येशूले यी सबैकुरा भनिसकेपछि आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरूलाई थाहै छ दुइ दिनपछि निस्तार-चाड शुरू हुनेछ। त्यसै दिन मानिको पुत्रलाई क्रूसमा टाग्नलाई शत्रुहरू कहाँ सुम्पिइनेछ।” तब मुख्य पूजाहारीहरू र यहूदी प्रधान, अगुवाहरू पूजाहारीको ठाउँमा भेला भए। प्रधान पूजाहारीको नाम कैयाफा थियो। त्यस सभामा येशूलाई कसरी पक्रिने भन्ने उपाय तिनीहरूले निकाले। तिनीहरूले केही झूटो निहुँ गरेर येशूलाई पक्रिने र मार्ने निश्चय गरे। तिनीहरूले भने, “निस्तार-चाडको दिनमा हामी येशूलाई पक्रन सक्दैनौ। हामी मानिसहरू रिसाएको र दङ्गा गरेको चाहँदैनौ।” येशू बेथानीमा हुनुहुन्थ्यो। उहाँ कुष्टरोगी शिमोनको घरमा हुनुहुन्थ्यो। जतिबेला येशू त्यहाँ हुनुहुन्थ्यो, एउटी आईमाई उहाँ कहाँ आइन्। उनीसँग बहुमूल्य अत्तर भरिएको एउटा सङ्गमर्मरको भुँडुल्को थियो। येशूले खाँदैगर्नु भएको बेला तिनले येशूको शिरमा त्यो सुगन्धित अत्तर खन्याइन्। चेलाहरूले त्यो देखे र आईमाईसँग रिसाए। चेलाहरूले सोधे, “यो अत्तर किन नष्ट गरेको? यसलाई धेरै दाममा बेचेर गरीबहरूलाई दिन सकिन्थ्यो।” येशूले यी सब थाहा पाउनुभयो। येशूले भन्नुभयो, “तिमीहरूले यिनलाई किन दिक्दारी दिन्छौ? यिनले मेरो निम्ति असल कार्य गरेकी छिन्। ती गरीब मानिसहरू सदा तिमीहरू साथ छन्। तर म सधैँ तिमीहरूको साथ रहिरहने छैन। यिनले मेरो शरीरभरि अत्तर छरिदिइन् यिनले मलाई म मरे पछि मृत-संस्कारको निम्ति तयार पारेकी हुन्। म तिमीहरूलाई साँच्चो भन्दछु। यो सुसमाचार सारा संसारमा प्रचार गरिनेछ। अनि प्रत्येक ठाउँमा यी स्त्रीले गरेको सु-कार्यहरूलाई पनि बताइन्छ। अनि मानिसहरूले यिनलाई सधैँ सम्झने छन्।” त्यसपछि बाह्रजना चेलाहरूमध्ये एकजना मुख्य पुजाहारीहरूकहाँ गयो। त्यो चेलाको नाउँ यहूदा इस्करयोती थियो। यहूदाले भन्यो, “म तिमीहरूको हातमा येशूलाई सुम्पनेछु। यसको लागि मलाई कति पैस दिन्छौ?” पूजाहारीहरूले त्यसलाई चाँदीका तीस वटा सिक्का दिए। त्यसबेलादेखि यहूदाले येशूलाई सुम्पिदिने मौका खोज्न लाग्यो। अखमिरी रोटीको पहिले दिन, चेलाहरू येशूकहाँ आए। चेलाहरूले भने, “निस्तार-चाडको भोजन गर्न हामी तपाईंलाई तयार पारिदिन्छौ। हामीले कहाँ खान तयार गरेका तपाईं चाहनु हुन्छ?” येशूले भन्नुभयो, “शहरतिर जाऊ। मैले चिनेको मानिसको घरमा जाऊ। उसलाई गुरूले यसो भन्नु भएको छ भनेर भन, ‘मेरो तोकिएको समय अति नजिक आएको छ। म निस्तार चाडको भोजन मेरो सबै चेलाहरूसित तिम्रो घरमा खानेछु।’” चेलाहरूले येशूको आज्ञा अनुसार सबैकाम गरिदए। तिनीहरूले निस्तार-चाडको भोज तयार पारे। जब साँझ भयो, येशू आफ्ना चेलाहरूसाथ खानामा बस्नु भएको थियो। तिनीहरू सबैले भोजन खाइरहेका थिए। येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। तिमीहरूमध्ये कुनै एकजनाले मलाई विश्वासघात गर्नेछौ।” चेलाहरू यो सुनेर दुःखी भए। प्रत्येकले उहाँलाई सोधे, “प्रभु अवश्य पनि मचाहिं होइन ठीक हो?” येशूले जवाफ दिनुभयो, “जसले मेरो कचौरामा मसित हात चोब्यो त्यसैले मलाई विश्वासघात गर्नेछ। मानिसको पुत्रले धर्मशास्त्रमा लेखिए अनुसार जानुपर्छ र उसले मर्नेपर्छ। तर मानिसको पुत्रलाई मार्नका निम्ति सुम्पने त्यस मानिसले नराम्रो परिणाम भोग्नु पर्नेछ। यस्तो हुनुभन्दा त त्यो मानिस नजन्मिएको भए बेस हुने थियो।” त्यसपछि येशूलाई विश्वासघात गर्न यहूदाले येशूलाई भने, “गुरूज्यू, निश्चय नै म त्यो एकजना होइन ठीक हो?” येशूले भन्नुभयो, “हो, यो तिमी नै हौ।” खाँदै गर्दा येशूले रोटी लिनुभयो। येशूले रोटीको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभयो र त्यसलाई टुक्रा पार्नुभयो। येशूले आफ्ना चेलाहरूलाई रोटी दिनुभयो। र भन्नुभयो, “यो रोटीहरू लेओ र खाओ। यो रोटी नै मेरो शरीर हो।” त्यसपछि येशूले एक प्याला दाखरस लिनुभयो। येशूले त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो अनि त्यो चेलाहरूलाई दिनुभयो। येशूले भन्नुभयो, “तिमीहरू प्रत्येकले यसबाट पिओ। यो दाखरस मेरो रगत हो। मेरो रगतले परमेश्वरबाट उहाँको मानिसहरूकालागि नयाँ करारको प्रारम्भ गर्नेछ। यो रगत धेरै मानिसहरूलाई तिनीहरूको पाप क्षमाको लागि बहाइन्छ।
मत्तीको सुसमाचार 26 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्तीको सुसमाचार 26:1-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू