YouVersion लोगो
खोज आइकन

1 कोरिन्थी 7:25-35

1 कोरिन्थी 7:25-35 NCV

अब कन्याहरूको विषयमा: मैले प्रभुबाट केही आज्ञा त पाएको छैन; तर प्रभुको कृपा पाएर विश्‍वासयोग्य भएको कारणले म यो सल्‍लाह दिन्छु। किनभने वर्तमान समयको सङ्कष्‍टको कारणले गर्दा मेरो विचारमा जुन व्यक्ति जस्तो छ, त्यस्तै अवस्थामा रहनु असल हुन्छ। यदि तिमी विवाहित छौ भने आफ्नी पत्नीलाई नत्याग। यदि तिमी अविवाहित छौ भने विवाह गर्न नखोज। तर यदि तिमीले विवाह गर्‍यौ भने पनि तिमीले पाप गरेका हुँदैनौ; अनि एउटी कन्याले विवाह गरी भने तापनि त्यसले पाप गरेकी हुँदिन। तर जसले विवाह गर्छन्, तिनीहरूले यस जीवनमा धेरै दुःखको सामना गर्नुपर्नेछ, र म तिमीहरूलाई यसबाट जोगाउन चाहन्छु। दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो भनाइको तात्पर्य यो हो, समय थोरै छ। अब उसो पत्नी हुनेहरू पत्नी नभएकाहरूजस्तै भएर जिऊन्; शोक गर्नेहरू, शोक नगर्नेहरूजस्ता होऊन्; आनन्दित हुनेहरू, आनन्दित नहुनेहरूजस्ता होऊन्; किन्‍नेहरू पनि आफूसित केही थोक नभएकाहरूजस्ता होऊन्; संसारका कुराहरू प्रयोग गर्नेहरू, तिनमा रुचि नलिनेहरूजस्ता होऊन्। किनकि यो संसारको वर्तमान रूप बितिरहेको छ। म यही चाहन्छु, तिमीहरू निस्फिक्री होओ। अविवाहित मानिसले प्रभुलाई कसरी प्रसन्‍न पारूँ भनी प्रभुकै बारेमा फिक्री राख्दछ। तर विवाहित मानिसले आफ्नी पत्नीलाई कसरी प्रसन्‍न राखूँ भनी संसारकै बारेमा रुचि राख्दछ। अनि उसका रुचिहरू विभाजित हुन्छन्। अविवाहित स्त्री अथवा कन्याले परमेश्‍वरको कामबारे रुचि राख्छे: उसको उद्देश्य शरीर र आत्मा दुवैबाट प्रभुमा पवित्र रहने हुन्छ। तर विवाहित स्त्रीले आफ्नो पतिलाई कसरी प्रसन्‍न राखूँ भनी संसारकै कुराहरूको रुचि राख्छे। यो तिमीहरूकै भलाइको लागि भन्दछु, तिमीहरूलाई प्रतिबन्ध लाउनलाई होइन; ताकि तिमीहरू प्रभुको पूर्ण भक्तिमा जीवन बिताउन सक।

1 कोरिन्थी 7 पढ्नुहोस्