YouVersion लोगो
खोज आइकन

१ राजाहरू 19:3-12

१ राजाहरू 19:3-12 NNRV

एलिया डराए, र आफ्‍नो प्राण बचाउनलाई भागे। जब तिनी यहूदाको बेर्शेबामा पुगे, तब तिनले आफ्‍नो चाकरलाई त्‍यहीँ छाड़े, र आफूचाहिँ मरुभूमिमा एक दिनको बाटो गए। तिनी अम्रिसको एउटा झाड़ीमा आइपुगे, र त्‍यसमुनि बसेर आफ्‍नो मृत्‍युको निम्‍ति प्रार्थना गर्न लागे। तिनले भने, “हे परमप्रभु, मेरो प्राण लिनुहोस्, मैले पूरै भोगिसकें। म त मेरा पिता-पुर्खाहरूभन्‍दा असल छैनँ!” तब तिनी त्‍यही झाड़ीमुनि ढल्‍के र भुसुक्‍कै निदाए। तब झट्टै एउटा स्‍वर्गदूतले तिनलाई छोएर भने, “उठेर खाऊ।” तिनले यताउता हेरे, र आफ्‍नो टाउकोनेर ताता भुङ्‌ग्रामा पोलेको एउटा रोटी र पानीको एउटा सुराही देखे। ती खाएर तिनी फेरि ढल्‍के। परमप्रभुका स्‍वर्गदूत फेरि आएर दोस्रो पल्‍ट तिनलाई छोएर भने, “उठेर खाऊ, किनकि यात्रा तिम्रो लागि साह्रै लामो छ।” यसैले तिनी उठेर खानपान गरे। त्‍यही भोजनको बल पाएर तिनी चालीस दिन र चालीस रात यात्रा गरेर परमेश्‍वरको पर्वत होरेबमा पुगे। तिनी त्‍यहाँ एउटा ओड़ारभित्र पसे र त्‍यहीँ रात बिताए। तब परमप्रभुको यो वचन तिनीकहाँ आयो, “हे एलिया, तँ यहाँ के गर्दैछस्‌?” तिनले भने, “सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वरको निम्‍ति म साह्रै जोशिलो भएको छु। इस्राएलीहरूले तपाईंको करार त्‍यागेका छन्, तपाईंका वेदीहरू भत्‍काइदिएका छन्, र तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन्‌। केवल म मात्रै बाँकी रहेको छु, र अब तिनीहरू मलाई पनि मार्न खोज्‍दैछन्‌।” परमप्रभुले भन्‍नुभयो, “पर्वतमा गएर परमप्रभुको उपस्‍थितिमा खड़ा हो, किनकि परमप्रभु त्‍यहाँबाट जान लाग्‍नुभएको छ।” तब परमप्रभुको अगिअगि एउटा ठूलो र प्रचण्‍ड बतास पहाड़हरू फुटाउँदै र चट्टानहरू चिर्दैआयो, तर बतासमा परमप्रभु हुनुहुन्‍नथ्‍यो। बतासपछि भैँचालो आयो, तर भैँचालोमा परमप्रभु हुनुहुन्‍नथ्‍यो। भैँचालोपछि एउटा आगो आयो, तर आगोमा परमप्रभु हुनुहुन्‍नथियो। अनि आगोपछि एउटा मधुरो कानेखुसी आयो।