YouVersion लोगो
खोज आइकन

प्रकाश 8:6-13

प्रकाश 8:6-13 सरल नेपाली

त्‍यसपछि ती सातवटा तुरही हुने सात जना स्‍वर्गदूत तुरही फुक्‍न तयार भए। पहिलो स्‍वर्गदूतले तुरही फुके अनि रगतसित मिसिएको असिना र आगो पृथ्‍वीमा बर्सियो। यसले गर्दा पृथ्‍वीको तेस्रो भाग, रूखहरूको तेस्रो भाग र सबै हरिया घाँसको तेस्रो भाग डढ्यो। यसपछि दोस्रो स्‍वर्गदूतले आफ्‍नो तुरही फुके र आगो लागेको पर्वतजस्‍तो देखिने केही कुरा समुद्रमा फालियो अनि समुद्रको तेस्रो भाग रगतै भयो। समुद्रको तेस्रो भागका सबै जीवित प्राणीहरू मरे र जहाजहरूको तेस्रो भाग पनि नष्‍ट भयो। यसपछि तेस्रो स्‍वर्गदूतले आफ्‍नो तुरही फुके र आकाशबाट राँकोजस्‍तो जलिरहेको एउटा ठूलो तारा खस्‍यो। त्‍योचाहिँ नदीहरूको तेस्रो भाग र पानीको मुहानहरूमा खस्‍यो। त्‍यो ताराको नाउँ “तिक्‍तता” भनियो र त्‍यसले पानीको तेस्रो भाग सबै तीतो बनायो र त्‍यो तीतो पानी खाएर धेरै मानिसहरू मरे। त्‍यसपछि चौथो स्‍वर्गदूतले आफ्‍नो तुरही फुके अनि घाम, जून र ताराहरूको तीन भागको एक भागमाथि प्रहार पर्‍यो र तिनीहरूको एक तिहाइ ज्‍योति हरायो। यसरी दिन र रातको एक तिहाइ भाग अँध्‍यारो रहन्‍थ्‍यो। त्‍यसपछि मैले हेरें र आकाशमा उडिरहेको एउटा ठूलो गरुडले यसो भनेको मैले सुनें, “हाय! कस्‍तो डरको कुरा! किनभने बाँकी रहेका तीन स्‍वर्गदूतले आफ्‍ना-आफ्‍ना तुरही फुकेको आवाज निस्‍कँदा पृथ्‍वीमा मानिसहरूलाई कस्‍तो विपद् आइपर्ने हो?”

प्रकाश 8 पढ्नुहोस्