YouVersion लोगो
खोज आइकन

१ इतिहास 16:8-36

१ इतिहास 16:8-36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुलाई धन्‍यवाद चढ़ाओ, उहाँका नाउँको पुकारा गर, जातिहरूका बीचमा उहाँले गर्नुभएका कार्यहरू प्रचार गर। उहाँको निम्‍ति गाओ, उहाँको प्रशंसाको स्‍तुति गाओ, उहाँका सबै आश्‍चर्यकर्महरूको बयान गर। उहाँको पवित्र नाउँमा तिमीहरू गौरव गर, परमप्रभुलाई खोज्‍नेहरूको हृदय आनन्‍दित होस्‌। परमप्रभु र उहाँका शक्तिको खोजी गर, उहाँको दर्शन निरन्‍तर खोज। उहाँले गर्नुभएका अचम्‍मका कामहरू स्‍मरण गर, उहाँका आश्‍चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्‍मरण गर, हे उहाँका दास इस्राएलको वंश, हे याकूबका सन्‍तान, उहाँका चुनिएकाहरू हो। उहाँ परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, समस्‍त पृथ्‍वीमा उहाँका फैसलाहरू रहन्‍छन्‌। उहाँ आफ्‍नो करार सदा स्‍मरण गर्नुहुन्‍छ, ती आज्ञाहरू, जो उहाँले हजार पुस्‍ताहरूलाई दिनुभएको थियो, त्‍यही करार, जो उहाँले अब्राहामसित बाँध्‍नुभयो, त्‍यही शपथ, जो उहाँले इसहाकसँग गर्नुभएको थियो, जो उहाँले आदेशको रूपमा याकूबसित पुष्‍टि गर्नुभयो, र इस्राएलसँग यसो भनेर अनन्‍त करारको रूपमा बाँध्‍नुभयो: “तँलाई म कनान देश दिनेछु, त्‍यो उत्तराधिकार तेरो अंशमा पर्नेछ।” जब तिनीहरू गन्‍तीमा थोरै मात्र थिए, साह्रै थोरै, र त्‍यसमा पनि विदेशी थिए, तिनीहरू एक जातिबाट अर्को जातिमा, र एक राज्‍यबाट अर्को राज्‍यमा फिरन्‍ता भई हिँड्‌थे। उहाँले कसैलाई पनि तिनीहरूमाथि अत्‍याचार गर्न दिनुभएन। तिनीहरूका खातिर उहाँले राजाहरूलाई पनि यसो भनेर हप्‍काउनुभयो, “मेरो अभिषेक भएकाहरूलाई नछोओ, र मेरा अगमवक्ताहरूलाई केही हानि नगर।” हे सारा पृथ्‍वीका मानिस हो, परमप्रभुको निम्‍ति गाओ, दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर। जातिहरूका बीचमा उहाँका महिमाको घोषणा गर, सारा मानिसहरूका बीचमा उहाँका अचम्‍मका कामहरूको वर्णन गर। किनकि परमप्रभु महान्‌ हुनुहुन्‍छ, उच्‍च प्रशंसाको योग्‍यका हुनुहुन्‍छ, सारा देवताहरूभन्‍दा बढ़ी उहाँकै डर राख्‍नुपर्छ। किनकि जातिहरूका सबै देवहरू केवल मूर्ति मात्र हुन्, तर परमप्रभुले त स्‍वर्ग सृष्‍टि गर्नुभयो। प्रताप र गौरव उहाँको सम्‍मुख छन्, उहाँको वासस्‍थानमा शक्ति र महिमा छन्‌। जाति-जातिका परिवार हो, परमप्रभुलाई चढ़ाओ, परमप्रभुलाई महिमा र शक्ति चढ़ाओ। परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढ़ाओ, भेटी लिएर उहाँको सामु आओ। उहाँका पवित्रताको वैभवमा परमप्रभुलाई दण्‍डवत्‌ गर, हे सारा पृथ्‍वी, उहाँको सामु थरथरी होओ। संसार स्‍थिर रूपले स्‍थापित भएको छ, त्‍यसलाई हल्‍लाउन सकिँदैन। स्‍वर्ग आनन्‍दित होस्, र पृथ्‍वी रमाओस्, जाति-जातिहरूका बीचमा मानिसहरूले यसो भनेर प्रचार गरून्, “परमप्रभु नै राज्‍य गर्नुहुन्‍छ।” समुद्र र तिनमा भरिएका सबै थोकले हर्षनाद गरून्‌। खेत र त्‍यसमा भएका सबै कुरा उल्‍लसित होऊन्‌। तब जङ्गलमा भएका वृक्षहरू गाउनेछन्, तिनीहरू परमप्रभुको सम्‍मुख आनन्‍दले गाउनेछन्, किनकि उहाँ पृथ्‍वीको न्‍याय गर्न आउनुहुन्‍छ। परमप्रभुलाई धन्‍यवाद देओ, किनभने उहाँ भला हुनुहुन्‍छ, उहाँको प्रेम सदासर्वदा रहिरहन्‍छ। यसो भनेर कराओ, “हे हाम्रा उद्धारक परमेश्‍वर, हामीलाई बचाउनुहोस्‌। हामीलाई एकसाथ भेला गर्नुहोस्, र जाति-जातिहरूबाट छुटकारा दिनुहोस्, र हामी तपाईंको पवित्र नाउँमा धन्‍यवाद दिन सकौं, र तपाईंको प्रशंसामा हामी गर्व गरौं।” परमप्रभु इस्राएलका परमेश्‍वरको सदासर्वदै प्रशंसा होस्‌। तब सबै मानिसहरूले भने, “आमेन, र परमप्रभुको स्‍तुति होस्‌।”

