर्लेर जाओ। म निश्चय नै होमबलि र मेलबलि चढाउन तिमीकहाँ आउनेछु, तर म तिमीकहाँ आएर तिमीले के गर्नुपर्छ भनी भन्न आउनुभन्दा अगि नै तिमीले मलाई सात दिनसम्म पर्खिबस्नू।”
1 शमूएल 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1 शमूएल 10:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू