1 कोरिन्थी 12
12
आत्मिक वरदानहरू सम्बन्धी
1अब दाजुभाइ-दिदीबहिनीहरूहो, आत्मिक वरदानहरूबारे तिमीहरू अन्जान बस भन्ने म चाहन्नँ। 2तिमीहरू जान्दछौ, जब तिमीहरू ख्रीष्टका विश्वासी थिएनौ, तब तिमीहरू कुनै न कुनै प्रकारले नबोल्ने मूर्तिहरूतिर प्रभावित भई बहकिएर गएका थियौ। 3यसकारण तिमीहरूले यो जानेको म चाहन्छु, कि परमेश्वरको आत्माद्वारा बोल्ने व्यक्तिले “येशू श्रापित होस्” भन्न सक्दैन र पवित्र आत्माद्वारा बाहेक अरू कसैले “येशू नै प्रभु हुनुहुन्छ” भनी भन्न सक्दैन।
4वरदानहरू विभिन्न किसिमका छन्, तर ती वरदानहरू एउटै आत्माले दिनुहुन्छ। 5सेवाहरू विभिन्न किसिमका छन्, तर प्रभु एउटै हुनुहुन्छ। 6कामहरू पनि विभिन्न किसिमका छन्, तर उही परमेश्वरले नै तिनीहरू सबैमा र हरेकमा गर्नुहुन्छ।
7सबैका भलाइको निम्ति आत्माका वरदानहरू#12:7 मूल भाषामा प्रकाश हरेकलाई प्रकट गरिएको छ। 8परमेश्वरका आत्माद्वारा एउटालाई बुद्धिको कुरा बोल्ने, अर्कोलाई उही आत्माद्वारा ज्ञानको कुरा बोल्ने, 9अर्कोलाई उही आत्माद्वारा विश्वास, अर्कोलाई उही आत्माद्वारा निको पार्ने वरदानहरू, 10अर्कोलाई आश्चर्यका कामहरू गर्ने शक्ति, अर्कोलाई अगमवाणी, अर्कोलाई आत्माहरू छुट्याउने, अर्कोलाई विभिन्न भाषाहरूमा बोल्ने र अझ अर्कोलाई चाहिँ भाषाहरूको अर्थ खोल्ने। 11यी सबै एउटै र उही आत्माका कामहरू हुन्, अनि यो उहाँले आफ्नो इच्छाबमोजिम हरेकलाई दिनुहुन्छ।
एउटै शरीर, धेरै अङ्गहरू
12जसरी शरीर एउटै भए तापनि अङ्गहरू धेरै छन्, तर सबै अङ्गहरू मिलेर एउटै शरीर बनिएको हुन्छ, ख्रीष्टको शरीरसँग#12:12 यो मण्डलीलाई जनाउने शब्द हो पनि यस्तै हुन्छ। 13यहूदी होस् वा ग्रीक, सेवक होस् वा फुक्का, जोसुकै भए तापनि एउटै शरीर हुनलाई एउटै आत्माद्वारा हाम्रो बप्तिस्मा भयो, र हामी सबैजनालाई एउटै आत्मा पिउन दिइयो। 14किनकि शरीर एउटा अङ्गले बनेको होइन, तर धेरै अङ्गहरूले बनेको हुन्छ।
15अब यदि खुट्टाले “म हात होइनँ, यसकारण म शरीरको होइनँ” भन्छ भने, के यो शरीरको अङ्ग हुँदैन र? 16अनि यदि कानले “म आँखा होइनँ, यसकारण म शरीरको होइनँ,” भन्छ भने, के यो शरीरको अङ्ग हुँदैन र? 17यदि पूरा शरीर आँखा हुँदो हो ता, कहाँबाट सुन्ने? यदि पूरा शरीर कान हुँदो हो ता, कहाँबाट सुँघ्ने? 18तर वास्तवमा परमेश्वरले उहाँको इच्छाबमोजिम प्रत्येक अङ्गहरूलाई एक-एक गरेर मिलाएर शरीरमा राखिदिनुभएको छ। 19यदि तिनीहरू एउटै अङ्ग हुँदाहुन् ता, शरीर कहाँ हुनेथियो? 20यसकारण अङ्गहरू धेरै छन्, तर शरीर एउटै छ।
21आँखाले हातलाई “मलाई तेरो आवश्यकता छैन” भन्न सक्दैन। र शिरले खुट्टालाई “मलाई तेरो आवश्यकता छैन” भन्न सक्दैन। 22बरु शरीरका दुर्बल सोचेका अङ्गहरू नै झनै बढी आवश्यक हुन्छन्, 23अनि हामीले अरूभन्दा कम महत्त्व ठानेका अङ्गहरूलाई नै बढी महत्त्व दिन्छौं; र गोप्य अङ्गहरूलाई विशेष रूपमा भद्रतासाथ वास्ता गर्छौं। 24हाम्रा देखिने अङ्गहरूलाई विशेष वास्ता चाहिँदैन। तर परमेश्वरले शरीरका अङ्गहरूलाई यसरी सँगै मिलाएर राखिदिनुभएको छ, कि कम महत्त्व भएका अङ्गहरूले बढी वास्ता पाओस्, 25ताकि विभाजन नभई, शरीरका अङ्गहरूले एक-अर्काको समान वास्ता राखून्। 26एउटा अङ्गमा पीडा भयो भने, सबै अङ्गहरूले पनि त्यसको साथ पीडा भोग्छन्; यदि एउटा अङ्गको आदर भयो भने, सबै अङ्गहरू त्योसँग रमाउँछन्।
27तिमीहरू ख्रीष्टका शरीर हौ, र हरेक जना त्यसका अङ्गहरू हौ। 28मण्डलीमा परमेश्वरले सबैभन्दा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, अनि आश्चर्यपूर्ण काम गर्नेहरू, अनि निको पार्ने वरदान भएकाहरू, अरूलाई सहायता गर्नेहरू, प्रशासन चलाउने वरदान पाएकाहरू र विभिन्न भाषामा बोल्नेहरू नियुक्त गर्नुभएको छ। 29के सबैजना प्रेरितहरू हुन्? के सबैजना अगमवक्ताहरू हुन्? के सबैजना शिक्षकहरू हुन्? के सबैले आश्चर्यपूर्ण कामहरू गर्छन्? 30के सबैसँग निको पार्ने वरदानहरू छन्? के सबैले अज्ञात भाषाहरू बोल्छन्? के सबैले अर्थ खोल्न सक्छन्? 31तर उत्तम वरदानहरूको इच्छा गर।
प्रेम अत्यावश्यक छ
म तिमीहरूलाई सर्वोत्कृष्ट तरिका देखाउँनेछु।
अहिले सेलेक्ट गरिएको:
1 कोरिन्थी 12: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.