YouVersion लोगो
खोज आइकन

मत्तीको सुसमाचार 8:18-34

मत्तीको सुसमाचार 8:18-34 NERV

येशूले देख्नुभयो आफूलाई धेरै मानिसहरूले घेरेका थिए। अनि आफ्ना चेलाहरूलाई झीलको अर्को तिर जान लगाउनु भयो। त्यसबेला एकजना शास्त्री उहाँकहाँ आए अनि भने, “हे गुरूज्यू। तपाईं जता-जता जानुहुन्छ, म तपाईंको पछि-पछि लाग्नेछु।” येशूले तिनलाई भन्नुभयो, “स्यालहरूका बस्ने प्वाल हुन्छन्। आकाशका चराचुरूङ्गीको बस्ने गुँड हुन्छ। तर मानिसको पुत्रको लागि ता शिर अडाउने ठाउँ सम्म छैन।” अर्को एकजना मानिस, जो येशूको चेलाहरूमध्ये एकजना थिए तिनले येशूलाई भने, “हे प्रभु, पहिला गएर मलाई मेरो बाबुलाई गाड्न दिनुहोस्। त्यसपछि म तपाईंलाई पछ्याउनेछु।” तर येशूले ती मानिसलाई भन्नुभयो, “मेरोपछि लाग, मरेका मानिसहरूले तिनीहरूको आफ्नो मुर्दाहरूलाई आफैं गाडुन्।” येशू एउटा डुङ्गामा चढनुभयो र उहाँको चेलाहरू पनि उहाँको पछि लागे। जब डुङ्गाले किनार छाड्यो, त्यसैबेला झीलमा अचानक एक भयङ्कर आँघी चल्न थाल्यो। छालहरूले डुङ्गालाई ढाक्न लाग्यो। तर येशू सुतिरहनु भएको थियो। चेलाहरू गए र उहाँलाई ब्यूँझाए र भने, “हे प्रभु, हामीलाई बँचाउनुहोस् हामी डुब्न लागिरहेछौं।” येशूले भन्नुभयो, “तिमीहरू किन डराउँछौ? तिमीहरू सित त्यत्ति विश्वास छैन?” तब येशू उठ्नुभयो अनि आँधी र छालहरूलाई आज्ञा गर्नु भयो। आँधी थामियो, अनि झीलमा पूरा शान्ति छायो। सबै मानिसहरू छक्क परे। तिनीहरू भन्नलागे, “उहाँ कस्तो मानिस हुनुहुन्छ? किनभने हावा र बतासले पनि उहाँको आज्ञा मान्दो रहेछन्।” गदरिनीहरूको मुलुकको एउटा झीलको अर्कोतर्फ येशू आइपुग्नु भयो। त्यहाँ दुइजना मानिस येशू कहाँ आए। तिनीहरूलाई भूत लागेको थियो। तिनीहरू चिहानको गुफामा बस्दथे। तिनीहरू अत्यन्तै डरलाग्दा थिए। यसले गर्दा मानिसहरू त्यो बाटो हिँड्ने आँट गर्दैनथे। ती दुइजना येशूकहाँ आए अनि चिच्याउन थाले, “परमेश्वरको पुत्र तपाईं हामीबाट के चाहानु हुन्छ? के समय आउनु भन्दा अघि हामीलाई दण्ड दिनु आउनु भएको हो?” छेउको क्षेत्रमा सुँगुरहरूको बथान चरिरहेको थियो। भूतहरूले येशूलाई बिन्ती गर्न लागे, “यदि तपाईंले हामीलाई यी मानिसहरूबाट धपाउन चाहनुहुन्छ भने, दयागरी हामीलाई ती सुँगुरहरूको बथानमा पस्न दिनुहोस्।” येशूले तिनीहरूलाई भन्नुभयो, “जाऊ!” तब ती भूतहरूले मानिसहरूलाई छाडे र सुँगुरहरूमा पसे। त्यसपछि ती सम्पूर्ण बथानहरू डाँडाको भिरालो धारबाट झील तिर ओर्लिए। ती सबै झीलमा डुबे। ती सुँगुर चराउनेहरू भागे, र शहरतिर गए अनि सबैलाई सुँगुरहरू र भूतहरूले सताएको विषयमा सुनाउन थाले। तब शहरका सबै मानिसहरू येशूलाई हेर्न आए। जब मानिसहरूले येशूलाई देखे, तिनीहरूले त्यस मुलुकलाई छोडेर जानुभनी निवेदन गरे।