येशूले आफ्नो वरिपरि मानिसहरूको ठूलो हुल देखेर आफ्ना चेलाहरूलाई “लौ हामी तालको पारिपट्टि जाऔं,” भन्नुभयो। त्यति नै बेला एक जना धर्म-गुरुले उहाँकहाँ आएर भने, “गुरुज्यू, तपाईं जहाँ गए पनि म तपाईंसँगै जानेछु।” येशूले तिनलाई जवाफ दिनुभयो, “हेर, फ्याउराहरूका लुक्ने ओडार छन्, चरा-चुरुङ्गीहरूका गुँडहरू छन्, तर म मानव पुत्रको टाउको राख्ने ठाउँसम्म पनि छैन।” अनि चेलाहरूमध्ये एउटाले भने, “गुरुज्यू, पहिले मलाई गएर मेरो बुबाको लाश गाड्न दिनुहोस्।” येशूले तिनलाई भन्नुभयो, “मुर्दाहरूलाई मुर्दाहरूले नै गाडून्, तिमीचाहिँ मेरो पछि लाग।” येशू नाउमा चढ्नुभयो र चेलाहरू पनि उहाँसँगै गए। अचानक तालमा डरलाग्दो आँधीबेहरी चल्यो। पानीको छाल उठेर नाउलाई नै डुबाउन लाग्यो। तर येशू भने मस्तसँग निदाउनुभएको थियो। अनि चेलाहरूले येशूको छेउमा गएर उहाँलाई उठाउँदै भने, “गुरुज्यू, हामीलाई बचाउनुहोस्, हामी त मर्न लाग्यौं।” येशूले भन्नुभयो, “तिमीहरू किन यसरी आत्तिएका? खै तिमीहरूको विश्वास?” यति भनेर उहाँ उठ्नुभयो अनि आँधीबेहरी र छालहरूलाई हप्काउनुभयो। उहाँले हप्काउनेबित्तिकै आँधीबेहरी थामियो र सबै एकदमै शान्त भइहाल्यो। यस्तो भएको देखेर सबैले छक्क परेर भन्न लागे, “यी त कस्ता मानिस रहेछन्, यिनले भनेको त आँधीबेहरी र छालले समेत मान्दा रहेछन्।” येशू तालको पारिपट्टि गदरिनीहरूको मुलुकमा आइपुग्नुहुँदा चिहानका गुफाहरूबाट निस्केर आएका दुई जना भूत लागेका मानिसहरूले उहाँलाई भेटे। तिनीहरू त यतिसम्म डरलाग्दा भएका थिए कि त्यस बाटोबाट कोही पनि हिँड्दैनथे। अब तिनीहरू यसो भन्दै चिच्च्याउन लागे, “हे परमेश्वरका पुत्र, तपाईं हामीलाई के गर्न आउनुभएको? न्यायको बेला नभईकनै हामीलाई दु:ख दिन आउनुभएको हो?” अलि पर एक हुल सुँगुरहरू चरिरहेका थिए। अनि ती भूतहरूले येशूलाई बिन्ती चढाउँदै भने, “हामीलाई निकाल्नु नै हुन्छ भने तिनै सुँगुरहरूभित्र पस्ने आज्ञा दिनुहोस्।” येशूले पनि “निस्केर जाओ!” भन्नुभयो। त्यतिखेरै भूतहरू ती दुई मानिसबाट निस्केर सुँगुरहरूमा पसे अनि सुँगुरको हुल भीरबाट खुरमुरिंदै तालमा डुबेर नष्ट भए। सुँगुर चराउनेहरू भागेर सहरतिर गए। सहरमा पुगेर तिनीहरूले सबै घटना र भूत लागेका मानिसहरू कसरी निको भए भन्ने कुरासमेत सुनाइदिए। यो कुरा सुनेपछि पूरै सहर उल्टेर येशूलाई भेट्न आयो। अनि तिनीहरूले येशूलाई “हाम्रो इलाकाबाट गइदिनुहोस्!” भनेर बिन्ती गरे।
मत्ती 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 8:18-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू