YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 3:10-23

१ कोरिन्थी 3:10-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मलाई दिइएको परमेश्‍वरको अनुग्रहअनुसार, घर बनाउने निपुण कारीगरले जस्‍तै मैले जग बसालें, र अर्काले त्‍यसमाथि घर बनाउँदैजान्‍छ। त्‍यसमाथि बनाउँदैजाने हरेक मानिसले कसरी बनाउँदैछ, सो ध्‍यान देओस्‌। किनकि जुन जग बसालिसकिएको छ, जो येशू ख्रीष्‍ट हुनुहुन्‍छ, त्‍यसबाहेक कुनै मानिसले अर्को जग बसाल्‍न सक्‍दैन। अब यदि कुनै मानिसले यस जगमाथि सुन, चाँदी, बहुमूल्‍य पत्‍थर, काठ, घाँस वा पराल प्रयोग गरेर घर बनायो भने, प्रत्‍येक मानिसको काम प्रकट हुनेछ, किनकि न्‍यायको दिनले त्‍यो खुलस्‍त गरिदिनेछ। त्‍यो आगोद्वारा प्रकट हुनेछ, र हरेकले कस्‍तो काम गरेको छ, सो आगोले जाँच गर्नेछ। यदि कुनै मानिसले त्‍यस जगमाथि बनाएको काम रहिरह्यो भने उसले इनाम पाउनेछ। यदि कुनै मानिसको काम जलेर नष्‍ट भयो भने त्‍यसले नोक्‍सानी भोग्‍नुपर्नेछ, तर त्‍यो आफैचाहिँ आगोबाट उम्‍केझैँ बाँच्‍नेछ। के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्‍वरका मन्‍दिर हौ, र परमेश्‍वरका पवित्र आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ? यदि कसैले परमेश्‍वरको मन्‍दिरलाई नष्‍ट गर्छ भने परमेश्‍वरले त्‍यसलाई नष्‍ट गर्नुहुनेछ। किनकि परमेश्‍वरको मन्‍दिर पवित्र हुन्‍छ, र त्‍यो मन्‍दिर तिमीहरू नै हौ। कसैले आफैलाई धोका नदेओस्‌। तिमीहरूमध्‍ये कसैले यस युगमा आफैलाई बुद्धिमान्‌ सम्‍झन्‍छ भने त्‍यो मूर्ख बनोस्, ताकि त्‍यो बुद्धिमान्‌ बन्‍न सकोस्‌। किनकि संसारको बुद्धि परमेश्‍वरको सामु मूर्खता हो। किनकि लेखिएको छ, “उहाँले बुद्धिमान्‌हरूलाई तिनीहरूको धूर्ततामा पक्रनुहुन्‍छ।” र फेरि, “बुद्धिमान्‌हरूका विचार व्‍यर्थ हुन्‌ भनी परमप्रभु जान्‍नुहुन्‍छ।” यसैकारण कसैले मानिसहरूमाथि गर्व नगरोस्‌। किनकि सबै थोक तिमीहरूकै हुन्, चाहे पावल, कि अपोल्‍लोस, कि केफास, अथवा संसार, वा जीवन, वा मृत्‍यु, वा वर्तमान, कि भविष्‍य, सबै तिमीहरूकै हुन्, र तिमीहरू ख्रीष्‍टका हौ, अनि ख्रीष्‍टचाहिँ परमेश्‍वरका हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
१ कोरिन्थी 3 पढ्नुहोस्

१ कोरिन्थी 3:10-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

परमेश्‍वरले मलाई दिनुभएको अनुग्रहद्वारा मैले एक जना सिपालु मिस्त्रीलेझैँ एउटा जग बसालेको छु; अनि अरू कसैले त्यसमाथि भवन बनाउँदै जान्छ। तर बनाउने प्रत्येकले होसियारीसाथ बनाउँदै जानुपर्छ। तर जुन जग बसालिएको छ; त्यो जग स्वयम् येशू ख्रीष्‍ट हुनुहुन्छ; त्यसबाहेक कसैले अर्को जग बसाल्न सक्दैन। यदि कसैले त्यस जगमाथि सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, घाँस वा पराल प्रयोग गरेर केही बनाउँछ भने, हरेकको काम कस्तो रहेछ भनी देखाइनेछ; किनकि त्यस दिनले हरेकका कामलाई ज्योतिमा ल्याउनेछ; अनि आगोद्वारा काम प्रकट हुनेछ, र हरेक मानिसको कामको गुण आगोद्वारा जाँच गरिनेछ। यदि त्यसले बनाएको काम रहिरह्‍यो भने त्यस कामदारले इनाम पाउनेछ। यदि त्यो काम जलेर नष्‍ट भयो भने कामदारले नोक्सानी उठाउनुपर्नेछ; तापनि आगोको ज्वालाबाट बाँचेझैँ आफूचाहिँ बाँच्नेछ। के तिमीहरू आफैँ परमेश्‍वरको मन्दिर हौ र परमेश्‍वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भन्‍ने कुरा जान्दैनौ? यदि कसैले परमेश्‍वरको मन्दिरलाई नष्‍ट गर्दछ भने परमेश्‍वरले त्यसलाई नष्‍ट गर्नुहुनेछ; किनभने परमेश्‍वरको मन्दिर पवित्र हुन्छ, जुन मन्दिरचाहिँ तिमीहरू नै हौ। तिमीहरू आफैँलाई धोका नदेओ। यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगको नापअनुसार बुद्धिमान् सम्झन्छ भने तिमीहरू बुद्धिमान् हुनको लागि “मूर्ख” बन्‍नुपर्छ। किनकि परमेश्‍वरको दृष्‍टिमा यस संसारको बुद्धि मूर्खता हो। यसरी लेखिएको छ: “उहाँले बुद्धिमान्‌लाई त्यसकै धूर्ततामा पक्रनुहुन्छ।” अनि फेरि, “प्रभुले जान्‍नुहुन्छ कि बुद्धिमान्‌हरूका विचारहरू व्यर्थ हुन्।” यसकारण कसैले मानवीय अगुवाहरूबारे घमण्ड नगर! सबै कुरा तिमीहरूकै हुन्, चाहे पावल वा अपोल्‍लोस वा केफास वा जीवन वा संसार वा मृत्यु वा वर्तमान वा भविष्य—सबै तिमीहरूकै हुन्। तिमीहरूचाहिँ ख्रीष्‍टका हौ, र ख्रीष्‍टचाहिँ परमेश्‍वरको हुनुहुन्छ।

शेयर गर्नुहोस्
१ कोरिन्थी 3 पढ्नुहोस्

१ कोरिन्थी 3:10-23 पवित्र बाइबल (NERV)

परमेश्वरले दिएका पुरस्कारकै आधारमा मैले एउटा सिपालू सिकर्मीलेझैं एउटा घरको जग बसालेको छु। अरूहरूले त्यसै जगमाथि घर बनाउँदैछन्। तर प्रत्येक व्यक्तिले कसरी बनाउँछ, त्यस बारेमा उसले सोच्नु पर्छ। जग बसालिसकिएको छ। कसैले अर्को जग बासाल्न सक्ने छैन। बसाली सकिएको त्यो जग येशू ख्रीष्ट हुनुहुन्छ। त्यो जगमाथी, कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, स्याउला वा परालले बनाउन सक्छ। प्रत्येक व्यक्तिको काम देखिनेछ किनभने त्यस दिनद्वारा नै सफासँग त्यो देखाइनेछ। त्यो दिन आगोसँग आउनेछ अनि प्रत्येकको कामको गुणस्तरको परख आगोले लिनेछ। त्यही जगमाथि उभ्याएको कुनै व्यक्तिको भवन यदि रह्यो भने, उसले त्यसको निम्ति इनाम पाउनेछ। तर त्यो भवन जल्यो भने, उसले नोक्सान खप्नु पर्नेछ। उसलाई बचाइनेछ तर ऊ आगोबाट फुत्के झैं हुनेछ। तिमीहरूले बुझ्नु पर्छ कि तिमीहरू परमेश्वरका मन्दिर हौ। तिमीहरूभित्र परमेश्वरको आत्माले बास गर्छ। यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यस व्यक्तिलाई नष्ट गर्नु हुनेछ। किनभने परमेश्वरको मन्दिर पवित्र हुन्छ। तिमीहरू स्वयं परमेश्वरको मन्दिर हौ। कसैले आफैंलाई धोका नदेओस्। यदि तिमीहरू मध्ये कसैले यस संसारमा आफूलाई ज्ञानी सम्झन्छ भने मूर्ख बन्नु पर्छ तब मात्र ऊ साँच्चिकै ज्ञानी बन्न सक्छ। किनभने परमेश्वर समक्ष यो संसारको ज्ञान मूर्खता हो। धर्म शास्त्रमा यस्तो लेखिएको छ। “उहाँले ज्ञानी व्यक्तिहरूलाई तिनीहरूकै आफ्नो चलाकीमा फसाउनु हुन्छ।” धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ “परमेश्वर ज्ञानी व्यक्तिको विचार बुझ्न हुन्छ। उहाँले जान्नु हुन्छ कि तिनीहरूको विचार बेकामे हो।” यसैले तिमीहरूले मानिसहरूको गर्व गर्नु पर्दैन। किनभने सबै थोक तिमीहरूकै हो पावल, अपोल्लोस र केफासः संसार, जीवन, मृत्यु, वर्तमान, भविष्य यी सबै तिमीहरूकै हुन्। अनि तिमीहरू ख्रीष्टका हौ र ख्रीष्ट परमेश्वरका हुनुहुन्छ।

