YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 7:25-35

१ कोरिन्थी 7:25-35 NNRV

अब कन्‍याहरूका बारेमा प्रभुको आज्ञा मसित केही छैन। तर प्रभुको कृपाद्वारा एउटा विश्‍वासयोग्‍य व्‍यक्तिको हैसियतले म तिमीहरूलाई आफ्‍नो सल्‍लाह दिन्‍छु। वर्तमान सङ्कष्‍टलाई हेर्दा, जुन व्‍यक्ति जस्‍तो अवस्‍थामा छ त्‍यसैमा नै रहे असल होला भन्‍ने म ठान्‍छु। के तिमीले विवाह गरेका छौ? त्‍यसो भए आफ्‍नी पत्‍नीबाट छुट्‌न नखोज। के तिमी अविवाहित छौ? त्‍यसो भए विवाह गर्न नखोज। तर तिमीले विवाह गर्‍यौ भने पनि त्‍यो पाप होइन। कन्‍याकेटीले विवाह गर्दैमा त्‍यसले पाप गरेकी हुँदिन। तरै पनि विवाह गर्नेहरूले यस जीवनमा कष्‍टहरूको सामना गर्नुपर्नेछ, र म तिमीलाई यसदेखि जोगाउन चाहन्‍छु। भाइ हो, मेरो भन्‍ने कुरा यही हो, कि समय थोरै छ, र अब उप्रान्‍त पत्‍नी हुनेहरू पत्‍नी नभएकाहरूजस्‍तै भएर रहून्‌। शोक गर्नेहरू शोक नगरेकाहरूजस्‍ता र हर्ष मनाउनेहरू हर्ष नमनाउनेहरूजस्‍ता भएर रहून्‌। किनमेल गर्नेहरू आफूसँग केही थोक नभएजस्‍तै रहून्‌। र तिनीहरू जसले संसारका थोकहरू उपभोग गर्छन्, तिनमा आफ्‍नो केही चासो नभएजस्‍तै गरून्, किनकि संसारको वर्तमान रूप बितेर जाँदैछ। तिमीहरू सबै निष्‍फिक्री होओ भन्‍ने म चाहन्‍छु। विवाह नभएको मानिसले प्रभुलाई कसरी खुशी तुल्‍याऊँ भनेर प्रभुकै कुराको विषयमा फिक्री गर्दछ, तर विवाह भएको मानिसले पत्‍नीलाई कसरी खुशी राखूँ भनेर संसारका कुराको फिक्री गर्दछ। यस्‍तो मानिसको मन दुईपट्टि लागेको हुन्‍छ। विवाह नभएकी स्‍त्रीले शरीर र आत्‍मा दुवैमा कसरी पवित्र रहूँ भनेर प्रभुकै कुराका विषयमा फिक्री गर्दछे। तर विवाह भएकीले चाहिँ कसरी आफ्‍ना पतिलाई खुशी राखूँ भनी संसारका कुराको फिक्री गर्दछे। यो कुरा तिमीहरूमाथि प्रतिबन्‍ध लाउनलाई होइन तर तिमीहरूका भलाइको लागि नै भनिरहेछु, यस हेतुले कि तिमीहरू एक चित्तका भई प्रभुप्रति भक्तिसाथ ठीक किसिमको जीवन यापन गर्न सक।