शेयर गर्नुहोस्
१ इतिहास 16 पढ्नुहोस्

१ इतिहास 16:8-36 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेहलाई प्रशंसा देओ, उहाँको नामको घोषणा गर; जाति-जातिहरूमा उहाँले गर्नुभएका कार्यहरूको बयान गर। उहाँको निम्ति गाओ; उहाँको प्रशंसाको गीत गाओ! उहाँका सबै अद्‌भुत कार्यहरूको वर्णन गर! उहाँको पवित्र नाममा गर्व गर; याहवेहलाई खोज्नेहरूका हृदय आनन्दित होऊन्। याहवेह र उहाँको शक्तिलाई हेर; उहाँको मुहारको निरन्तर खोजी गर। उहाँले गर्नुभएका अद्‌भुत कार्यहरू स्मरण गर, उहाँका अचम्मका कामहरू, र उहाँले गर्नुभएका फैसलाको सम्झना गर! हे याहवेहका सेवक इस्राएलका सन्तान हो! हे याकोबका छोराहरू, उहाँद्वारा चुनिएकाहरू हो! उहाँ नै याहवेह हाम्रा परमेश्‍वर हुनुहुन्छ; उहाँका न्यायका कामहरू सारा पृथ्वीमा छ। परमेश्‍वरले आफ्नो करार सदासर्वदा सम्झनुहुन्छ, त्यो प्रतिज्ञा, जो उहाँले हजार पुस्ताहरूलाई दिनुभएको थियो; त्यो करार, जो उहाँले अब्राहामसँग बाँध्नुभएको थियो; अनि त्यो शपथ, जो उहाँले इसहाकसँग गर्नुभएको थियो, त्यो उहाँले याकोबसँग उर्दीको रूपमा, र इस्राएलसँग अनन्त करारको रूपमा पक्‍का गर्नुभयो: “म तँलाई कनान देश दिनेछु, त्यो पैतृक सम्पत्तिको रूपमा तेरो भाग हुनेछ।” जब तिनीहरू संख्यामा थोरै थिए, अति थोरै र त्यसमाथि पनि परदेशीहरू थिए। तिनीहरू एउटा राष्ट्रबाट अर्को राष्ट्रमा, अनि एउटा राज्यबाट अर्को राज्यमा भौतारिँदै हिँड्थे। उहाँले कसैलाई तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन; तिनीहरूको खातिर उहाँले राजाहरूलाई यसरी हप्काउनुभयो: “मेरा अभिषिक्त जनहरूलाई नछोओ; मेरा अगमवक्ताहरूलाई केही हानि नगर!” हे सारा पृथ्वीका मानिस हो, याहवेहको निम्ति गाओ; दिन प्रतिदिनै उहाँले गर्नुभएको उद्धारको घोषणा गर। जाति-जातिहरूका बीच उहाँका महिमाको घोषणा गर! सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर! किनकि याहवेह महान् हुनुहुन्छ, र अति उच्‍च प्रशंसाको योग्य हुनुहुन्छ; सारा देवहरूभन्दा उहाँको भय मान्‍नुपर्छ। किनकि जाति-जातिहरूका सबै देवहरू केवल मूर्तिहरू मात्र हुन्; तर याहवेहले त स्वर्गहरू सृष्‍टि गर्नुभयो। उहाँको सामु गौरव र वैभव छन्; उहाँको वासस्थानमा शक्ति र आनन्द छन्। हे जाति-जातिहरूका परिवार हो, याहवेहलाई जान, याहवेहलाई महिमा र शक्तिको प्रशंसा चढाओ। याहवेहलाई उहाँको नाम सुहाउँदो महिमा देओ; भेटी लिएर उहाँको सामु आओ। याहवेहलाई उहाँको पवित्रताको वैभवमा आराधना गर! हे सारा पृथ्वी, उहाँको सामु थरथर काँप्! संसार दृढतासाथ स्थापित भएको छ; यसकारण यो हल्‍लिन सक्दैन। स्वर्गहरूले आनन्द मनाऊन्, पृथ्वी हर्षित होस्! तिनीहरूले राष्ट्रहरूको बीचमा भनून्, “याहवेहले शासन गर्नुहुन्छ!” समुद्र र त्यसमा भएका हरेक प्राणीले जयजयकार गरून्! खेतहरू र त्यसमा भएका हरेक थोक हर्षित होऊन्! तब वनका रूखहरूले गाऊन्, तिनीहरूले याहवेहको सामु आनन्दले गाऊन्; किनकि उहाँ संसारको न्याय गर्न आउनुहुन्छ। याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। यसो भनेर कराओ, “हे हाम्रा उद्धारकर्ता परमेश्‍वर, हामीलाई बचाउनुहोस्; हामीलाई एक ठाउँमा भेला गर्नुहोस्, र हामीलाई अन्य राष्ट्रहरूबाट छुटकारा दिनुहोस्; ताकि हामी तपाईंको पवित्र नामलाई धन्यवाद दिन सकौँ, र तपाईंको प्रशंसामा गर्व गर्न सकौँ!” याहवेह, इस्राएलका परमेश्‍वरलाई सदासर्वदा प्रशंसा होइरहोस्! तब सबै मानिसहरूले भने, “आमेन” र “याहवेहको प्रशंसा होस्।”

