YouVersion लोगो
खोज आइकन

1राजाहरू 7:1-22

1राजाहरू 7:1-22 NCV

सोलोमनले आफ्नो निम्ति महल निर्माण गरे। यो निर्माण गर्न तेह्र वर्ष लाग्यो। तिनले जङ्गलको लेबनानको काठले एक सय क्यूबिट लामो, पचास क्यूबिट चौडा र तीस क्यूबिट अग्लो राजमहल बनाए; जसमा देवदारुका दलिनलाई थाम्ने देवदारुकै चार लहर खम्बाहरू थिए। खम्बाहरूमा अडिएका दलिनहरूमाथि देवदारुको छाना लगाइयो, र एक लहरमा पन्ध्र वटा गरी जम्मा पैँतालीस वटा दलिनहरू थिए। त्यसका झ्यालहरू एक-अर्कापट्टि फर्किएका तीन पङ्‌क्तिमा अग्लो गरी बनाइएका थिए। सबै ढोकाहरूका चौकसहरू चारकुने थिए। तिनीहरू तीन लहरमा अगाडिपट्टि एक-अर्कातिर फर्किएका थिए। तिनले पचास क्यूबिट लामो र तीस क्यूबिट चौडा भएको खम्बाहरूको एउटा दलान बनाए। त्यसको अगिल्तिर एउटा दलान थियो। त्यसको अर्कोतर्फ खम्बाहरू र तिनीहरूलाई ढाक्ने एउटा छाना थियो। त्यसपछि तिनले सिंहासनका निम्ति एउटा ठूलो कोठा, अर्थात् न्याय गर्ने कोठा बनाए; जहाँ तिनले न्याय गर्थे। तिनले त्यसलाई भुइँदेखि छानासम्म देवदारुका फल्याकहरूले छोपिदिए। अनि त्यस भवनको पछिल्तिर तिनले आफू बस्‍नको लागि महल बनाए, जुन राजमहल त्यही ढाँचाको थियो। सोलोमनले आफूले विवाह गरेकी फारोकी छोरीका निम्ति पनि त्यस्तै ठूलो राजमहल बनाइदिए। बाहिरदेखि ठूलो चोकसम्म र जगदेखि छतसम्म यी सबै बनोटहरू भित्र र बाहिरपट्टि आराले काटिएका, ठिक नापमा काटिएका बहुमूल्य पत्थरले बनिएका थिए। ती भवनका जगहरू कुनै दश क्यूबिट अनि कुनै आठ क्यूबिट नापका ठूला र उच्‍च गुणस्तरका ढुङ्गाहरूद्वारा बनाइएका थिए। त्यसमाथि ठिक नापमा काटिएका उच्‍च स्तरका ढुङ्गाहरू र देवदारुका दलिनहरू थिए। ठूलो चोकलाई काटिएका तीन लहर ढुङ्गाहरू र एक लहर देवदारुका खम्बाका पर्खालले घेरिएको थियो। याहवेहको भवनको भित्री चोक र त्यसको दलान पनि त्यस्तै थिए। राजा सोलोमनले टायरबाट हूरामलाई बोलाउन पठाए। तिनकी आमा नप्‍ताली कुलकी एउटी विधवा थिइन्। अनि बुबाचाहिँ टायरमा बस्‍ने काँसोका सिपालु कारिगर थिए। हूराम काँसको सबै कार्यमा अति सिपालु र अनुभवी थिए। तिनले राजा सोलोमनकहाँ आएर तिनलाई सुम्पिएका सबै कामहरू गरे। तिनले अठार क्यूबिट अग्ला र बाह्र क्यूबिट गोलाइ भएका दुई वटा काँसका खम्बाहरू बनाए। तिनले ती खम्बाहरूका टुप्पामा राख्न काँसोले ढालेका दुई वटा स्तम्भ-शिरहरू बनाए। प्रत्येक स्तम्भ-शिर पाँच क्यूबिट अग्लो थियो। प्रत्येक स्तम्भ-शिरमा सात वटा र खम्बाहरूका टुप्पामा सात वटा साङ्लाका जाली सजाइएको थियो। तिनले खम्बाहरूका टुप्पामा भएका स्तम्भ-शिरहरूलाई सजाउने प्रत्येक जालीको चारैपट्टि दुई लहरमा दारिमहरू बनाए। दलानभित्र खम्बाहरूका टुप्पामा भएका स्तम्भ-शिरहरू लिली फूलका आकारमा थिए, जसको उचाइ चार क्यूबिट थियो। जालीको छेउको कचौरा आकारको भागको मास्तिर भएका दुवै खम्बाहरूका शिरमा चारैपट्टिका लहरमा दुई सय दारिमहरू थिए। तिनले यी खम्बाहरू मन्दिरको दलानको अगाडि खडा गरे। दक्षिणपट्टिका खम्बाहरूलाई तिनले याकीन भनी नाम राखे; अनि उत्तरपट्टिकालाई बोअज नाम राखे। टुप्पामा भएका स्तम्भ-शिरहरू लिली फूलको आकारका थिए। यसरी खम्बाहरूको काम सिद्धाइयो।

1राजाहरू 7 पढ्नुहोस्