तब म पवित्र आत्माले भरपूर भएँ र स्वर्गदूतले मलाई उजाड-स्थानमा लगे। रातो जन्तुमाथि चढेकी एउटी स्त्री मैले त्यहाँ देखें। त्यस जनावरका सात टाउका र दश वटा सिङ थिए र परमेश्वरलाई अपमान गर्ने नाउँहरू त्यसको जिउमा सबैतिर लेखिएको थियो। त्यस स्त्रीले बैजनी र रातो चहकिलो पोशाक लाएकी थिई र सुन, बहुमूल्य मणि र मोतीहरूका गहनाहरूले जिउभरि सिँगारिएकी थिई। त्यसले हातमा सुनको एउटा बटुका समाइरहेकी थिई। त्यो बटुकाचाहिँ त्यसको व्यभिचारका अनेक फोहोर र घिनलाग्दा कुराले भरिएको थियो। एउटा गुप्त अर्थ भएको नाउँ त्यसको निधारमा लेखिएको थियो, “महा-बेबिलोन, संसारका सबै वेश्या र घिनलाग्दा काम गर्नेहरूकी आमा!” परमेश्वरका भक्त र येशूका विश्वासी साक्षीहरूका रगत पिएर त्यो स्त्री मातेकी थिई। त्यसलाई देखेर म छक्क परें। “तिमी किन छक्क पर्यौ?” स्वर्गदूतले मलाई सोधे। “त्यो स्त्री र त्यसलाई बोक्ने सात टाउका र दश सिङ भएको जनावरको रहस्यको अर्थ म तिमीलाई बताउँछु। त्यो जनावर पहिले जिउँदो थियो तर अहिलेचाहिँ छैन। त्यो गहिरो भड्खालाबाट निस्कनेछ र नष्ट हुनेछ। संसारको सृष्टि पहिले जीवनको पुस्तकमा नाउँ नलेखिएका संसारका मानिसहरूले त्यो जनावर देखेर अचम्म मान्नेछन् किनभने त्यो जिउँदो थियो, अहिले मरेको छ। तर त्यो फेरि देखापर्नेछ। “यो कुरा बुझ्न ज्ञान र बुद्धि चाहिन्छ। जनावरका सात टाउकाचाहिँ सात डाँडा हुन्, जसमा त्यो स्त्री बसेकी छे। ती सातै राजा पनि हुन्, जसका पाँच जना पतन भइसकेका छन्। एक जना छँदैछ र एक जना आउन बाँकी छ। उसले आएर थोरै समयको लागि मात्र राज्य गर्नेछ। अनि त्यो जनावर, जो पहिले जिउँदो थियो तर अब छैन, त्यो आठौँ राजा हो तापनि त्यो सातमध्ये पनि एक हो र त्यसको नाश हुनेछ। “तिमीले देखेका दश सिङचाहिँ दश राजाहरू हुन्, तर उनीहरूले चाहिँ राज्य गर्न सुरु गरेका छैनन्। उनीहरूले एक-एक घण्टा गरेर त्यो जनावरसित राज्य गर्ने अधिकार पाउनेछन्। यी दश राजाको एउटै उद्देश्य छ र उनीहरू सबैले आफ्ना शक्ति र अधिकार त्यो जनावरलाई दिन्छन्। उनीहरू थुमाको विरोधमा लड्नेछन्, तर थुमाले आफ्ना बोलाइएका, छानिएका र विश्वासी भक्तहरू लिएर उनीहरूलाई जित्नुहुनेछ किनभने उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ।”
प्रकाश 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 17:3-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू