YouVersion लोगो
खोज आइकन

लूका 2:41-52

लूका 2:41-52 नेपाली समकालीन संस्करण (NCV)

येशूका आमाबुबा निस्तार चाडको निम्ति वर्षेनी यरूशलेम जाने गर्दथे। उहाँ बाह्र वर्षको हुनुभएपछि, उहाँहरू चाडको रीतिअनुसार जानुभयो। चाड सकिएपछि उहाँका आमाबुबा घर फर्कंदैगर्दा, बालक येशू यरूशलेममै रहनुभयो, तर उहाँका आमाबुबाले यो थाहा पाएनन्। उहाँ तिनीहरूकै यात्रीदलमा हुनुहुन्छ होला भन्‍ने ठानी, तिनीहरू एक दिनभरिको बाटो गए। तब तिनीहरूले उहाँलाई आफ्ना नातेदारहरू र मित्रहरूका बीचमा खोज्न थाले। उहाँलाई त्यहाँ नभेट्टाउँदा, तिनीहरू उहाँलाई खोज्न यरूशलेम नै फर्के। तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरको चोकमा शिक्षकहरूसँग बसेर तिनीहरूका कुरा सुन्दै र तिनीहरूलाई प्रश्न गर्दैरहनुभएको भेट्टाए। उहाँका कुरा सुन्‍नेहरू सबैजना उहाँको समझ र उत्तरहरूमा छक्‍क परेका थिए। जब उहाँका आमाबुबा उहाँलाई देखेर चकित भए; तब उहाँकी आमाले उहाँलाई भनिन्, “छोरा, तिमीले हामीलाई किन यस्तो व्यवहार गर्‍यौ? तिम्रा बुबा र म चिन्तित भएर तिमीलाई खोजिरहेका थियौं।” उहाँले भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोज्नुभएको? म मेरा पिताको घरमा हुनुपर्छ भनी के तपाईंहरूलाई थाहा थिएन?” तर उहाँले तिनीहरूलाई के भन्दैहुनुहुन्थ्यो, त्यो तिनीहरूले बुझेनन्। त्यसपछि उहाँ तिनीहरूसँग नासरत जानुभयो, र तिनीहरूप्रति आज्ञाकारी बन्‍नुभयो। उहाँकी आमाले यी सबै कुरा आफ्नो मनैमा राखिन्। अनि येशू बुद्धिमा र कदमा, अनि परमेश्‍वर र मानिसहरूको कृपादृष्‍टिमा बढ्दै जानुभयो।

शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्

लूका 2:41-52 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशूका आमा-बुबा वर्षेनी मुक्ति-दिवस भनिने चाड मनाउन यरूशलेममा जाने गर्थे। येशू बाह्र वर्षको हुनुहुँदा उनीहरूले येशूलाई सँगै लिएर चाड मनाउन गए। चाड मानिसकेपछि उनीहरू घर फर्के। येशूचाहिँ यरूशलेममा नै बस्‍नुभयो। तर उहाँका आमा-बुबालाई यो कुरा थाहै भएन। येशू अरू साथीहरूसँगै हुनुहुन्‍छ भन्‍ने सम्‍झेर उनीहरू दिनभरि हिँडे। साँझ परेपछि साथी-सङ्गीको बीचमा उहाँलाई खोज्‍न लागे। छोरालाई कहीँ पनि नपाउँदा उनीहरू येशूलाई खोज्‍न यरूशलेमतिर फर्के। खोज्‍दाखोज्‍दै तीन दिन बितेपछि बल्‍ल उनीहरूले छोरालाई मन्‍दिरमा भेट्टाए। उहाँ धर्म-गुरुहरूसँग बसेर तिनीहरूको कुरा सुन्‍दै र प्रश्‍न गर्दै हुनुहुन्‍थ्‍यो। उहाँको ज्ञान-बुद्धि र उत्तर देखेर सबै छक्‍क परे। त्‍यसरी छोरालाई त्‍यहाँ देख्‍दा उहाँका आमा-बुबाले अचम्‍म पनि माने। मरियमले सोधिन्, “बाबु, तिमीले यो के गरेको? हेर, तिम्रा बुबा र म आत्तिएर तिमीलाई खोजिरहेका थियौं!” “तपाईंहरूले मलाई किन खोज्‍नुभएको? म आफ्‍ना पिताको घरमा रहनुपर्छ भन्‍ने कुरा के तपाईंहरूलाई थाहा थिएन?” येशूले जवाफ दिनुभयो। तर उहाँले भन्‍नुभएका कुरा मरियम र योसेफले बुझ्‍नै सकेनन्। त्‍यसपछि येशू आमा-बुबासँग नासरतमा फर्किनुभयो र उनीहरूको आज्ञा मानेर बस्‍नुभयो। उहाँकी आमा मरियमले चाहिँ यी सबै कुराहरू नबिर्सीकन मनैमा राखिन्। येशू भने परमेश्‍वर र मानिस दुवैको अनुग्रह पाएर शरीर र बुद्धिमा बढ्दै-बढ्दै जानुभयो।

शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्

लूका 2:41-52 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

उहाँका आमा-बुबा निस्‍तारचाड़मा प्रतिवर्ष यरूशलेम जाने गर्थे। जब येशू बाह्र वर्षका हुनुभयो, तब उहाँहरू चाड़को रीतिअनुसार यरूशलेममा जानुभयो। चाड़का दिन सिद्धिएपछि तिनीहरू फर्कंदा बालक येशू यरूशलेममै रहनुभयो। योचाहिँ उहाँका आमा-बुबाले थाहा पाएनन्‌। उहाँ यात्रीहरूको दलमा हुनुहुन्‍छ भनी ठानेर तिनीहरू एक दिनको बाटो गए। उहाँलाई तिनीहरूले नातेदार र चिनाजानाहरूका बीचमा खोजे, तर नभेट्टाउँदा तिनीहरू उहाँलाई खोज्‍दै फेरि यरूशलेममा फर्के। तीन दिनपछि तिनीहरूले उहाँलाई मन्‍दिरमा शिक्षकहरूका बीचमा बसेर तिनीहरूका कुरा सुन्‍दै तिनीहरूलाई प्रश्‍न गरिरहनुभएको भेट्टाए। सुन्‍नेहरू सबै उहाँको समझ-शक्ति र उहाँका उत्तरहरूमा छक्‍क पर्दथे। उहाँलाई देखेर उहाँका आमा-बुबा चकित भए, र उहाँकी आमाले भनिन्, “छोरो, तिमीले हामीलाई यो के गरेको? हेर, तिम्रा बुबा र म हैरान भएर तिमीलाई खोजिरहेका थियौं।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोज्‍नुभएको? के म आफ्‍ना पिताको घरमा हुनुपर्छ भन्‍ने तपाईंहरूलाई थाहा थिएन?” तर उहाँले तिनीहरूलाई भन्‍नुभएको कुरा तिनीहरूले बुझेनन्‌। तब उहाँ तिनीहरूसँग नासरत जानुभयो, र तिनीहरूका आज्ञाकारी भई बस्‍नुभयो। उहाँकी आमाले यी सबै कुरा आफ्‍नो मनमा राखिन्‌ अनि येशू बुद्धिमा, कदमा र परमेश्‍वर र मानिसहरूको अनुग्रहमा बढ्‌दैजानुभयो।

शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्

लूका 2:41-52 पवित्र बाइबल (NERV)

निस्तार चाडको बेला प्रत्येक वर्ष नै येशूको आमा बाबु यरूशलेम जाने गर्थे। जब येशू बाह्र वर्ष को हुनुभयो, सधैँ झैं उहाँका माता पिता उहाँको साथमा त्यो भोजमा सामेल भए। जब भोज सिद्धियो तिनीहरू घर फर्किरहेका थिए। तर बालक येशू यरूशलेममा नै बस्नु भयो। उहाँको विषयमा आमा-बाबुलाई केही थाहा भएन। तिनीहरूले सोचे कि उहाँ अन्य यात्रीहरूसँग हुनुहुन्छ, यसकारण तिनीहरू दिनभरी हिंडीरहे। तब उहाँलाई आफ्नो साथी तथा आफन्तहरू माझ तिनीहरूले खोज्न लागे तर यूसुफ र मरियमले उहाँलाई तिनीहरू बीचमा नदेख्ता तिनीहरू उहाँलाई खोज्न यरूशलेम फर्के। तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा भेटे। येशू मन्दिरमा धार्मिक शिक्षकहरूसँग तिनीहरूका कुराहरू सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै बसिहनु भएको थियो। ज-जसले उहाँलाई सुने उहाँको समझ र उत्तरहरूमा छक्क परिरहेका थिए। जब उहाँका आमा-बाबुले उहाँलाई भेटे तिनीहरू आश्चर्य चकित भए। उहाँकी आमाले उहाँलाई भनिन्, “पुत्र, तिमीले हामीलाई किन यसो गर्यौ? तिम्रो बाबु अनि म तिमीलाई खोज्दा साह्रै चिन्तित थियौं।” तब येशूले तिनीहरूलाई भन्नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनु भएको? के तपाईंहरू जान्नु हुन्न कि मेरा पिताको कार्य जहाँ हुन्छ म त्यहीं रहनु पर्छ?” तर तिनीहरूले येशूले उनीहरूलाई दिनु भएको उत्तरको अर्थ बुझ्न सकेनन्। तब येशू तिनीहरूसँगै नासरत जानु भयो। उहाँले आफ्ना आमाबाबुले भनेका सबै कुराहरू मान्नु भयो। तर उहाँकी आमाले भने अझै त्यही कुराहरूनै मनमा राखिरहेकी थिइन्। येशू शारीरिक रूपमा र बुद्धिमा बढ्दै हुनुहुन्थ्यो अनि परमेश्वर र मानिसहरूबाट अनुग्रह पाइरहनु भएको थियो।

शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्