YouVersion लोगो
खोज आइकन

१ शमूएल 10:1-8

१ शमूएल 10:1-8 सरल नेपाली

त्‍यसपछि शमूएलले जैतुनको तेलको एउटा ढुङ्ग्रो लिएर शाऊलको शिरमा खन्‍याइदिए र तिनलाई म्‍वाइँ खाएर भने, “परमप्रभुले तिमीलाई आफ्‍ना प्रजा इस्राएलका राजा अभिषेक गर्नुहुन्‍छ। तिमीले उहाँको प्रजामाथि राज्य गर्नेछौ र तिनका सबै शत्रुहरूबाट रक्षा गर्नेछौ। परमप्रभुले तिमीलाई आफ्‍ना प्रजाको शासक चुन्‍नुभएको छ भन्‍ने कुराको प्रमाण तिमीलाई यो हुनेछ कि आज मलाई छोडेर जाँदा तिमीले दुई जना मानिसहरूलाई बेन्‍यामीनका इलाकाभित्र सेल्‍सहमा भएका राहेलको चिहाननिर भेट्‍नेछौ। तिनीहरूले तिमीलाई भन्‍नेछन् कि तिमीहरूले खोज्‍दैगरेका गधाहरू पाइसके र तिम्रा बुबालाई तिनको बारे होइन तर तिमीहरूको बारेमा सुर्ता भएको छ र तिनले ‘मेरो छोरोबारे म के गरूँ?’ भनी सोधिरहन्‍छन्? त्‍यहाँबाट गएर तिमीहरू तबोरको पवित्र रूखसम्‍म पुग्‍नेछौ, जहाँ तीन जना मानिसहरूलाई बेथेलमा परमेश्‍वरलाई बलि चढाउनका निम्‍ति जाँदैगरेका भेट्‍नेछौ। तीमध्‍ये एउटाले तीन वटा पाठा डोर्‍याएको हुन्‍छ। अर्काले तीन वटा रोटी बोकेको हुन्‍छ र तेस्रोसित दाखमद्यले भरिएको एउटा छालाको मशक हुनेछ। तिनीहरूले तिमीहरूलाई अभिवादन गर्नेछन् र दुई वटा रोटी दिनेछन्, ती ग्रहण गर्नू। त्‍यसपछि तिमीहरू गिबामा परमेश्‍वरको डाँडामा जानू, जहाँ एउटा पलिश्‍ती छाउनी छ। सहरको ढोकामा तिमीहरूले एक हुल अगमवक्ताहरूलाई वीणा, खैँजडी, बाँसुरी र सारङ्गी बजाएर डाँडाको वेदीबाट ओर्लंदै गरेका र अगमवाणी बोलिरहेका हुन्‍छन्। परमप्रभुको आत्‍माले झट्टै तिमीलाई आफ्‍नो अधीन गर्नुहुनेछ र तिमीले अगमवाणी बोल्‍नेछौ र एक भिन्‍नै मानिस हुनेछौ। यी कुरा भएपछि परमेश्‍वरले जस्‍तो अगुवाइ गर्नुहुन्‍छ, त्‍यस्‍तै काम गर। तिमी मेरो अघि गिलगाल पुग्‍नेछौ। त्‍यहाँ म तिमीलाई भेट्‍नेछु र होमबलि र मेलबलि चढाउनेछु। म त्‍यहाँ आई तिमीलाई के गर्नुपर्छ, सो नबताएसम्‍म सात दिनसम्‍म पर्खिबस।”

१ शमूएल 10 पढ्नुहोस्