याहवेहलाई प्रशंसा देओ, उहाँको नामको घोषणा गर;
जाति-जातिहरूमा उहाँले गर्नुभएका कार्यहरूको बयान गर।
उहाँको निम्ति गाओ; उहाँको प्रशंसाको गीत गाओ!
उहाँका सबै अद्भुत कार्यहरूको वर्णन गर!
उहाँको पवित्र नाममा गर्व गर;
याहवेहलाई खोज्नेहरूका हृदय आनन्दित होऊन्।
याहवेह र उहाँको शक्तिलाई हेर;
उहाँको मुहारको निरन्तर खोजी गर।
उहाँले गर्नुभएका अद्भुत कार्यहरू स्मरण गर,
उहाँका अचम्मका कामहरू, र उहाँले गर्नुभएका फैसलाको सम्झना गर!
हे याहवेहका सेवक इस्राएलका सन्तान हो!
हे याकोबका छोराहरू, उहाँद्वारा चुनिएकाहरू हो!
उहाँ नै याहवेह हाम्रा परमेश्वर हुनुहुन्छ;
उहाँका न्यायका कामहरू सारा पृथ्वीमा छ।
परमेश्वरले आफ्नो करार सदासर्वदा सम्झनुहुन्छ,
त्यो प्रतिज्ञा, जो उहाँले हजार पुस्ताहरूलाई दिनुभएको थियो;
त्यो करार, जो उहाँले अब्राहामसँग बाँध्नुभएको थियो;
अनि त्यो शपथ, जो उहाँले इसहाकसँग गर्नुभएको थियो,
त्यो उहाँले याकोबसँग उर्दीको रूपमा,
र इस्राएलसँग अनन्त करारको रूपमा पक्का गर्नुभयो:
“म तँलाई कनान देश दिनेछु,
त्यो पैतृक सम्पत्तिको रूपमा तेरो भाग हुनेछ।”
जब तिनीहरू संख्यामा थोरै थिए,
अति थोरै र त्यसमाथि पनि परदेशीहरू थिए।
तिनीहरू एउटा राष्ट्रबाट अर्को राष्ट्रमा,
अनि एउटा राज्यबाट अर्को राज्यमा भौतारिँदै हिँड्थे।
उहाँले कसैलाई तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन;
तिनीहरूको खातिर उहाँले राजाहरूलाई यसरी हप्काउनुभयो:
“मेरा अभिषिक्त जनहरूलाई नछोओ;
मेरा अगमवक्ताहरूलाई केही हानि नगर!”
हे सारा पृथ्वीका मानिस हो, याहवेहको निम्ति गाओ;
दिन प्रतिदिनै उहाँले गर्नुभएको उद्धारको घोषणा गर।
जाति-जातिहरूका बीच उहाँका महिमाको घोषणा गर!
सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर!
किनकि याहवेह महान् हुनुहुन्छ, र अति उच्च प्रशंसाको योग्य हुनुहुन्छ;
सारा देवहरूभन्दा उहाँको भय मान्नुपर्छ।
किनकि जाति-जातिहरूका सबै देवहरू केवल मूर्तिहरू मात्र हुन्;
तर याहवेहले त स्वर्गहरू सृष्टि गर्नुभयो।
उहाँको सामु गौरव र वैभव छन्;
उहाँको वासस्थानमा शक्ति र आनन्द छन्।
हे जाति-जातिहरूका परिवार हो, याहवेहलाई जान,
याहवेहलाई महिमा र शक्तिको प्रशंसा चढाओ।
याहवेहलाई उहाँको नाम सुहाउँदो महिमा देओ;
भेटी लिएर उहाँको सामु आओ।
याहवेहलाई उहाँको पवित्रताको वैभवमा आराधना गर!
हे सारा पृथ्वी, उहाँको सामु थरथर काँप्!
संसार दृढतासाथ स्थापित भएको छ; यसकारण यो हल्लिन सक्दैन।
स्वर्गहरूले आनन्द मनाऊन्, पृथ्वी हर्षित होस्!
तिनीहरूले राष्ट्रहरूको बीचमा भनून्, “याहवेहले शासन गर्नुहुन्छ!”
समुद्र र त्यसमा भएका हरेक प्राणीले जयजयकार गरून्!
खेतहरू र त्यसमा भएका हरेक थोक हर्षित होऊन्!
तब वनका रूखहरूले गाऊन्,
तिनीहरूले याहवेहको सामु आनन्दले गाऊन्;
किनकि उहाँ संसारको न्याय गर्न आउनुहुन्छ।
याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ;
उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
यसो भनेर कराओ, “हे हाम्रा उद्धारकर्ता परमेश्वर, हामीलाई बचाउनुहोस्;
हामीलाई एक ठाउँमा भेला गर्नुहोस्,
र हामीलाई अन्य राष्ट्रहरूबाट छुटकारा दिनुहोस्;
ताकि हामी तपाईंको पवित्र नामलाई धन्यवाद दिन सकौँ,
र तपाईंको प्रशंसामा गर्व गर्न सकौँ!”
याहवेह, इस्राएलका परमेश्वरलाई
सदासर्वदा प्रशंसा होइरहोस्!
तब सबै मानिसहरूले भने, “आमेन” र “याहवेहको प्रशंसा होस्।”