परमप्रभुले आफ्नो महान शक्ति प्रयोग गर्नुभयो अनि पृथ्वी सृष्टि गर्नु भयो। उहाँले आफ्नो ज्ञानले पृथ्वीलाई स्थापित गर्नु भयो र उहाँले आफ्नो समझ र बुद्धिले आकाशलाई फैलाउनु भयो। जब उहाँ गर्जनुहुन्छ आकाश पनि गर्जन्छ, उहाँले पृथ्वीको अन्तबाट कुइरो निस्केर माथि आउने पार्नुहुन्छ। उहाँले बर्षासँग बिजुली चम्काउनुहुन्छ। उहाँले आफ्नो भण्डारबाट बतास निकाल्नुहुन्छ। तर हरेक मानिसहरू मूर्ख र बुद्धिहीन छन्। परमेश्वरले के गर्नुभयो सो जान्दैनन्, हरेक मानिस जसले मूर्ति बनाउँछ, उसलाई लज्जित पारिन्छ। किनभने उसको मूर्तिहरू मूल्यहीन हुन्। तिनीहरूमा जीवन छैन। तिनीहरू मूल्याहीन छन्, छलको काम मात्र गर्छन्। जब तिनीहरूलाई सजाय दिइन्छ तिनीहरू सड्नेछन्। याकूबका परमेश्वर यी मूर्तिहरू जस्ता मूल्यहीन हुनुहुन्न। मानिसहरूले परमेश्वर बनाएनन्। परमेश्वरले आफ्ना मानिसहरू बनाउनुभयो। उहाँले आफ्नो उत्तराधिकारी जाति सहित प्रत्येक चीज बनाउनु भयो। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो। परमप्रभु भन्नुहुन्छ, “बाबेल! तिमी मेरो डण्डा हौं, मेरो युद्धको हतियार। मैले त्यस जाति जातिहरूलाई टुक्राउनु र ध्वंश पार्नुलाई चलाएँ। मैले तिमीलाई घोडा र सवारीमा प्रहार गर्न चलाएँ। मैले तिमीलाई रथ र सारथीहरू धूलो पार्न प्रहार गरें। मैले तिमीलाई पुरूष र स्त्री माथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई, जवान र वृद्ध मानिसहरूमाथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई युवा-युवती माथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई गोठालो र भेंडा़वथान माथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई किसानहरू र गाईहरूमाथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई राज्यपालहरू र मुख्य हाकिमहरूमाथि प्रहार गर्न चलाएँ। तर म बाबेल र सबै कल्दीहरूलाई तिनीहरूले सियोन विरूद्ध गरेका जम्मै अनिष्ट कार्यहरू फर्काइदिनेछु।” परमप्रभु ती कुराहरू भन्नुहुन्छ। परमप्रभु भन्नुहुन्छ, “बाबेल! हे पर्वत नष्ट छ जसले सारा भूमि नै नष्ट पार्छ म तिम्रो विरोधमा छु। म तिम्रो विरोधमा मेरो हात उठाउँछु। म तिमीलाई भिरालो चट्टानबाट तल झारी दिनेछु, म तिमीलाई डढेको पर्वत बनाईदिनेछु। आफ्नो मन्दिरको लागि कुने ढुङ्गा, अथवा घडेरी बनाउनको लागि मानिसहरूले तिमीहरूबाट ढुङ्गाहरू लिनेछैनन्। किनभने तिमी सधैँका निम्ति काममा नआउने भूमि हुनेछौ।” परमप्रभुले घोषणा गर्नु भयो। “भूमिमा युद्धको झण्डा उठाऊ। सबै जाति-जातिहरूमा युद्धको तुरही फुक। जातिहरूलाई बाबेलको विरूद्ध लडाइँ गर्नलाई तैयार पार। अरारत, मिन्नी र अशकनज राज्यहरूलाई बाबेलको विरूद्ध लडाइँ गर्न डाक। उसको विरोधमा सेना संचालन गर्न एकजना कप्तान नियुक्त गर। संख्यामा सलहसरह घोडाहरू त्यहाँ पठाऊ। उसको विरूद्ध लडाइँ गर्न जाति-जातिहरू तयार पार। मादीका राजाहरूलाई, राज्यपालहरू, सारा मुख्य हाकिमहरू र तिनीहरू जसले बाबेल विरूद्ध शासन गरे ती जम्मै देशहरूलाई तैयार पार। जब बाबेललाई जन शून्य, उजाड भूमि बनाउन परमप्रभुको काम धर्ती थर-थराउनेछ अनि बेदनामा परे झैं माडिनेछ। बाबेलका सिपाहीहरूले लडाइँ गर्न बन्द गरे। तिनीहरू आफ्नै दृढ किल्लाहरूमा पसे। तिनीहरू थकित भए। तिनीहरू स्त्री जस्तै भए। बाबेलका घरहरू जलिरहेका छन्। अनि