YouVersion लोगो
खोज आइकन

लूका 20:1-26

लूका 20:1-26 NNRV

एक दिन मन्‍दिरमा उहाँले मानिसहरूलाई शिक्षा दिइरहनुभएको थियो, र तिनीहरूलाई सुसमाचार प्रचार गरिरहनुभएको थियो। धर्म-गुरुहरूका साथमा मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरू उहाँकहाँ आए, र उहाँलाई सोधे, “हामीलाई भन, कुन अधिकारले तिमी यी काम गर्दछौ, अथवा तिमीलाई यो अधिकार दिने को हो?” उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा कुरा सोध्‍छु, मलाई उत्तर देओ। यूहन्‍नाले दिएको बप्‍तिस्‍मा स्‍वर्गबाट थियो, कि मानिसबाट?” तिनीहरू आपसमा बहस गर्न लागे, “‘स्‍वर्गबाट’ भनौं भने, ‘तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ?’ भनेर तिनले भन्‍नेछन्‌। ‘मानिसबाट’ भनौं भने, सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्‍नेछन्, किनकि यूहन्‍ना अगमवक्ता हुन्‌ भन्‍ने तिनीहरूको पक्‍का विश्‍वास छ।” यसकारण तिनीहरूले जवाफ दिए, “हामी जान्‍दैनौं, कहाँबाट आएको हो।” तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “उसो भए म कुन अधिकारले यी काम गर्दछु, म पनि तिमीहरूलाई भन्‍दिनँ।” उहाँले मानिसहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो: “एक जना मानिसले दाखबारी लगाए, र मोहीहरूलाई दिएर धेरै दिनका निम्‍ति परदेश गए। फल पाकिसकेपछि दाखबारीबाट केही फल लिन दाखबारीका मालिकले आफ्‍नो एउटा नोकरलाई मोहीहरूकहाँ पठाए। तर मोहीहरूले त्‍यसलाई पिटेर रित्तै पठाइदिए। तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्‍यसलाई पनि पिटी बेइज्‍जत गरेर रित्तै पठाइदिए। तिनले तेस्रालाई पनि पठाए। तर तिनीहरूले त्‍यसलाई पनि घाइते बनाएर निकालिदिए। “अनि दाखबारीका मालिकले भने, ‘अब म के गरूँ? म आफ्‍नो प्‍यारो छोरो पठाउनेछु। शायद उसलाई त तिनीहरूले आदर गर्लान्‌।’ “तर मोहीहरूले उसलाई देखेर आपसमा कुरा गरे, ‘यो त हकवाला हो। हामी यसलाई मारौं, र सम्‍पत्तिको हक हाम्रो हुनेछ।’ अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे। “अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्‌? तिनी आएर ती मोहीहरूलाई मार्नेछन्, र दाखबारी अरूहरूलाई दिनेछन्‌।” मानिसहरूले यो सुनेर भने, “यस्‍तो कहिले नहोस्‌।” तर उहाँले तिनीहरूलाई हेरेर भन्‍नुभयो, “यो लेखिएको के हो त? ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्‍यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्‍यो।’ त्‍यस ढुङ्गामाथि खस्‍ने हरेक चकनाचूर हुनेछ, तर जसमाथि त्‍यो खस्‍छ त्‍यसले त्‍यसलाई धूलोपीठो पार्नेछ।” तब शास्‍त्रीहरू र मुख्‍य पूजाहारीहरूले त्‍यसै बेला उहाँलाई पक्रन खोजे। तिनीहरूलाई थाहा थियो कि यो दृष्‍टान्‍त तिनीहरूकै विरुद्धमा भनिएको थियो तर तिनीहरू मानिसहरूसँग डराउँथे। तिनीहरू मौका हेर्न लागे, र धर्मी भई टोपल्‍ने जासूसहरूलाई तिनीहरूले उहाँकहाँ पठाए। येशूले भन्‍नुभएको कुरामा उहाँलाई फसाएर अधिकारीहरू र हाकिमका हातमा उहाँलाई सुम्‍पिदिने दाउमा तिनीहरू थिए। तिनीहरूले उहाँलाई सोधे, “गुरुज्‍यू, हामी जान्‍दछौं, तपाईं ठीक बोल्‍नुहुन्‍छ र ठीक सिकाउनुहुन्‍छ, र कसैको पक्षपात गर्नुहुन्‍न, तर सत्‍यतासाथ परमेश्‍वरको मार्ग सिकाउनुहुन्‍छ। हामीले कैसरलाई कर तिर्नु उचित छ, कि छैन?” तर उहाँले तिनीहरूको कपट बुझेर तिनीहरूलाई भन्‍नुभयो, “मलाई एउटा सिक्‍का देखाओ। यसमा कसको चित्र र कसको नाउँ खोपिएको छ?” तिनीहरूले भने, “कैसरको।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसकारण जे कैसरका हुन्‌ कैसरलाई देओ, र जे परमेश्‍वरका हुन्‌ परमेश्‍वरलाई देओ।” मानिसहरूका सामुन्‍ने तिनीहरूले उहाँलाई कुरामा फसाउन सकेनन्, र उहाँको जवाफमा तिनीहरू चकित भएर चूप रहे।