शेयर गर्नुहोस्
१ इतिहास 16 पढ्नुहोस्

१ इतिहास 16:8-36 पवित्र बाइबल (NERV)

परमप्रभुको स्तुति गर। उहाँको नाउँ पुकार। मानिसहरूलाई ती महान कार्यहरूको बारेमा भन जो परमप्रभुले गर्नु भएको छ। परमप्रभुको निम्ति गाओ। परमप्रभुको निम्ति स्तुति गान गर। उहाँका आश्चर्यकर्महरूको विषयमा सुनाऊ। परमप्रभुको पवित्र नाउँको गौरव गर। परमप्रभु तर्फ आउने सबै मानिसहरू, प्रसन्न होऊ। परमप्रभु र उहाँको शक्ति तर्फ हेर। परमप्रभु कहाँ जाऊ अनि उहाँको सहायता सधै खोज। ती अचम्मका कामहरू सम्झ जो परमप्रभुले गर्नु भएको छ। उहाँका फैसलाहरू अनि उहाँले गर्नु भएका शक्तिशाली कार्यहरूको स्मरण गर। इस्राएलका मानिसहरू परमप्रभुका दास हुन्। याकूबका सन्तानहरू परमप्रभुका चुनिएका मानिसहरू हुन्। परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ। उहाँले संसार भरि नै न्याय राख्नु हुन्छ। उहाँको करार सदैव सम्झ। उहाँले ती आज्ञाहरू हजारौं पुस्ताहरूका निम्ति दिनुभएको छ। त्यो करारलाई सम्झ जो परमप्रभुले अब्राहामसित गर्नु भएको थियो। उहाँले इसहाकसित गर्नु भएको प्रतिज्ञा सम्झ। परमप्रभुले यसलाई याकूबको निम्ति विधि बनाउनु भयो। यो करार इस्राएलसितको हो जो सदैव लगातार चलिरहन्छ। परमप्रभुले इस्राएललाई भन्नु भयोः “मैले तिमीलाई यो कनानको भूमि सुम्पि दिएँ। यो तिम्रो पैतृक सम्पत्तिको भाग हुनेछ।” जब तिनीहरू एउटा सानो संख्याका मानिसहरू मात्र थिए, अनि केही समयको लागि अन्य राज्यहरूसँग बसि रहें। तिनीहरू एक राष्ट्रदेखि अर्को राष्ट्रमा गए। तिनीहरू एक राज्य देखि अर्को राज्यमा गए। तर परमप्रभुले कसैलाई पनि तिनीहरू माथि चोट पुर्याउन दिनु भएन। परमप्रभुले तिनीहरूलाई चोट नपुर्याउनु भनी राजाहरूलाई चेतावनी दिनुभयो। परमप्रभुले ती राजाहरूलाई भन्नु भयो, “मेरो अभिषेक भएका व्यक्तिहरूलाई चोट नदेऊ। मेरा