प्रवेशद्वारहरू भत्काइएका छन्। एक सन्देशवाहकको पछि, अर्को सन्देशवाहक जान्छ, अनि सम्पूर्ण शहर कब्जामा पर्यो भन्ने खबर बाबेलका राजाकहाँ पुर्याइन्छ। चाँचरहरू घेरामा परे; सिमसारहरू आगो लगाइए; सिपाहीहरू भयग्रस्त भए।” सेनाहरूका परमप्रभु, इस्राएलहरूका परमेश्वर यसो भन्नुहुन्छ, “बाबेल धान कुट्ने ढिकी जस्तै भएकी छ। बालीको समय मानिसहरूले धान कुटेर असल र भुस छुट्याउँछन्। अनि बाबेलमा धान कुट्ने समय चाँडै आइरहेछ।” सियोनका मानिसहरूले भन्नेछन्, “बाबेलका राजा नबूकदनेस्सरले हामीलाई खायो। हामीलाई चोट पुर्यायो। हाम्रा मानिसहरूलाई टाढा पुर्यायो। उसले हामीलाई खाली भाँडाजस्तै बनायो। हाम्रा असल-असल थोकहरू सबै लग्यो। राक्षसलेझैं उसले हामीलाई निल्यो। हाम्रो राम्रो भोजनले उसले आफ्नो पेट भर्यो। तब उसले हामीलाई बाहिर थुक्यो। बाबेलले हामीमाथि डरलाग्दो र निन्दनीय कामहरू गर्यो। अब हामी बाबेलमाथि त्यही अनिष्टहरू भएको हेर्न चाहन्छौं।” सियोनका मानिसहरू यो कुरा भन्छन्, “हाम्रो रगत बाबेलका मानिसहरूमाथि परोस्। तिनीहरूले बिगतमा जे गरेका थिए तिनीहरूमाथि त्यस्तै दण्ड होस्।” यरूशलेमका वासिन्दाहरूले यो कुरा भन्छन्। यसकारण परमप्रभु भन्नुहुन्छ: “यहूदा! म तिमीहरूको मामला लिनेछु र प्रतिशोध गर्नेछु। म बाबेलको समुद्र सुकाइदिनेछु, अनि झरनाहरू सुकाइदिनेछु। बाबेल मन्दिरहरूका भग्नावशेषहरूको थुप्रो मात्र भएको छ। अनि त्यो जङ्गली कुकुरहरू बस्ने ठाउँ हुनेछ। मानिसहरू ढुङ्गाहरूको राश हेर्न डराउनेछन्। बाबेलको विषयमा सोचेर मानिसहरू टाउको हल्लाउने छन्। यो कोही नबस्ने सुनसान ठाऊँ बनिनेछ। “बाबेलका मानिसहरू गर्जने जवान सिंह जस्तै छन्। तिनीहरू डम्मरूहरूझैं गर्जिन्छन्। जब तिनीहरू उत्तेजित हुन्छन् म तिनीहरूलाई एक प्रीति भोज दिनेछु। म तिनीहरूलाई मताउनेछु। तिनीहरू हाँस्ने छन् खुशी मनाउनेछन्। तिनीहरू कहिल्यै नउठ्नलाई निदाउँनेछन्।” तिनीहरू कहिल्यै उठ्ने छैनन्। परमप्रभुले यी कुराहरू भन्नुभयो। “बाबेल भेंडा़-भेंडी़ र बाख्राहरू झैं काटिनलाई पर्खिरहको हुनेछ। तिनीहरूलाई म कसाइखानमा डोर्याउँनेछु। “शीशक परास्त हुनेछ। सारा पृथ्वीको गौरव र प्रशंसाको पात्र बाबेल कैद गरिनेछ। अन्य जातिहरूका मानिसहरूले बाबेलमा हेर्नेछन् अनि त्यस देशको सर्वनाश देखेर तिनीहरू भयग्रस्त हुनेछन्। समुद्र उर्लेर बाबेलमाथि उठ्नेछ र ढाकिने छ। यसको गर्जने छालहरूले उसलाई ढाकी दिन्छ। बाबेलका शहरहरू नष्ट पारिनेछन्। बासिन्दाहरू बिना ती शहरहरू सुख्खा मरुभूमि र उदास हुनेछन, बाबेल देशबाट मानिसहरू यात्रा गर्नेछैनन्। म बाबेलको बाललाई दण्ड दिनेछु। उसले जे-जे निलेको छ त्यसलाई उल्टी गराउँछु। बाबेलमा जाति-जातिहरूका मानिसहरू अब उसो आउने छैनन्। बाबेलको पर्खाल ढल्नेछ। हे मेरो मानिसहरू हो। बाबेलका शहरबाट बाहिर निस्क र आफ्नो प्राण बचाउँन भाग। परमप्रभुको भयानक रीसदेखि भाग। “हे मेरा मानिसहरू हो, नडराऊ। उड़न्त कुराहरू फैलिनेछ तर नडराऊ। यो बर्षमा एउटा उड़न्त कुरा आउँनेछ; अनि अर्को बर्षमा अर्को आउँनेछ, यस भूमिमा हिंसाको उड़न्त खबरहरू र शासकहरूको विरूद्ध शासकहरू लड्ने उडन्त कुरा हुनेछ।
यर्मियाको पुस्तक 51 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मियाको पुस्तक 51:15-46
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू