YouVersion लोगो
खोज आइकन

१ राजा 7:1-22

१ राजा 7:1-22 सरल नेपाली

सोलोमनले आफ्‍नो लागि पनि एउटा राजमहल बनाए। सो बनाउन तेह्र वर्ष लाग्‍यो। त्‍यसमा भएको एउटा “लेबनानको बन” महल भनिने ठूलो महल ४४ मिटर लामो, २२ मिटर चौडा र १३.५ मिटर अग्‍लो थियो। त्‍यसमा चार लहर देवदारुका खामाहरू थिए, हरेक लहरमा पन्‍ध्र वटा खामाहरू थिए, तीमाथि देवदारुका दलिनहरू राखिएका थिए। छाना देवदारुको बनिएको थियो र त्‍यो भण्‍डार-कोठाहरूसम्‍म लगाइएको थियो। ती भण्‍डार-कोठाहरू खामाहरूमाथि खडा थिए। दुई छेउका भित्ताहरूमा तीन-तीन लहर झ्‍यालहरू बनाइएका थिए। ढोका र झ्‍यालहरूका चौखटहरू चारकुने थिए र छेउका दुई भित्तामा आमुन्‍ने-सामुन्‍ने तीन-तीन लहर झ्‍यालहरू बनाइएका थिए। गोल-खामाहरूको महल भन्‍ने ठूलो कोठा २२ मिटर लामो र १३.५ मिटर चौडा थियो। त्‍यसको अघिपट्टि एउटा पिँढी थियो। पिँढीको अघिपट्टि गोल-खामाहरूमाथि छाना राखिएको थियो। छानाका किनारा खामा नाघेर बाहिरपट्टि निस्‍केको थियो। राजाको सिंहासन राखिएको न्‍याय महलमा सोलोमनले मुद्दाका फैसला सुनाउँथे। त्‍यस महलका पटाइदेखि निदालसम्‍म भित्रमा देवदारु काठ लगाइएका थिए। सोलोमन आफैं बस्‍ने कोठाहरूचाहिँ, न्‍याय महलपछाडि अर्को एउटा चोकमा अरूजस्‍तै बनिएका थिए। मिश्रका राजाकी छोरी आफ्‍नी स्‍वास्‍नीको निम्‍ति पनि तिनले त्‍यस्‍तै प्रकारको बनाए। ठूलो चोकसमेत यी सबै भवनहरू तिनका जगदेखि छानासम्‍म दामी ढुङ्गाले बनेका थिए। ती ढुङ्गाहरू नापअनुसार काटेर ढुङ्गा खानिमा नै बनाइएका थिए र तिनका भित्र-बाहिर दुवैपट्टि आराले काटेर मिलाइएको थियो। महलको जगचाहिँ खानिमा तयार गरिएका ठूल्‍ठूला ढुङ्गाले बनेको थियो। ती ढुङ्गाहरू कतिचाहिँ ३.५ मिटर लामा थिए र कतिचाहिँ ४ मिटर लामा थिए। तीमाथि नापअनुसार काटेर मिलाएका अरू ढुङ्गाहरू लाइएका थिए र तीमाथि देवदारुका बीमहरू लाइएका थिए। महलभित्रको चोक, मन्‍दिरको भित्री चोक र मन्‍दिरको प्रवेशद्वार अगाडिको कोठाका भित्ताहरू हरेक तीन लहर काटी मिलाएका ढुङ्गाका देवलसित एक लहर देवदारुका बीमहरू दिएर बनाएका थिए। काँसाको काम गर्न सिपालु टुरोस सहरमा बस्‍ने हीराम नाम गरेको एक जना मानिसलाई सोलोमन राजाले बोलाउन पठाए। उनका बुबा टुरोसको बासिन्‍दा थिए, जो मरिसकेका थिए र उनी पनि काँसाको सिपालु कारिगर थिए। उनकी आमा नप्‍ताली कुलकी थिइन्। हीराम बुद्धिमान् र काम गर्न जान्‍ने कारिगर थिए। उनी सोलोमन राजाकहाँ आए र राजाले दिएका सबै काम गरे। हीरामले काँसाका दुई वटा गोल-खामाहरू बनाए। तिनको उचाइ ८ मिटर र बाहिरी घेराको नाप ५.३ मिटर थियो। ती गोल-खामाका टुप्‍पामा राख्‍न तिनले दुई वटा काँसाका २.२ मिटर अग्‍ला शीर्षहरू पनि बनाए। खामाका टुप्‍पाहरू आपसमा बुनिएका साङ्लाका आकारहरूले सिँगारिएका थिए। र काँसाका दुई लहर दारीमहरूले खामाका शीर्षहरू लिली फूलका आकारका थिए र १.८ मिटर अग्‍ला थिए र ती शीर्षहरू साङ्लाका आकारहरूको माथिल्‍तिर भएको गोलाकार भागमाथि राखिएका थिए। प्रत्‍येक शीर्षलाई घेरेर दुई सय दारीमका दुई लहरहरू राखिएका थिए। हीरामले ती दुई गोल-खामाहरू मन्‍दिरको ढोकाका सामुन्‍ने राखे। दक्षिणपट्टिका खामाको नाम याकीन र उत्तरपट्टिका खामाको नाम बोअज राखे। खामाका टुप्‍पामा ती लिली फूलका आकारका शीर्षहरू राखिएका थिए। यसरी गोल-खामाहरूको काम सकियो।

१ राजा 7 पढ्नुहोस्