YouVersion लोगो
खोज आइकन

१ इतिहास 15:1-16

१ इतिहास 15:1-16 सरल नेपाली

दाऊदले आफ्‍नै निम्‍ति दाऊदको सहरमा घरहरू बनाए। परमेश्‍वरको करारको सन्‍दुकको निम्‍ति पनि उनले ठाउँ तयार पारे र त्‍यसको निम्‍ति एउटा पाल टाँगे। त्‍यसपछि उनले भने, “लेवीहरूले मात्र करारको सन्‍दुक बोक्‍नुपर्छ किनभने परमप्रभुले तिनीहरूलाई त्‍यो बोक्‍न र सदासर्वदा उहाँको सेवा गर्न छान्‍नुभएको छ।” यसरी दाऊदले इस्राएलका सबै मानिसहरूलाई करारको सन्‍दुक आफूले तयार गरेको ठाउँमा ल्‍याउन यरूशलेममा बोलाए। त्‍यसपछि उनले हारूनका सन्‍तानहरू र लेवीहरूलाई बोलाउन पठाए। कहात गोत्रका लेवीहरूबाट १२० जना मानिसको जिम्‍मा लिई उरीएल आए। मरारीका गोत्रबाट २२० जनाको जिम्‍मा लिएर असायाह, गेर्शोनका गोत्रबाट १३० जनाको जिम्‍मा लिएर योएल, एलीजापानका गोत्रबाट २०० जनाका जिम्‍मा लिएर शमायाह, हेब्रोनका गोत्रबाट ८० जनाका जिम्‍मा लिएर एलीएल र उज्‍जीएलका गोत्रबाट ११२ जनाका जिम्‍मा लिएर अम्‍मीनादाब आए। दाऊदले सादोक र अबियाथार पूजाहारीहरू र छ जना लेवीहरू उरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्‍मीनादाबलाई बोलाए। उनले लेवीहरूलाई भने, “तिमीहरू लेवी गोत्रका अगुवाहरू हौ। तिमीहरूले आफैं र तिम्रा लेवी बन्‍धुहरूलाई चोख्‍याओ र परमप्रभु इस्राएलका परमेश्‍वरको करारको सन्‍दुक मैले तयार पारेको ठाउँमा ल्याओ। पहिलोपल्‍ट त्‍यो बोक्‍न तिमीहरू थिएनौ र हामीले उचित प्रकारले बोक्‍न परमप्रभु हाम्रा परमेश्‍वरलाई नसोधेका हुनाले उहाँले हामीलाई दण्‍ड दिनुभयो।” त्‍यसपछि पूजाहारी र लेवीहरूले परमप्रभु इस्राएलका परमेश्‍वरको करारको सन्‍दुक ल्‍याउन आफैंलाई चोख्‍याए। परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएअनुसार लेवीहरूले त्‍यो डन्‍डा लाएर आफ्‍ना काँधमा बोके। दाऊदले लेवीका अगुवाहरूलाई भिन्‍ना-भिन्‍नै लेवीहरूलाई गीत गाउन र वीणा र झ्‍याम्‍टामा आनन्‍दका सङ्गीत बजाउन खटाउनू भनी आज्ञा गरे।

१ इतिहास 15 पढ्नुहोस्