YouVersion लोगो
खोज आइकन

1 कोरिन्थी 10

10
इस्राएलको इतिहासबाट चेतावनी
1दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरू यस वास्तविकताबाट अन्जान रहो भन्‍ने म चाहन्‍नँ, हाम्रा पुर्खाहरू बादलमुनि थिए र तिनीहरू समुद्रको बीचबाट भएर गए। 2तिनीहरू सबैजनाको बादल र समुद्रमा बप्‍तिस्मा भएर मोशासँग जोडिए। 3तिनीहरू सबैले एउटै आत्मिक भोजन खाए, 4अनि एउटै आत्मिक पानी पिए; किनकि तिनीहरूले त्यस आत्मिक चट्टानबाट पिए, जो तिनीहरूसँगै हिँड्नुभयो र त्यो चट्टानचाहिँ ख्रीष्‍ट हुनुहुन्थ्यो। 5तरै पनि परमेश्‍वर तिनीहरूमध्ये धेरैसँग प्रसन्‍न हुनुभएन। त्यसैले तिनीहरूका शरीर उजाडस्थानमै छरपस्‍ट भए।
6हामीले आफ्ना हृदयहरू तिनीहरूले जस्तै दुष्‍ट कुराहरूमा नलगाऔं भनेर यी कुराहरू हाम्रा लागि उदाहरणको रूपमा नै घटेका थिए। 7तिमीहरू मूर्तिपूजक नबन, जसरी तिनीहरूमध्ये कतिजना थिए; यसरी लेखिएको छ: “मानिसहरू खान र पिउनलाई बसे, र दाखमद्यले मातेर मोजमस्ती गर्नलाई उठे।”#10:7 प्रस 32:6 8हामी यौन अनैतिकतामा फस्‍नुहुँदैन, जसरी तिनीहरूमध्ये कतिजना फसे, र तिनीहरू एकै दिनमा तेईस हजार मरेका थिए। 9हामीले ख्रीष्‍टलाई जाँच गर्नुहुँदैन, जसरी तिनीहरूमध्ये कतिले जाँच गरे, र तिनीहरू सर्पद्वारा डसिएर मरे। 10तिमीहरू गनगन नगर, जसरी तिनीहरूमध्ये कतिले गरे, र तिनीहरू नाश गर्ने दूतद्वारा मारिए।
11तिनीहरूसँग यी कुराहरू उदाहरणको रूपमा घटे, र यी घटनाहरू हामी, जो यस युगको अन्त्यतिर आइपुगेका छौं, हाम्रो नै चेतावनीको लागि लेखियो। 12यसकारण यदि तिमीहरूलाई आफू स्थिरसाथ खडा छौं भनी लाग्छ भने होसियार रहो, ताकि तिमीहरू नलडोस्। 13मानिसमाथि आइपर्ने किसिमको परीक्षाबाहेक अरू सहनै नसक्ने परीक्षामा तिमीहरू परेका छैनौ। परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ; उहाँले तिमीहरूलाई सहनै नसक्ने परीक्षामा पर्न दिनुहुनेछैन, तर जब तिमीहरू परीक्षामा पर्छौ, तब उहाँले तिमीहरूलाई त्यसबाट उम्कने बाटो पनि दिनुहुनेछ, ताकि तिमीहरूले सहन सक।
मूर्तिपूजाको भोज र प्रभुभोज
14यसकारण मेरा प्रिय मित्रहरूहो, मूर्तिपूजाबाट अलग बस। 15म समझदार मानिसहरूसँग बोल्दैछु; मैले भनेका कुरामा आफैलाई जाँचेर हेर। 16त्यो धन्यवादको कचौरा, जसको लागि हामी धन्यवाद चढाउँछौ, के त्यो ख्रीष्‍टको रगतमा सहभागीता होइन र? अनि जुन रोटी हामी भाँच्छौ, के त्यो ख्रीष्‍टको शरीरको सहभागीता होइन र? 17रोटी एउटै भएकोले, हामी धेरै भए तापनि एउटै शरीर हौं; किनकि हामी एउटै रोटीबाट खान्छौं।