अगमवक्ताहरूलाई चोट नदेऊ।” सारा पृथ्वीका मानिस हो, परमप्रभुको निम्ति गाओ। हामीलाई बचाउँने परमप्रभुको बारेमा हरेक दिन तिमीले असल समाचार भन्नुपर्छ। सबै राष्ट्रलाई परमप्रभुको महिमाको विषयमा घोषणा गर। हरेकलाई भन उहाँ कति महान हुनुहुन्छ। परमप्रभु महान् हुनुहुन्छ, अनि धेरैले उहाँको महिमा गाउँछन्, परमप्रभुको डर सबै देवताहरूका भन्दा धेरै भयभित हुन्छ। किनभने संसारमा सबै देवताहरू केवल व्यर्थका मूर्तिहरू हुन्। तर परमप्रभुले आकाश बनाउनु भयो। परमप्रभुको महिमा अनि गौरव छ। शक्ति र आनन्दले त्यो ठाउँ भर्दछ जहाँ उहाँ बस्नु हुन्छ। परिवारहरू अनि समूहहरू, परमप्रभुको महिमा र शक्तिको प्रशंसा गर। परमप्रभुको प्रशंसा र उहाँको नाउँको महिमा होस्। परमप्रभु प्रति तिमीहरूका भेटीहरू ल्याऊ। परमप्रभु अनि उहाँको पवित्र सुन्दरताको आराधना गर। उहाँको सामुने डराओ, जो सबै पृथ्वीमाथि छ। जतिसक्दो संसार दृढ निमार्ण गरिएको छ। यो हल्लिने छैन। पृथ्वी अनि आकाश प्रशन्न होऊन्! सबैतिरका मानिसहरूले भनून्, “परमप्रभुले शासन गर्नुहुन्छ।” समुद्र अनि यसमा भएका सबै वस्तुहरूले जय-जयकार गरून्! खेतहरू र तिनीहरूमा भएका हरेक थोकहरूले आनन्द देखाऊन्। तब जंङ्गलका वृक्षहरूले गाउने छन्। किनभने परमप्रभु आउनु हुँदैछ। उहाँ पृथ्वीको न्याय गर्न आउनु हुँदैछ। परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँ असल हुनुहुन्छ, हो परमप्रभुको प्रेम सदा-सर्वदा लगातार बगीरहन्छ। परमप्रभुसित भनः “हाम्रो परमेश्वर हाम्रा उद्धारकर्ता हामीलाई बचाउँनुहोस् हामीलाई एकसाथ पारिदिनुहोस् र हामीलाई अन्य देशहरूबाट बचाउनु होस्। यसकारण हामी तपाईको पवित्र नाउँको स्तुति अनि महिमा गर्न सकौं जब तपाईको स्तुति गर्छौं।” परमप्रभु इस्राएलका परमेश्वरको सदा सर्वदा स्तुति भइरहोस्, जसरी सदा-सर्वदा उहाँको स्तुति भइरहेकोछ।

शेयर गर्नुहोस्
१ इतिहास 16 पढ्नुहोस्

१ इतिहास 16:8-36 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुलाई धन्‍यवाद देओ, उहाँको महान्‌ता घोषणा गर; जाति-जातिलाई उहाँका कार्यहरूको वर्णन गर। परमप्रभुको प्रशंसा गाओ; उहाँले गर्नुभएको उदेकका कामहरूबारे भन। हामी उहाँकै हौं र आनन्‍दित होऔं; उहाँलाई पुज्‍नेहरू सबै रमाऊन्! सहायताको निम्‍ति परमप्रभुकहाँ जाओ, उहाँको निरन्‍तर आराधना गर। तिनीहरू, जो परमेश्‍वरका सेवक याकूब अथवा उहाँले छान्‍नुभएको इस्राएलका सन्‍तान हौ, परमेश्‍वरले गर्नुभएको आश्‍चर्यकाम र उहाँले दिनुभएको न्‍यायको फैसला याद गर। परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, उहाँका आज्ञाहरू सारा संसारको लागि हुन्। परमेश्‍वरको करार कहिल्‍यै नभुल– उहाँले आफ्‍नो करार सदाकालको निम्‍ति ठहर्‍याउनुभयो। उहाँले अब्राहामसित करार बाँध्‍नुभयो, त्‍यो करार इसहाकलाई दिनुभयो। परमप्रभुले याकूबसित अनन्‍तकालको निम्‍ति त्‍यो करार बाँध्‍नुभयो। “म तँलाई कनान देश दिनेछु,” उहाँले भन्‍नुभयो, “त्‍यो तेरो आफ्‍नो सम्‍पत्ति हुनेछ।” परमेश्‍वरका सन्‍तान सङ्‍ख्‍यामा थोरै र कनान देशमा परदेशी थिए। तिनीहरू एक देशदेखि अर्को देश, एक राज्‍यबाट अर्को राज्‍य हुँदै घुमिहिँडे। तर कसैलाई, परमेश्‍वरले तिनीहरू कसैलाई सताउन दिनुभएन, तिनीहरूको रक्षा गर्न उहाँले राजाहरूलाई चेतावनी दिनुभयो। “मैले चुनेका सेवकहरूलाई हानि नगर; मेरा अगमवक्ताहरूलाई नछोओ।” हे संसारका सारा मानिस हो, परमप्रभुको स्‍तुति गाओ! उहाँले हामीलाई बचाउनुभएको छ भनी दिनहुँ यो शुभखबर घोषणा गर। उहाँको महिमा देश-देशलाई र उहाँको प्रतापी कामहरू सारा जाति-जातिलाई घोषणा गर! परमप्रभु महान् हुनुहुन्‍छ र उहाँको प्रशंसा हुनुपर्छ; सबै देवी-देवताको भन्दा उहाँको आदर उच्‍च हुनुपर्छ। अरू सारा जातिहरूका देवी-देवताहरू मूर्ति मात्र हुन्, तर परमप्रभुले स्‍वर्ग सृष्‍टि गर्नुभयो। महिमा र गौरव उहाँका चारैपट्टि छन्, शक्ति र आनन्‍दले उहाँको मन्‍दिर भरिएको छ। हे सारा पृथ्‍वीका मानिस हो, परमप्रभुको प्रशंसा गर; उहाँका महिमा र शक्तिको प्रशंसा गर। परमप्रभुको महिमापूर्ण नामको प्रशंसा गर; भेटी लिएर उहाँको मन्‍दिरमा आओ। उहाँले आफ्‍ना पवित्रतामा दर्शन दिनुहुँदा, परमप्रभुको अघि घोप्‍टो परेर दण्‍डवत् गर। हे पृथ्‍वीका सारा मानिस हो, उहाँको अघि थरथर काँप! पृथ्‍वी आफ्‍नो ठाउँमा दरिलो प्रकारले बसालिएको छ, र त्‍यो कसैले हल्‍लाउन सक्‍दैन। पृथ्‍वी र आकाशले आनन्‍द मनाओस्! परमप्रभु नै राजा हुनुहुन्‍छ भनी जाति-जातिलाई भन। सागर र त्‍यहाँ भएका हरेक प्राणी गर्जून्! मैदान र त्‍यहाँ भएका हरेक कुराले आनन्‍द मनाऊन्! जङ्गलका रूखहरूले आनन्‍दले सोर मच्‍चाउनेछन्, जब परमप्रभु पृथ्‍वीमा राज्‍य गर्न आउनुहुनेछ। परमप्रभुलाई धन्‍यवाद देओ किनभने उहाँ भलो हुनुहुन्‍छ; उहाँको प्रेम अनन्‍त छ। उहाँलाई भन “हामीलाई बचाउनुहोस्, हे परमेश्‍वर, हाम्रो उद्धारकर्ता! हामीलाई एकसाथ भेला गर्नुहोस्; हामीलाई जाति-जातिबाट उद्धार गर्नुहोस्। र हामी धन्‍यवादी बन्‍न सकौं र तपाईंको पवित्र नामको प्रशंसा गर्न सकौं।” परमप्रभु, इस्राएलका परमेश्‍वरको प्रशंसा गर! अहिले अनि सदासर्वदा उहाँको प्रशंसा गर! त्‍यसपछि सबै मानिसहरूले “आमेन,” भने र परमप्रभुको प्रशंसा गरे।

शेयर गर्नुहोस्
१ इतिहास 16 पढ्नुहोस्