YouVersion लोगो
खोज आइकन

1राजाहरू 19:3-12

1राजाहरू 19:3-12 NCV

तब एलिया भयभीत भएर आफ्नो प्राण जोगाउन भागे। यहूदाको बेर्शेबामा आइपुगेपछि तिनले आफ्नो सेवकलाई त्यहीँ छोडे; तर तिनीचाहिँ एक दिनको बाटो भएर उजाडस्थानमा गए। तिनी एउटा अम्रिसको झाडीमा आइपुगे, र त्यसको फेदमा बसे। तिनले मृत्युको निम्ति प्रार्थना गर्न लागे। तिनले भने, “हे याहवेह, मेरा लागि अति भयो। मेरो प्राण लिनुहोस्; म मेरा पितापुर्खाहरूभन्दा असल छैनँ।” तब तिनी त्यस झाडीमुनि ढल्के, र त्यहीँ निदाए। तब अचानक एक जना स्वर्गदूतले तिनलाई छोएर भने, “उठेर खाऊ।” तिनले चारैतिर हेरे, र आफ्नो सिरान छेउमा ताता कोइलाहरूमा पकाइएका केही रोटी र एउटा पानीको सुराही देखे। तिनले त्यो खानपिन गरेर फेरि ढल्के। याहवेहका दूत दोस्रो पल्ट आएर तिनलाई छोएर भने, “उठेर खाऊ, नत्रता तिमीलाई यात्रा गर्न कठिन हुन्छ।” यसकारण तिनी उठे, र तिनले खानपिन गरे। त्यस भोजनबाट शक्ति पाएर तिनी परमेश्‍वरको पर्वत होरेबसम्मै चालीस दिन र चालीस रात हिँडेर गए। त्यहाँ तिनी एउटा गुफाभित्र पसे, र त्यहीँ रात बिताए। याहवेहको वचन तिनीकहाँ आयो “एलिया, तँ यहाँ के गर्दैछस्?” तिनले जवाफ दिए, “याहवेह सर्वशक्तिमान् परमेश्‍वरको निम्ति म धेरै जोशिलो भएको छु। इस्राएलीहरूले तपाईंको करारलाई त्यागेका छन्। तपाईंका वेदीहरू भत्काएका छन्; अनि तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन्। अब म मात्र बाँकी रहेको छु, र तिनीहरूले मलाई पनि मार्ने कोसिस गरिरहेका छन्।” याहवेहले भन्‍नुभयो, “गएर पर्वतमा याहवेहको उपस्थितिमा खडा हो। किनकि याहवेह त्यहाँबाट भएर जाँदैहुनुहुन्छ।” तब एउटा शक्तिशाली बतास आएर पर्वतलाई फुटाइदियो अनि चट्टानलाई याहवेहको सामु छिन्‍नभिन्‍न पारिदियो। तर त्यस बतासमा याहवेह हुनुहुन्‍नथ्यो। बतासपछि भुइँचालो आयो, तर त्यस भुइँचालोमा याहवेह हुनुहुन्‍नथ्यो। भुइँचालोपछि आगो आयो, तर याहवेह आगोमा पनि हुनुहुन्‍नथ्यो। अनि आगोपछि एउटा सुस्त र शान्त कानेखुसीको सोर आयो।

1राजाहरू 19 पढ्नुहोस्