पलिश्तीहरूले आफ्ना सैनिकहरूलाई युद्धको निम्ति भेला गराए। तिनीहरू यहूदा स्थित सोकोहमा भेला भए। तिनीहरूको छाउनी सोकोह र अजेकाको बीचमा एपेसदम्मीम नाउँका शहरमा थियो। शाऊल र इस्राएली सैनिकहरू पनि एक ठाउँमा भेला भए। तिनीहरूको छाउनी एला बेंसीमा थियो। शाऊलका सैनिकहरूले पंक्ति बाँधे पलिश्तीहरूसित युद्ध गर्न तयार थिए। पलिश्तीहरू एउटा पहाड माथि थिए, र इस्राएलीहरू अर्को पहाड माथि थिए। दुवै पक्षका बीचमा बेंसी थियो। पलिश्तीहरूको गोल्यात नाउँ भएको एउटा वीर योद्धा थियो। गोल्यात गात निवासी थियो। गोल्यात झण्डै नौ फीट अग्लो थियो। गोल्यत पलिश्तीहरूका छाउनीबाट बाहिरियो। शिरमा काँसाको टोपी लगाएको थियो। शरीरमा माछाको कत्ला जस्तै कवच कोट लगाएको थियो। त्यो रक्षा कवच काँसाको नै थियो यसको ओजन 5,000 शेकेलको थियो। गोल्यतले खुट्टातिर पनि काँसाकै कवच लगाएको थियो। काँसाकै भाला पिठ्यूँमा बोकेको। भालाको लट्टी जुलाहाको लुगा बुन्ने डण्डा जत्रो थियो। भालाको ओजन 600 शेकेलको थियो। गोल्यतको हात-हतियार बोक्ने तिनको अघि-अघि हिँड्थ्यो। प्रत्येक दिन गोल्यत बाहिर निस्कन्थ्यो र इस्राएली सैनिकहरूलाई चुनौती दिन्थ्यो। उसको चुनौति थियो, “किन तिमीहरूले युद्धको निम्ति पंक्ति कसेको? तिमीहरू शाऊलका नोकर हौ म त पलिश्ती हुँ। एउटा मानिस छानेर मेरो विरूद्धमा लडनलाई पठाऊ। यदि त्यस मानिसले मलाई मार्यो भने तब हामी सबै पलिश्तीहरू तिमीहरूका दास बन्नेछौ। तर यदि मैले त्यस मानिसलाई मारे भने मैले जितेको हुनेछ र तिमीहरू हाम्रो दास हुनेछौ। तिमीहरूले हाम्रा सेवा गर्नुपर्छ।” पलिश्तीले यसो पनि भन्यो, “आज म इस्राएली सेनाहरूलाई गिल्ला गर्छु। एउटा मानिस पठाइदेऊ ताकि म त्यससित लड्न सकुँ।” शाऊल र इस्राएली सैनिकहरूले पलिश्तीले भनेको यी सब सुन्थे र साह्रै डराउँथे। दाऊद यिशैका छोरा थिए। यिशै इफ्रातीका छोरा थिए जो बेतलेहेमको, यहूदाका थिए। यिशैका आठजना छोराहरू थिए। शाऊलका समयमा यिशै बूढा भइसकेका थिए। यिशैका जेठा, माहिला र साहिंला छोराहरू शाऊलसित रणभूमिमा गएका थिए। जेठा छोराको नाउँ एलीआब थियो। माहिला छोराको नाउँ अबीनादाब र साँहिला छोराको नाउँ शम्मा थियो। दाऊद चाहिं कान्छो छोरा थिए। जेठा, माहिला र साँहिला चाहिं शाऊलको सेनामा थिए। कान्छा छोरा दाऊद शाऊलको छाउनी र बेतलेहेममा आफ्ना पिताका भेंडाहरू हेरचाह गर्न आउने जानेगर्थे। त्यो पलिश्ती गोल्यत प्रत्येक दिन बिहानै बेलुकी इस्राएलीहरूका छाउनीमा आएर ठट्टा गर्थ्यो। 40 दिनसम्म त्यसले सधैँ त्यस्तै गर्यो। एक दिन यिशैले दाऊदलाई भने, “यस फुर्लुङमा चार पाथी (एक एपा) चिउरा र दशवटा रोटी छन् तिम्रा दाज्यूहरूलाई छाउनीमा लगि देऊ। यो 10 टुक्रा पनीर पनि लिए जाऊ। तिम्रा दाज्यूहरूको 1,000 सेनाको समूहलाई आदेश गर्ने अधिकारीलाई देऊ। दाज्यूहरूले के गर्दै छन् हेर। दाज्यूहरू ठीक-ठाक नै छन् भन्ने प्रमाण पनि लिएर आउनु। तिम्रो दाज्यूहरू र सबै इस्राएली सैनिकहरू शाऊलसित एला बेंसीमा छन्। तिनीहरू त्यहाँ पलिश्तीहरूसँग लड्दैछन्।” बिहानै दाऊदले अर्को एउटा गोठालोलाई भेंडाहरू जिम्मा लगायो। दाऊदले भोजन लियो र यिशैले भने अनुसार हिंड्यो। दाऊदले गाडा सोझै छाउनीमा लिएर गयो। सैनिकहरू युद्ध पंक्तिमा गएका थिए अनि युद्ध गर्न लागे झैं हल्ला गरिरहेका थिए। इस्राएली र पलिश्ती दुवैतिरका सैनिकहरू