YouVersion लोगो
खोज आइकन

1 इतिहास 15:1-16

1 इतिहास 15:1-16 NCV

दावीदले आफ्ना निम्ति दावीदको सहरमा भवन निर्माण गरे। तिनले परमेश्‍वरको सन्दुकको निम्ति एउटा ठाउँ तयार गरे; र त्यसको निम्ति एउटा पाल टाँगे। त्यसपछि दावीदले भने, “लेवीहरूले बाहेक अरू कसैले परमेश्‍वरको सन्दुक नबोकून्; किनकि याहवेहले तिनीहरूलाई नै याहवेहको सन्दुक बोक्न र सधैँका निम्ति उहाँको सामु सेवा गर्नलाई चुन्‍नुभएको छ।” दावीदले याहवेहको सन्दुकको निम्ति तयार गरेको ठाउँमा, त्यस सन्दुक ल्याउन सारा इस्राएललाई यरूशलेममा भेला गराए। तिनले हारून र लेवीका सन्तानहरूलाई एकसाथ बोलाए: कहातका सन्तानहरूबाट अगुवा ऊरीएल र 120 जना आफन्तहरू। मरारीका सन्तानहरूबाट अगुवा असायाह र 220 जना आफन्तहरू। गेर्शोनका सन्तानहरूबाट, अगुवा योएल र 130 जना आफन्तहरू। एलीशापानका सन्तानहरूबाट अगुवा शमायाह र 200 जना आफन्तहरू। हेब्रोनका सन्तानहरूबाट अगुवा एलीएल र 80 जना आफन्तहरू। उज्जीएलका सन्तानहरूबाट अगुवा अम्मीनादाब र 112 जना आफन्तहरू। त्यसपछि दावीदले पुजारीहरू सादोक र अबीयाथारलाई, र लेवीहरूमा ऊरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्मीनादाबलाई बोलाए। तिनले उनीहरूलाई भने, “तपाईंहरू लेवी परिवारका अगुवाहरू हुनुहुन्छ; तपाईंहरू र तपाईंहरूका लेवी दाजुभाइहरूले आफूलाई पवित्र गर्नुहोस्, र याहवेह इस्राएलका परमेश्‍वरको सन्दुकका निम्ति मैले तयार गरेको ठाउँमा सन्दुकलाई ल्याउनुपर्छ। किनकि पहिलो पटक सन्दुक ल्याउँदा तपाईं लेवीहरूले नबोकेको कारणले नै याहवेह हाम्रा परमेश्‍वरको क्रोध हाम्रो विरुद्धमा परेको थियो। हामीले ठिक तरिकाले सन्दुकलाई कसरी ल्याउने हो भनी उहाँसित सल्‍लाह लिएनौँ।” यसकारण पुजारीहरू र लेवीहरूले याहवेह इस्राएलका परमेश्‍वरको सन्दुक ल्याउन आ-आफूलाई पवित्र गरे। अनि याहवेहले मोशालाई आज्ञा दिएअनुसार नै लेवीहरूले आफ्ना काँधमाथि डण्डाहरू राखेर परमेश्‍वरको सन्दुक बोके। दावीदले लेवीहरूका अगुवाहरूलाई सारङ्गी, वीणा र झ्यालीहरूले हर्षोल्‍लासका गीत गाउन तिनीहरूका आफन्तहरूलाई सङ्गीतकारहरू नियुक्त गर्नू भनी आज्ञा गरे।

1 इतिहास 15 पढ्नुहोस्