YouVersion लोगो
खोज आइकन

लूकाको सुसमाचार 20:1-26

लूकाको सुसमाचार 20:1-26 NERV

एकदिन येशू मन्दिरमा हुनुहुन्थ्यो अनि मानिसहरूलाई शिक्षा दिइरहनुभएको थियो। उहाँले परमेश्वरको राज्यको विषयमा सुसमाचारहरू भनिरहनुभएको थियो। मुख्य पूजाहारी हरू, व्यवस्थाका शास्त्रीहरू र बूढा यहूदी प्रमुखहरू उहाँ भएकोमा प्रश्न गर्न आए। तिनीहरूले सोधे, “हामीलाई भन्नु होस्, कुन अधिकारले तपाईं यी सब काम गर्नु हुन्छ? कसले तपाईंलाई यस्तो अधिकार दियो?” येशूले उत्तर दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु। मलाई भन: जब यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिए त्यो अधिकार तिनले परमेश्वरबाट कीमानिसबाट पाएका थिए?” तिनीहरूले यस विषयमा आपसमा बहस गरे, “यदि हामीले भन्यौं, ‘यूहन्नाको बप्तिस्मा परमेश्वरबाट भएको थियो,’ तब उनले भन्नेछन्, ‘त्यसो भए यूहन्नालाई किन विश्वास नगरे को?’ तर यदि हामीले भन्यौं, ‘यूहन्नाको बप्तिस्मा मानिसद्वारा भएको हो’, तब सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्नेछन्, किनभने तिनीहरूले यूहन्नालाई अगमवक्ताको रूपमा विश्वास गर्छन्।” अनि तिनीहरूले भने, “यो कहाँबाट आयो हामी जान्दैनौं।” यसर्थ येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसैले म यी कामहरू कुन अधिकारबाट गर्दैछु, भन्दिन।” त्यसपछि येशूले दृष्टान्त कथा सुनाउनुभयो, “एकजना मानिसले खेतमा दाखहरू रोपे। उसले आफ्नो खेत केही खेतीवालहरूलाई किरायमा दिए। त्यसपछि ती मानिस धेरै समयको लागि बाहिर गए। त्यसपछि, खेतमा दाखको फसल उठाउने समय आयो। अनि त्यो मानिसले आफ्नो एकजना नोकरलाई ती खेतीवालहरूकहाँ आफ्नो पाउनु पर्ने दाखको भाग लिन पठायो। तर खेतीवालहरूले त्यो नोकरलाई कूटपीट गरे अनि खाली हात पठायो। फेरि त्यो मानिसले अर्को नोकरलाई पठायो। खेतीवालहरूले त्यो नोकरलाई पनि पिटे। तिनीहरूले त्यसलाई कुनै सम्मान गरेनन्। ती खेतीवालहरूले उसलाई खाली हात पठाए। उसले अझ तेस्रो नोकर पठायो। खेतीवालहरूले त्यलाई नराम्रो प्रकारले कुटे अनि बाहिर फ्याँकिदिए। “त्यो खेतको मालिकले भन्यो, ‘अब मैले के गर्नु पर्ने हो? म मेरो प्यारो छोरोलाई पठाउनेछु। हुन सक्छ खेती वालहरूले मेरो छोरोलाई आदर गर्छन्।’ जब खेतीवालाहरूले छोरोलाई देखे, तिनीहरूले आपसमा भने, ‘यो हाम्र मालिकको छोरो हो।’ त्यसपछि खेतीवालहरूले उसको छोरोलाई खेतबाट बाहिर निकालिदिए अनि त्यसलाई मारे। “यो खेतको मालिकले अब के गर्नेछ? तिनी आउनेछन्, अनि ती खेतीवालहरूलाई मार्नेछन्। त्यपछि तिनले त्यो खेत अन्य खेतीवालहरूलाई दिनेछन्।” मानिसहरूले यो कथा सुने। तिनीहरूले भने, “अँहँ! यस्तो कहिल्यै नहोस्।” तर येशूले तिनीहरूको आँखामा हेर्नुभयो अनि भन्नुभयो, “त्यसो भए, यो लेखिएको अर्थ के होलाः ‘डकर्मीहरूले नचाहेको त्यही ढुङ्गा चाहीं, कुनाको शिर ढुङ्गा बन्यो’? प्रत्येक मानिस जो ती ढुङ्गामा बजारिनु पुग्छ चक्नाचूर हुनेछ। अनि यदि त्यो ढुङ्गा कसैमाथि खसे त्यसले तिनलाई धूलो पीठो पार्नेछ!” येशूले भनेको यो कथा यहूदी प्रमुखहरूले सुने। तिनीहरूकै निम्ति भनिए झैं बुझे। त्यसर्थ तिनीहरूले त्यति बेलै येशूलाई पक्रिने चेष्टा गरे। तर तिनीहरू मानिसहरूसँग डराए। यसपछि व्यवस्थाका शास्त्रीहरू र मुख्य पूजाहारीहरूले येशूलाई होसियारीसित चियो गरे। तिनीहरूले केही गुप्तचरहरू येशूकहाँ पठाए अनि तिनीहरूलाई असल मानिस झैं व्यवहार गर्ने भने। तिनीहरूले येशूको भनाईमा केही खोट निकाल्नु चाहान्थे। यदि तिनीहरूले कुनै खोट पाए येशूलाई राज्यपाल अघि सुम्पिदिने थिए, जसको येशूमाथि शक्ति अनि अधिकार थियो। अनि तिनीहरूले येशूलाई सोधे, “गुरुज्यू हामी बुझ्छौ कि तपाईं जे बोल्नु हुन्छ अनि शिक्षा दिनु हुन्छ त्यो सही छ। तपाईं सबै मानिसहरूलाई निष्पक्ष सित त्यहीकुरा सिकाउनु हुन्छ। अनि तपाईं सधैँ नै परमेश्वरको मार्गको विषयमा सत्य सिकाउनु हुन्छ। हामीलाई भन्नुहोस्, के हामीले कैसरलाई कर तिर्नु उचित छ वा छैन?” तर येशूले तिनीहरूको चलाकी चाल पाई हाल्नुभयो। यसर्थ उहाँले तिनीहरूलाई भन्नुभयो, “एउटा सिक्का मलाई देऊ। यो सिक्कामा कसको नाउँ छ? अनि यसमा कसको चित्रको छाप छ?” तिनीहरूले भने, “कैसरको।” येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसो हो भने कैसरको चीज कैसरलाई नै देऊ अनि परमेश्वरको परमेश्वरलाई नै देऊ।” उहाँ ज्ञानमय उत्तर सुनेर तिनीहरू छक्क परे। तिनीहरूले केही भन्न सकेनन्। मानिसहरूको अघि तिनीहरूले येशूलाई केही कुरामा पनि पक्रन सकेनन्, यसर्थ तिनीहरू चूपचाप बसे।