1 कोरिन्थी 11
11
1मेरो अनुकरण गर, जसरी म ख्रीष्टको अनुकरण गर्दछु।
आराधनामा शिर ढाक्ने विषयमा
2म तिमीहरूको प्रशंसा गर्दछु; किनकि तिमीहरूले मलाई हरेक कुरामा सम्झन्छौ र मैले तिमीहरूलाई दिएका शिक्षाहरू पालन गर्दछौ। 3तर म तिमीहरूले यो कुरा बुझ भनी चाहन्छु, कि हरेक पुरुषको शिर ख्रीष्ट हुनुहुन्छ, अनि हरेक स्त्रीको शिर पुरुष#11:3 अथवा उनको पति हो र ख्रीष्टको शिरचाहिँ परमेश्वर हुनुहुन्छ। 4हरेक पुरुषले आफ्नो शिर ढाकेर प्रार्थना गर्दछ अथवा अगमवाणी गर्दछ भने उसले आफ्नो शिरको अनादर गर्दछ। 5तर हरेक स्त्री जसले शिर नढाकीकन प्रार्थना गर्छे अथवा अगमवाणी गर्छे भने उसले आफ्नो शिरको अनादर गर्छे। योचाहिँ उसको केश खौरिएकै समान हुन्छ। 6किनकि यदि स्त्रीले आफ्नो शिर ढाक्दिन भने उसले आफ्नो केश काटोस्; तर यदि उसको केश कटाइनु वा खौराइनु उसको लागि शर्मको कुरा हुन्छ भने उसले आफ्नो शिर ढाक्नुपर्छ।
7पुरुषले चाहिँ शिर ढाक्नुहुँदैन, किनकि ऊ परमेश्वरको प्रतिरूप र गौरव हो; तर स्त्रीचाहिँ पुरुषको गौरव हो। 8किनकि पुरुष स्त्रीबाट आएको होइन, तर स्त्रीचाहिँ पुरुषबाट आएकी हो। 9न ता पुरुष स्त्रीको निम्ति सृजिएको हो, तर स्त्रीचाहिँ पुरुषको निम्ति सृजिएकी हो। 10यसैकारण स्वर्गदूतहरूको खातिर पनि स्त्रीले अधिकारको चिन्हको रूपमा आफ्नो शिर ढाक्नुपर्छ। 11तरै पनि प्रभुमा न ता स्त्री पुरुषबाट स्वतन्त्र हुन्छे, न पुरुष स्त्रीबाट स्वतन्त्र हुन्छ। 12किनकि जसरी स्त्री पुरुषबाट आएकी हो, त्यसरी नै पुरुष पनि स्त्रीबाट जन्मिन्छ। तर हरेक कुराहरू परमेश्वरबाट आउँदछन्।
13तिमीहरू आफै विचार गर: के स्त्रीलाई शिर नढाकीकन परमेश्वरसँग प्रार्थना गर्न सुहाउँछ र? 14यदि मानिसको केश लामो छ भने यो उसको लागि शर्मको कुरा हो, के प्रकृति आफैले पनि तिमीहरूलाई सिकाउँदैन र? 15तर यदि स्त्रीको केश लामो छ भने त्यो उसको गौरव हो। किनकि लामो केश उसलाई घुम्टोको रूपमा शिर ढाक्न दिइएको हो। 16यदि कसैले यस विषयमा वाद-विवाद गर्न चाहन्छ भने, मेरो निष्कर्ष यही होः हामीसँग यस्तो अभ्यास छैन, न ता परमेश्वरको मण्डलीहरूसँग नै छ।
प्रभुभोजको बारेमा निर्देशन