युद्ध गर्न तयार रहे। दाऊदले भोजन र सामानहरू भण्डारेको हातमा सुम्पियो र इस्राएली सैनिकहरू भए तिर अगाडिको पंक्तिमा दगुर्यो अनि आफ्नो दाजूहरूको विषयमा सोध्यो। जस्तो दाऊदले आफ्ना दाज्यूहरूसँग कुरा गरेको बेला त्यो श्रेष्ठ योद्धा पलिश्ती गोल्यत पलिश्ती सैनिकबाट निस्केर आयो। गोल्यतले सधैँ झैं इस्राएलीलाई गाली दिन थाल्यो। दाऊदले पनि गोल्यातले भनेको कुरा सुन्यो। इस्राएली सैनिकहरू त गोल्यतलाई देखे पछि भाग्न थाले। सबै नै भयभित थिए। एकजना इस्राएलीले भने, “त्यसलाई देख्यौ त्यसले के गरिरहेछ राम्ररी हेर? त्यो गोल्यत घरि-घरि आएर इस्राएलीहरूलाई यसरी नै गाली गर्छ। जसले यसलाई मार्छ त्यो धेरै धनी हुनेछ। राजा शाऊलले धेरै सम्पत्ति दिनुहुनेछ। शाऊलले उसकी छोरी पनि विवाह गर्न दिनेछन् जसले त्यसलाई मार्न सक्छ। शाऊलले उसको परिवारलाई इस्राएलमा स्वतन्त्र बनाउनेछन्।” दाऊदले छेवैका मानिसलाई सोध्यो, “त्यसले के भन्यो? यदि कसैले यो पलिश्तीलाई मार्छ अनि इस्राएलको इज्जत बचाउँछ भने एउटा विदेशी मात्र त हो, उसले के इनाम पाउनेछ? यो गोल्यत के हो र? गोल्यत एकजना पलिश्ती भन्दा बढी केही होइन। त्यसले यो के सोचिरहेछ? उसले जीवित परमेश्वरका सैनिकहरूलाई धम्काउन सक्छ।” यसैले इस्राएलीहरूले गोल्यतलाई मार्नेको इनामबारे दाऊदलाई बताउँछन्। दाऊदका जेठा दाज्यू एलीआबले दाऊद सैनिकहरूसित बात गर्दै गरेको सुने। एलीआब दाऊदसँग रिसाउँछ। एलीआबले दाऊदलाई भग्ने, “तँ यहाँ किन आइस्? भेंडाहरू मरुभूमिमा कसलाई छोडेर आइस्? तँ यहाँ आउनुको कारण मैले जाने। तँलाई जे गर्न पठाइएको हो त्यो गर्न तँ चाहँदैनस्। तँ यहाँ खालि युद्ध हेर्नलाई मात्र आउन चाहन्थिस्।” दाऊदले भन्यो, “मैले त्यस्तो के गरें र? मैले कुनै नराम्रो काम गरिनँ म खालि कुरा गर्दै थिएँ।” दाऊद चारैतिर दौडिएर अरू सेनाहरूसित त्यही प्रश्नहरू सोध्न थाल्यो। तिनीहरूले पनि दाऊदलाई त्यही पहिले कै जस्तो उत्तर दिए। केही मानिसहरूले दाऊदलाई कुरा गर्दै गरेको सुने। तिनीहरूले दाऊदलाई शाऊल कहाँ पुर्याएर दाऊदले गरेको कुरा सबैलाई सुनाए। दाऊदले शाऊललाई भन्यो, “त्यस पलिश्ती गोल्यतको कारण तपाईं हतास नहुनुहोस्। म तपाईंको सेवक हुँ। त्यस पलिश्तीसँग म लड्ने छु।” शाऊलले भने, “तिमी गएर त्यस पलिश्तीसँग लड्न सक्ने छैनौ। तिमी सैनिक पनि त होइनौ। तिमी सानै छौ तर गोल्यत सानै देखि युद्धभूमिमा लड्दै आएको हो।” तर दाऊदले शाऊललाई फेरि भन्यो, “म, तपाईंको सेवक हुँ र मेरो पिताको भेंडा पनि चराउने गर्छु। भेंडाका बथानबाट सिंह र भालू आएर भेंडा लैजान्थे। म त्यस्ता जंगली पशुहरूलाई खेद्दै जान्थे र तिनीहरूका मुखबाट भेंडा खोसेर ल्याउँथे। यदि जंगली जन्तुले मलाई आक्रमण गरे त्यसको मुख मुनिको भुत्ला समात्थें र त्यसलाई हिर्काउथें। मैले सिंह र भालू मारेको छु। म त्यस विदेशी गोल्यतलाई त्यसरी नै मार्नेछु। गोल्यत मर्नु नै पर्छ किनकि त्यसले जीवित परमेश्वरका सेनाहरूको ठट्टा गरेको छ। परमप्रभुले मलाई सिंह र भालूहरूबाट बचाउनु भएको छ। परमप्रभुले यी पलिश्ती गोल्यतबाट पनि बचाउनु हुनेछ।” शाऊलले दाऊदलाई भने, “ठीक छ जाऊ? परमप्रभु तिम्रो साथमा रहुन्।”
शमूएलको पहिलो पुस्तक 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: शमूएलको पहिलो पुस्तक 17:1-37
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू