YouVersion लोगो
खोज आइकन

लूकाको सुसमाचार 2:41-52

लूकाको सुसमाचार 2:41-52 NERV

निस्तार चाडको बेला प्रत्येक वर्ष नै येशूको आमा बाबु यरूशलेम जाने गर्थे। जब येशू बाह्र वर्ष को हुनुभयो, सधैँ झैं उहाँका माता पिता उहाँको साथमा त्यो भोजमा सामेल भए। जब भोज सिद्धियो तिनीहरू घर फर्किरहेका थिए। तर बालक येशू यरूशलेममा नै बस्नु भयो। उहाँको विषयमा आमा-बाबुलाई केही थाहा भएन। तिनीहरूले सोचे कि उहाँ अन्य यात्रीहरूसँग हुनुहुन्छ, यसकारण तिनीहरू दिनभरी हिंडीरहे। तब उहाँलाई आफ्नो साथी तथा आफन्तहरू माझ तिनीहरूले खोज्न लागे तर यूसुफ र मरियमले उहाँलाई तिनीहरू बीचमा नदेख्ता तिनीहरू उहाँलाई खोज्न यरूशलेम फर्के। तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा भेटे। येशू मन्दिरमा धार्मिक शिक्षकहरूसँग तिनीहरूका कुराहरू सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै बसिहनु भएको थियो। ज-जसले उहाँलाई सुने उहाँको समझ र उत्तरहरूमा छक्क परिरहेका थिए। जब उहाँका आमा-बाबुले उहाँलाई भेटे तिनीहरू आश्चर्य चकित भए। उहाँकी आमाले उहाँलाई भनिन्, “पुत्र, तिमीले हामीलाई किन यसो गर्यौ? तिम्रो बाबु अनि म तिमीलाई खोज्दा साह्रै चिन्तित थियौं।” तब येशूले तिनीहरूलाई भन्नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनु भएको? के तपाईंहरू जान्नु हुन्न कि मेरा पिताको कार्य जहाँ हुन्छ म त्यहीं रहनु पर्छ?” तर तिनीहरूले येशूले उनीहरूलाई दिनु भएको उत्तरको अर्थ बुझ्न सकेनन्। तब येशू तिनीहरूसँगै नासरत जानु भयो। उहाँले आफ्ना आमाबाबुले भनेका सबै कुराहरू मान्नु भयो। तर उहाँकी आमाले भने अझै त्यही कुराहरूनै मनमा राखिरहेकी थिइन्। येशू शारीरिक रूपमा र बुद्धिमा बढ्दै हुनुहुन्थ्यो अनि परमेश्वर र मानिसहरूबाट अनुग्रह पाइरहनु भएको थियो।