शेयर गर्नुहोस्
१ कोरिन्थी 3 पढ्नुहोस्

१ कोरिन्थी 3:10-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमेश्‍वरको अनुग्रहले गर्दा मैले सिपालु मूल कर्मीले झैँ जग हाल्‍न पाएँ, अनि अरूले चाहिँ यसमाथि घर बनाउँदछन्। घर बनाउने हरेकले कसरी बनाउनुपर्ने हो, राम्ररी होश राख्‍नुपर्छ किनभने परमेश्‍वरले हाल्‍नुभएको एउटै जग येशू ख्रीष्‍ट नै हुनुहुन्‍छ। कसैले अरू कुनै जग हाल्‍न सक्‍तैन। यसै जगमाथि कसैले सुन-चाँदी वा धेरै-धेरै मोल पर्ने रत्‍नहरू हालेर बनाउँदैजालान्। कतिले चाहिँ काठ, खर वा परालले यो घर बनाउलान्। सबै मानिसको राम्रो-नराम्रो काम परमेश्‍वरले न्‍याय गर्नुहुने दिनमा जाँचिनेछ किनभने त्‍यस दिन तिनीहरूले गरेको काम कस्‍तो रहेछ, आगोमा हालेर जाँचेर हेरिनेछ। त्‍यस जगमा बनाउने मानिसको काम आगोमा हाल्‍दा खरानी भएन भने उसले इनाम पाउनेछ। यदि कोही मानिसको काम जल्‍यो भने उसले त्‍यो गुमाउनेछ तर आगोबाट उम्‍केझैँ ऊ आफैं त बचाइनेछ। तिमीहरू परमेश्‍वरका मन्‍दिर हौ अनि परमेश्‍वरका आत्‍मा नै तिमीहरूभित्र बस्‍नुहुन्‍छ। के यो कुरा तिमीहरूलाई थाहा छैन? यदि कसैले परमेश्‍वरको मन्‍दिर बिगार्छ भने परमेश्‍वरले नै उसलाई नाश गर्नुहुनेछ किनभने परमेश्‍वरको मन्‍दिर पवित्र छ अनि त्‍यो मन्‍दिरचाहिँ तिमीहरू नै हौ। कसैले आफैंलाई धोखा नदेओस्। तिमीहरूका बीचमा कोही यस युगको जान्‍ने ज्ञानी छु भन्‍ने सोच्‍दछ भने ऊ साँचो रूपले ज्ञानी हुन मूर्ख बनोस् किनभने संसारको ज्ञान परमेश्‍वरको अगाडि मूर्ख कुरा हो। धर्मशास्‍त्रमा लेखिएको छ, “परमेश्‍वरले ती ज्ञानी मानिसहरूलाई उनीहरूको चलाकीपनमा नै पक्रिनुहुन्‍छ।” फेरि अर्को ठाउँमा धर्मशास्‍त्रले भन्‍छ, “ज्ञानीहरूको विचार काम लाग्‍नेछैन भनी प्रभुलाई थाहा छ।” त्‍यसो हुँदा कसैले मानिसले गर्न सक्‍ने काममा घमण्‍ड नगरोस्। खासमा सबै कुरा तिमीहरूकै हुन्, पावल, अपोल्‍लोस र पत्रुस, संसार, जीवन र मृत्‍यु, अहिलेको समय, पछिको समय सबै तिमीहरूकै हुन् र तिमीहरूचाहिँ ख्रीष्‍टका अनि ख्रीष्‍टचाहिँ परमेश्‍वरका हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
१ कोरिन्थी 3 पढ्नुहोस्