YouVersion लोगो
खोज आइकन

प्रकाश 8:6-13

प्रकाश 8:6-13 NNRV

ती सात वटा तुरही हुने सातै स्‍वर्गदूत तुरही फुक्‍न तयारी भए। पहिलो स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र रगतसँग मिसिएको असिना र आगो आइहाल्‍यो, र ती पृथ्‍वीमा बर्सिन लाग्‍यो। अनि पृथ्‍वीको एक तिहाइ भाग, रूखहरूको एक तिहाइ भाग र सबै हरिया घाँसहरू डढ़िहाले। दोस्रो स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र आगोले जलिरहेको एउटा ठूलो पहाड़जस्‍तो समुद्रमा फालियो, र समुद्रको एक तिहाइ भाग रगत बन्‍यो। अनि समुद्रमा भएका जीवित प्राणीको एक तिहाइ भाग मरे, र जहाजहरूको एक तिहाइ भाग नष्‍ट भए। तेस्रो स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र आकाशबाट बल्‍दो राँकोझैँ एउटा ठूलो तारा खस्‍यो, र खोलाहरूको एक तिहाइ भाग र पानीहरूका मुहानहरूमा त्‍यो खस्‍यो। त्‍यस ताराको नाउँ “ऐरेलु” हो, र त्‍यसले गर्दा पानीको एक तिहाइ भाग तीतो भयो, र पानी तीतो भएको हुनाले धेरै मानिसहरू मरे। चौथो स्‍वर्गदूतले आफ्‍नो तुरही फुके, र सूर्यको एक तिहाइ भागमाथि प्रहार गरियो, र चन्‍द्रमाको एक तिहाइ भागमाथि र ताराहरूको एक तिहाइ भागमाथि पनि प्रहार भयो, र तिनीहरूका प्रकाशको एक तिहाइ भागलाई अन्‍धकारले छोप्‍यो। तब दिनको एक तिहाइ ज्‍योतिविहीन भयो, त्‍यसरी नै रातको एक तिहाइ पनि। मैले हेरें, र मध्‍य आकाशमा उड़िरहेको एउटा गरुड यसो भन्‍दै चर्को सोरले कराएको सुनें, “फुक्‍न बाँकी रहेका तीन स्‍वर्गदूतका अरू तुरहीका आवाजको कारणले पृथ्‍वीमा वास गर्नेहरूलाई धिक्‍कार! धिक्‍कार! धिक्‍कार!”