YouVersion लोगो
खोज आइकन

१ इतिहास 15:1-16

१ इतिहास 15:1-16 NNRV

दाऊदले आफ्‍नो निम्‍ति दाऊदको सहरमा भवनहरू बनाए, अनि परमेश्‍वरका सन्‍दूकको निम्‍ति एउटा ठाउँ तयार गरेर त्‍यसको लागि एउटा पाल टाँगे। त्‍यसपछि लेवीहरूले मात्र परमेश्‍वरको सन्‍दूक बोक्‍नुपर्छ भनी तिनले उर्दी दिए। किनभने तिनीहरू नै त्‍यो बोक्‍न र सधैँ उहाँको सेवा गर्न चुनिएका थिए। तब त्‍यसको निम्‍ति तयार गरिएको ठाउँमा परमप्रभुको सन्‍दूक ल्‍याउन दाऊदले सबै इस्राएलीहरूलाई यरूशलेममा भेला गराए। तिनले हारूनका सन्‍तानहरू र लेवीहरूलाई एकसाथ भेला गराए: कहातका सन्‍तानबाट: उरीएलचाहिँ मुखिया र तिनका कुटुम्‍बहरू १२० जना। मरारीका सन्‍तानबाट: असायाहचाहिँ मुखिया र तिनका कुटुम्‍बहरू २२० जना। गेर्शोनका सन्‍तानबाट: योएलचाहिँ मुखिया र तिनका कुटुम्‍बहरू १३० जना। एलीजापानका सन्‍तानबाट: शमायाहचाहिँ मुखिया र तिनका कुटुम्‍बहरू २०० जना। हेब्रोनका सन्‍तानबाट: एलीएलचाहिँ मुखिया र तिनका कुटुम्‍बहरू ८० जना। उज्‍जीएलका सन्‍तानबाट: अम्‍मीनादाबचाहिँ मुखिया र तिनका कुटुम्‍बहरू ११२ जना। अनि दाऊदले सादोक र अबियाथार पूजाहारीहरूलाई यी लेवीहरूका साथमा बोलाइपठाए— उरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्‍मीनादाब, र तिनीहरूलाई भने, “लेवीहरूका परिवारका मुखियाहरू तिमीहरू हौ। तिमीहरू र तिमीहरूका कुटुम्‍बहरू आफू-आफूलाई पवित्र गर, र मैले त्‍यसको निम्‍ति तयार पारेको ठाउँमा परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूक ल्‍याओ। तिमीहरू पहिलो पल्‍ट त्‍यहाँ उपस्‍थित नभएकाले परमप्रभु हाम्रा परमेश्‍वर हामीमाथि क्रोधित हुनुभयो। किनकि हामीले त्‍यो कसरी ल्‍याउनुपर्ने हो भनी उहाँको अगुवाइ हामीले खोजेनौं।” यसैकारण परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूक ल्‍याउन पूजाहारीहरू र लेवीहरूले आफू-आफूलाई पवित्र गरे। र परमप्रभुको आज्ञाअनुसार मोशाले तोकेझैँ आ-आफ्‍ना काँधमा डन्‍डाले बोकेर परमेश्‍वरको सन्‍दूक उठाएर ल्‍याए। त्‍यसपछि दाऊदले लेवीहरूका मुखियाहरूलाई तिनीहरूका कुटुम्‍बहरूलाई बाजा, सारङ्गी, वीणा र झ्‍यालीले हर्षको सङ्गीत बजाउनमा नियुक्त गर्नू भनी हुकुम गरे।