YouVersion लोगो
खोज आइकन

मर्कूसको सुसमाचार 14:22-52

मर्कूसको सुसमाचार 14:22-52 NERV

जब उनीहरू खाँदै थिए, येशूले केही रोटी लिनुभयो अनि त्यसको निम्ति परमेश्वरलाई धन्वाद दिनुभयो। तब उहाँले त्यसलाई टुक्रा-टुक्रा पार्नुभयो, अनि आफ्ना चेला हरूलाई दिनुभयो। उहाँले भन्नुभयो, “यो लेऊ यो मेरो शरीर हो।” त्यसपछि येशूले कचौरा लिनुभयो अनि यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो। तब उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो। तिनीहरूले कचौराबाट पिए। त्यसपछि येशूले भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो। यो रगत धेरै मानिसहरूका निम्ति पोख्याएको हो। म तिमीहरूलाई साँच्चो भन्दछु। म यो दाखको रस फेरि त्यसबेलासम्म पिउँदिन जुनबेला सम्म म परमेश्वरको राज्यमा यसलाई नयाँ पिएको हुँदिनँ।” तब तिनीहरूले भजन गाए अनि उहाँहरू निस्केर जैतून डाँडातिर जानुभयो। त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू सबैले आफ्ना विश्वास हराउनेछौ। यो कुरा धर्मशास्त्रहरूमा लेखिएको छ, ‘म गोठालोलाई मार्नेछु, अनि भेंड़ाहरू तितरबितर हुनेछन्।’ तर म मरेपछि, फेरि मृत्युबाट बौरीनेछु। त्यसपछि म गालील जानेछु। तिमीहरू त्यहाँ पुग्न अघि नै म त्यहाँ पुगेको हुनेछु।” पत्रुसले भने, “यदि सबैले आफ्नो विश्वास हराए पनि म कहिल्यै मेरो विश्वास हराउने छैन।” येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्चो भन्दछु। आजकोरात दोस्रोपल्ट भाले बास्नुअगि तिमीले मलाई तीनपल्ट ईन्कार गर्ने छौ।” तर पत्रुसले जोर दिएर भने, “यदी म तपाईंसँगै मर्नु परेता पनि म कहिल्यै तपाईंलाई इन्कार्ने छुईंन!” त्यसरी नै अरू चेलाहरूले पनि त्यही कुरा भने। येशू अनि उहाँका चेलाहरू गेतसमनी नाऊँ भएको एउटा ठाउँमा जानुभयो, र उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “मैले प्रार्थना गरून्जेल यहाँ बस।” येशूले पत्रुस, याकूब र यूहन्नालाई आफूसँग लैजानभयो। त्यसपछि उहाँ अत्यन्त दुःखी र खिन्न हुनुभयो। उहाँले पत्रुस, याकूब र यूहन्नालाई भन्नुभयो, “मेरो आत्मा दुःखै-दुःखले भरिन लागेको छ। मलाई यहीं पर्ख अनि सर्तक बस।” अनि येशू तिनीहरू भएदेखि केही परसम्म जानुभयो र त्यसपछि भूइँमा लड्नु भयो अनि प्रार्थना गर्नुभयो कि यदि सम्भव भएमा यही बेला उहाँको कष्टका घडी उहाँबाट बितेर जाओस्। उहाँले प्रार्थना गर्नुभयो, “ अब्बा, पिता सबै कुराहरू तपाईंमा सम्भव छ। कृपया मबाट यो कचौरा हटाईदिनुहोस्। तर मेरो इच्छा बमोजिम होइन, तर तपाई जे जस्तो चाहनुहुन्छ त्यही गर्नुहोस्।” तब येशू आफ्ना चेलाहरू भएको ठाउँमा फर्की आउनुभयो। उहाँले तिनीहरूलाई सुतिरहेको पाउनु भयो। उहाँले पत्रुसलाई भन्नुभयो, “सिमोन, तिमी सुतिरहेका छौ? के मेरो निम्ति एकघण्टासम्म पनि जागा रहन सक्तैनौ जागा रहो, अनि प्रार्थना गर, जसमा कि तिमी प्रलोभनमा पर्ने छैनौ। आत्मा राजी छ तर शरीर कमजोर छ।” फेरि येशू केही परसम्म जानुभयो अनि त्यही प्रार्थना गर्नूभयो। फेरि उहाँ आफ्ना चेलाहरू भएको ठाउँमा फर्कनु भयो। उहाँले तिनी हरूलाई सुतिरहेकै पाउनुभयो। तिनीहरूका आँखाहरू थकित देखिन्थे। तिनीहरूले जान्दैन थिए कि येशूलाई के भन्नु पर्ने हो। येशूले तेस्रो पटक प्रार्थना गरिसकेपछि, उहाँ आफ्ना चेलाहरू भएको ठाउँमा आउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै सुतिरहेको अनि विश्राम गरिरहेका छौ अति भयो! मानिसको पुत्रलाई पापी मानिसहरूको हातमा सुम्पिने समय आइपुग्यो। उठ! हामी जानैपर्छ। यहाँ त्यो एकजना आउँदैछ जसले मलाई विश्वासघात गर्नेछ।” जब येशू बोलिरहेको हुनुहुन्थ्यो, यहूदा त्यहाँ आइपुगे। यहूदा बाह्रजना चेलाहरू मध्ये एकजना थियो। यहूदासँग थुप्रै मानिसहरू थिए। ती मानिसहरूलाई मुख्य पूजाहारीहरू, शास्त्रीहरू र यहूदी अग्रजहरूले पठाएका थिए। ती मानिसहरूका साथमा तरवार र घोंचाहरू थिए। यहूदाले उनीहरूलाई यो संकेत दिएका थिए। “म जुन मानिसलाई म्वाईं खान्छु उही नै येशू हुन्। उनैलाई पक्रनु र उसलाई लानु अनि रक्षा गर्नु।” यहूदा आउन साथ येशू कहाँ गयो अनि भन्यो, “गुरूज्यू!” त्यसपछि उसले उहाँलाई म्वाईं खाए। तब मानिसहरूले झम्टेर येशूलाई पक्रे। कुनै एकजना उभिरहेको चेलाले आफ्नो तरवार निकाल्यो अनि त्यसले प्रधान पूजाहारीको एउटा नोकरलाई हान्यो र उसको कान काटिदियो। तब येशूले मानिसहरूलाई भन्नुभयो, “तिमीहरू तरवार र घोचाँहरू लिएर म कहाँ, एक अपराधी झैं मानेर आएको छौ? प्रत्येकदिन म मन्दिर इलाकामा तिमीहरूसित सिकाइरहेको थिएँ। त्यहाँ तिमीहरूले मलाई पक्रेनौ। तर धर्मशास्त्रमा लेखिएका कुराहरू पूरा हुनै पर्छ।” त्यसपछि सबै चेलाहरूले उहाँलाई छोडेर भागे। एउटा जवान मानिसले येशूलाई पछ्याइरहेको थियो। उसले खालि एउटा मलमलको वस्त्र मात्र लगाएको थियो। तिनीहरूले उसलाई पनि पक्रने कोशिश गरे। तर त्यसले त्यो मलमलको बस्त्र छाड्यो अनि बस्त्र विहीन् भएर भाग्यो।