18इस्राएलका मानिसहरूलाई विचार गर, वेदीमा चढाइएको बलिदानका थोकहरू खानेहरू, के तिनीहरू एक भएनन् र? 19त्यसो भए के मैले मूर्तिलाई चढाएको वस्तु केही महत्त्वको अथवा मूर्ति केही महत्त्वको हो भन्‍न खोजिएको हो? 20होइन, तर गैरयहूदीहरूले चढाएका चीज परमेश्‍वरलाई होइन, भूत आत्माहरूलाई चढाएका हुन्छन्; र तिमीहरू ती भूत आत्माहरूसँग सहभागी भएको म चाहँदिनँ। 21तिमीहरूले परमेश्‍वरको कचौराबाट र भूत आत्माहरूका कचौराबाट पनि पिउन सक्दैनौ; तिमीहरू परमेश्‍वरको टेबुल र भूत आत्माहरूको टेबुल दुवैमा सहभागी हुन सक्दैनौ। 22के हामीले परमेश्‍वरको क्रोधलाई जगाउन खोजिरहेका छौं? के हामी उहाँभन्दा शक्‍तिशाली छौं?
विश्‍वासीहरूको स्वतन्त्रता
23सबै थोकहरू उचित छन्, तर सबै थोकहरू लाभदायक हुँदैनन्। सबै थोकहरू उचित छन्; तर सबै थोकहरूले आत्मिकी उन्‍नति गराउँदैनन्। 24तिमीहरू कसैले पनि आफ्नै भलाइ नखोज, तर अरूको भलाइ खोज।
25मासुको पसलमा जे बेचिन्छ, त्यो विवेकको खातिर नसोधीकन खाओ, 26किनकि, “पृथ्वी र यसमा भएका सबै कुराहरू प्रभुकै हुन्।”#10:26 भजन 24:1
27यदि कुनै अविश्‍वासीले तिमीहरूलाई भोजनको लागि निम्तो दियो भने, अनि तिमीहरूले जाने चाहना गर्‍यौ भने, तिमीहरूको अघि जे कुराहरू राखिदिन्छ, त्यो विवेकको खातिर केही नसोधीकन खाओ। 28तर यदि कसैले तिमीहरूलाई “यो त बलिदानमा चढाएको चीज हो,” भनिदियो भने त्यो भन्‍ने मानिसको खातिर र दुवैको विवेक खातिर त्यो नखाओ। 29मैले अर्को मानिसको विवेकको खातिर भन्‍न खोजेको हो, तिम्रो विवेकको खातिर होइनँ। किनकि मेरो स्वतन्त्रतालाई अरूको विवेकद्वारा किन न्याय गराउने? 30यदि मैले धन्यवाद दिएर भोजनमा सामेल हुन्छु भने, जुन कुराका लागि मैले परमेश्‍वरलाई धन्यवाद चढाउँछु, तब त्यस कुराको लागि मेरो निन्दा किन गरिन्छ?
31यसकारण चाहे तिमीहरू खाओ वा पिओ अथवा जेसुकै गर, सबै कुरा परमेश्‍वरको महिमाको निम्ति गर। 32तिमीहरू कसैलाई पनि ठेस लाग्ने कारण नहोओ, चाहे यहूदीहरू होस् वा ग्रीकहरू होस् अथवा परमेश्‍वरको मण्डलीलाई होस्; 33जसरी म पनि सबैलाई सबै तरिकाले खुशी पार्ने कोसिस गर्दछु; किनकि म आफ्नै भलाइ खोज्दिनँ, तर धेरैको भलाइ खोज्दछु, ताकि तिनीहरूले उद्धार पाऊन्।

अहिले सेलेक्ट गरिएको:

1 कोरिन्थी 10: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्