17यी तलका आदेशहरू दिँदा म तिमीहरूको प्रशंसा गर्दिनँ, किनकि तिमीहरूका सङ्गतिहरूले असलभन्दा ज्यादा हानि हुन्छ। 18पहिलो कुरो त, जब तिमीहरू मण्डलीको रूपमा एकसाथ भेला हुन आउँछौ, तिमीहरूका बीचमा विभाजन छ भनी मैले सुनेको छु, र म यसलाई केही हदसम्म विश्वास गर्छु। 19वास्तवमा तिमीहरूका बीचमा मतभेद हुनैपर्छ, ताकि तिमीहरूमध्ये स्वीकृत मानिसहरू चिनिन सकियोस्। 20यसकारण जब तिमीहरू भेला हुन्छौ, तिमीहरूले प्रभुभोज खाएका हुँदैनौ, 21किनकि जब तिमीहरू खान्छौ, तिमीहरू कतिजना अरूलाई नपर्खी तिम्रो आफ्नो व्यक्तिगत खाना खान्छौ। परिणाम स्वरूप कोही खान नपाएर भोकै रहन्छ र कोहीचाहिँ धेरै खाएर मात्तिरहेको हुन्छ। 22खान र पिउनलाई के तिमीहरूका आफ्नै घर छैनन् र? अर्थात् के तिमीहरूले केही नहुनेहरूको अपमान गरेर परमेश्वरको मण्डलीलाई तुच्छ तुल्याउँछौ? म तिमीहरूलाई के भनूँ? के यसको लागि म तिमीहरूको प्रशंसा गरूँ? निश्चय नै यो कुरामा गर्दिनँ!
23किनकि मैले प्रभुबाट जे पाएँ, त्यो तिमीहरूलाई सुम्पि पनि दिएँ: जुन रात येशूलाई धोका दिइएको थियो, उहाँले रोटी लिनुभयो, 24र जब उहाँले धन्यवाद दिनुभयो, उहाँले त्यो भाँच्नुभयो र भन्नुभयो, “यो मेरो शरीर हो, जुनचाहिँ तिमीहरूको निम्ति हो; मेरो सम्झनामा यो गर्ने गर।” 25त्यसै गरी रोटी खाइसकेपछि उहाँले कचौरा लिएर भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो; जहिले-जहिले तिमीहरू यो पिउँछौ, यो मेरो सम्झनामा गर्ने गर।” 26किनकि जहिले-जहिले तिमीहरूले यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, तब प्रभु नआउन्जेल तिमीहरूले उहाँको मृत्युको प्रचार गर्दछौ।
27यसकारण जसले अयोग्य रीतिले प्रभुको रोटी खान्छ र प्रभुको कचौराबाट पिउँछ, त्यो प्रभुको शरीर र रगतको विरुद्ध पापको दोषी हुनेछ। 28यसैले हरेकले रोटी खान अघि र कचौराबाट पिउन अघि आफूलाई जाँच गर्नुपर्छ। 29किनकि जसले ख्रीष्टको शरीरलाई नचिनीकन रोटी खान्छ र कचौराबाट पिउँछ, त्यसले आफ्नो विरुद्ध दण्ड ल्याउँछ#11:29 मूल भाषामा खान्छ र पिउँछ। 30यसैले तिमीहरूमध्ये धेरैजना कमजोर र रोगी छौ, र तिमीहरूमध्ये कति त सुतिगए। 31तर यदि हामीले आफूलाई जाँचेका छौं भने ता हामी त्यस्तो दण्डमा पर्नेछैनौं। 32तथापि जब हामी प्रभुद्वारा यसरी न्याय गरिनेछौं, उहाँले हामीलाई अनुशासित गर्नुहुन्छ, ताकि हामी संसारसँग दोषी नठहरिऔं।
33यसकारण मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, जब तिमीहरू खानलाई एकसाथ भेला हुन्छौ, एक-अर्कालाई पर्खेर सबैले एकैसाथ खाने गर। 34यदि कोही भोको छ भने उसले घरबाटै केही खाएर आओस्, ताकि जब तिमीहरू एकसाथ भेला हुन्छौ तिमीहरूमाथि दण्ड नपरोस्।
अनि जब म तिमीहरू कहाँ आउँछु, तब अरू निर्देशनहरू दिनेछु।
अहिले सेलेक्ट गरिएको:
1 कोरिन्थी 11: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.