YouVersion लोगो
खोज आइकन

कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 3:10-23

कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 3:10-23 NERV

परमेश्वरले दिएका पुरस्कारकै आधारमा मैले एउटा सिपालू सिकर्मीलेझैं एउटा घरको जग बसालेको छु। अरूहरूले त्यसै जगमाथि घर बनाउँदैछन्। तर प्रत्येक व्यक्तिले कसरी बनाउँछ, त्यस बारेमा उसले सोच्नु पर्छ। जग बसालिसकिएको छ। कसैले अर्को जग बासाल्न सक्ने छैन। बसाली सकिएको त्यो जग येशू ख्रीष्ट हुनुहुन्छ। त्यो जगमाथी, कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, स्याउला वा परालले बनाउन सक्छ। प्रत्येक व्यक्तिको काम देखिनेछ किनभने त्यस दिनद्वारा नै सफासँग त्यो देखाइनेछ। त्यो दिन आगोसँग आउनेछ अनि प्रत्येकको कामको गुणस्तरको परख आगोले लिनेछ। त्यही जगमाथि उभ्याएको कुनै व्यक्तिको भवन यदि रह्यो भने, उसले त्यसको निम्ति इनाम पाउनेछ। तर त्यो भवन जल्यो भने, उसले नोक्सान खप्नु पर्नेछ। उसलाई बचाइनेछ तर ऊ आगोबाट फुत्के झैं हुनेछ। तिमीहरूले बुझ्नु पर्छ कि तिमीहरू परमेश्वरका मन्दिर हौ। तिमीहरूभित्र परमेश्वरको आत्माले बास गर्छ। यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यस व्यक्तिलाई नष्ट गर्नु हुनेछ। किनभने परमेश्वरको मन्दिर पवित्र हुन्छ। तिमीहरू स्वयं परमेश्वरको मन्दिर हौ। कसैले आफैंलाई धोका नदेओस्। यदि तिमीहरू मध्ये कसैले यस संसारमा आफूलाई ज्ञानी सम्झन्छ भने मूर्ख बन्नु पर्छ तब मात्र ऊ साँच्चिकै ज्ञानी बन्न सक्छ। किनभने परमेश्वर समक्ष यो संसारको ज्ञान मूर्खता हो। धर्म शास्त्रमा यस्तो लेखिएको छ। “उहाँले ज्ञानी व्यक्तिहरूलाई तिनीहरूकै आफ्नो चलाकीमा फसाउनु हुन्छ।” धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ “परमेश्वर ज्ञानी व्यक्तिको विचार बुझ्न हुन्छ। उहाँले जान्नु हुन्छ कि तिनीहरूको विचार बेकामे हो।” यसैले तिमीहरूले मानिसहरूको गर्व गर्नु पर्दैन। किनभने सबै थोक तिमीहरूकै हो पावल, अपोल्लोस र केफासः संसार, जीवन, मृत्यु, वर्तमान, भविष्य यी सबै तिमीहरूकै हुन्। अनि तिमीहरू ख्रीष्टका हौ र ख्रीष्ट परमेश्वरका हुनुहुन्छ।