YouVersion लोगो
खोज आइकन

१ इतिहास 16:8-36

१ इतिहास 16:8-36 सरल नेपाली

परमप्रभुलाई धन्‍यवाद देओ, उहाँको महान्‌ता घोषणा गर; जाति-जातिलाई उहाँका कार्यहरूको वर्णन गर। परमप्रभुको प्रशंसा गाओ; उहाँले गर्नुभएको उदेकका कामहरूबारे भन। हामी उहाँकै हौं र आनन्‍दित होऔं; उहाँलाई पुज्‍नेहरू सबै रमाऊन्! सहायताको निम्‍ति परमप्रभुकहाँ जाओ, उहाँको निरन्‍तर आराधना गर। तिनीहरू, जो परमेश्‍वरका सेवक याकूब अथवा उहाँले छान्‍नुभएको इस्राएलका सन्‍तान हौ, परमेश्‍वरले गर्नुभएको आश्‍चर्यकाम र उहाँले दिनुभएको न्‍यायको फैसला याद गर। परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, उहाँका आज्ञाहरू सारा संसारको लागि हुन्। परमेश्‍वरको करार कहिल्‍यै नभुल– उहाँले आफ्‍नो करार सदाकालको निम्‍ति ठहर्‍याउनुभयो। उहाँले अब्राहामसित करार बाँध्‍नुभयो, त्‍यो करार इसहाकलाई दिनुभयो। परमप्रभुले याकूबसित अनन्‍तकालको निम्‍ति त्‍यो करार बाँध्‍नुभयो। “म तँलाई कनान देश दिनेछु,” उहाँले भन्‍नुभयो, “त्‍यो तेरो आफ्‍नो सम्‍पत्ति हुनेछ।” परमेश्‍वरका सन्‍तान सङ्‍ख्‍यामा थोरै र कनान देशमा परदेशी थिए। तिनीहरू एक देशदेखि अर्को देश, एक राज्‍यबाट अर्को राज्‍य हुँदै घुमिहिँडे। तर कसैलाई, परमेश्‍वरले तिनीहरू कसैलाई सताउन दिनुभएन, तिनीहरूको रक्षा गर्न उहाँले राजाहरूलाई चेतावनी दिनुभयो। “मैले चुनेका सेवकहरूलाई हानि नगर; मेरा अगमवक्ताहरूलाई नछोओ।” हे संसारका सारा मानिस हो, परमप्रभुको स्‍तुति गाओ! उहाँले हामीलाई बचाउनुभएको छ भनी दिनहुँ यो शुभखबर घोषणा गर। उहाँको महिमा देश-देशलाई र उहाँको प्रतापी कामहरू सारा जाति-जातिलाई घोषणा गर! परमप्रभु महान् हुनुहुन्‍छ र उहाँको प्रशंसा हुनुपर्छ; सबै देवी-देवताको भन्दा उहाँको आदर उच्‍च हुनुपर्छ। अरू सारा जातिहरूका देवी-देवताहरू मूर्ति मात्र हुन्, तर परमप्रभुले स्‍वर्ग सृष्‍टि गर्नुभयो। महिमा र गौरव उहाँका चारैपट्टि छन्, शक्ति र आनन्‍दले उहाँको मन्‍दिर भरिएको छ। हे सारा पृथ्‍वीका मानिस हो, परमप्रभुको प्रशंसा गर; उहाँका महिमा र शक्तिको प्रशंसा गर। परमप्रभुको महिमापूर्ण नामको प्रशंसा गर; भेटी लिएर उहाँको मन्‍दिरमा आओ। उहाँले आफ्‍ना पवित्रतामा दर्शन दिनुहुँदा, परमप्रभुको अघि घोप्‍टो परेर दण्‍डवत् गर। हे पृथ्‍वीका सारा मानिस हो, उहाँको अघि थरथर काँप! पृथ्‍वी आफ्‍नो ठाउँमा दरिलो प्रकारले बसालिएको छ, र त्‍यो कसैले हल्‍लाउन सक्‍दैन। पृथ्‍वी र आकाशले आनन्‍द मनाओस्! परमप्रभु नै राजा हुनुहुन्‍छ भनी जाति-जातिलाई भन। सागर र त्‍यहाँ भएका हरेक प्राणी गर्जून्! मैदान र त्‍यहाँ भएका हरेक कुराले आनन्‍द मनाऊन्! जङ्गलका रूखहरूले आनन्‍दले सोर मच्‍चाउनेछन्, जब परमप्रभु पृथ्‍वीमा राज्‍य गर्न आउनुहुनेछ। परमप्रभुलाई धन्‍यवाद देओ किनभने उहाँ भलो हुनुहुन्‍छ; उहाँको प्रेम अनन्‍त छ। उहाँलाई भन “हामीलाई बचाउनुहोस्, हे परमेश्‍वर, हाम्रो उद्धारकर्ता! हामीलाई एकसाथ भेला गर्नुहोस्; हामीलाई जाति-जातिबाट उद्धार गर्नुहोस्। र हामी धन्‍यवादी बन्‍न सकौं र तपाईंको पवित्र नामको प्रशंसा गर्न सकौं।” परमप्रभु, इस्राएलका परमेश्‍वरको प्रशंसा गर! अहिले अनि सदासर्वदा उहाँको प्रशंसा गर! त्‍यसपछि सबै मानिसहरूले “आमेन,” भने र परमप्रभुको प्रशंसा गरे।

१ इतिहास 16 पढ्नुहोस्