अनि तिनले मलाई आत्मामा बोकेर एउटा उजाड-स्थानभित्र लगे। त्यहाँ सात वटा शिर र दश वटा सीङ भएको ईश्वर-निन्दाका नाउँहरूले भरिपूर्ण भएको चहकिलो रातो रङ्गको पशुमाथि बसेकी एउटी स्त्रीलाई मैले देखें। त्यस स्त्रीले बैजनी र चहकिलो रातो लुगा लाएकी थिई, अनि त्यो सुन, रत्न र मोतीहरूले सिङ्गारिएकी थिई, र घिनलाग्दा कुरा, अर्थात् त्यसका व्यभिचारका अशुद्ध कुराहरूले भरिएको एउटा सुनको प्याला हातमा लिएकी थिई। त्यसको निधारमा एउटा नाउँ लेखिएको थियो: रहस्य पृथ्वीका वेश्याहरू र घिनलाग्दा कुराहरूकी आमा महान् बेबिलोन। अनि मैले त्यस स्त्रीलाई सन्तहरूको रगत र येशूका शहीदहरूको रगत पिएर मातेकी देखें। त्यसलाई देखेर म साह्रै अचम्मित भएँ। तब ती स्वर्गदूतले मलाई भने, “तिमी किन अचम्म मान्दछौ? त्यो स्त्री र त्यसलाई बोक्ने सात शिर र दश सीङ भएको पशुको रहस्य म तिमीलाई बताउनेछु। तिमीले देखेको त्यो पशु एक समय थियो, तर अब छैन, र सर्वनाशमा जान अतल कुण्डबाट त्यो माथि उक्लन लागेको छ। अनि पृथ्वीका बासिन्दाहरू, जसका नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्, तिनीहरू त्यस पशुलाई देखेर अचम्म मान्नेछन्, किनकि त्यो एक समय थियो, तर अब छैन र पछि आउनेछ। “बुद्धिमत्ता यसैमा छ: ती सात शिर सात पर्वतहरू हुन्, जसमाथि त्यो स्त्री बसेकी छे। तिनीहरू सात राजाहरू पनि हुन्— पाँच जनाको पतन भइसकेको छ, एउटाचाहिँ छँदैछ, र अर्को अझै आएको छैन। त्यो आएपछि केही समयको लागि मात्र रहनुपर्छ। त्यो पशु, जो एक समय थियो, तर अब छैन, त्योचाहिँ आठौँ हो। सातमध्येको त्यो एक हो, तर त्यसको सर्वनाश हुनेछ। “तिमीले देखेका ती दश वटा सीङचाहिँ दश राजाहरू हुन्, जसले अहिलेसम्म राजकीय शक्ति पाएका छैनन्। तर तिनीहरूले त्यस पशुसँग छोटो समयको निम्ति राजाकै अधिकार पाउनेछन्। तिनीहरू एकै मनका छन्, र तिनीहरूले आफ्नो शक्ति र अधिकार त्यस पशुलाई सुम्पनेछन्। तिनीहरूले थुमाको विरुद्धमा युद्ध गर्नेछन्, र थुमाले तिनीहरूलाई जित्नुहुनेछ, किनकि उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ। उहाँको साथमा हुनेहरूचाहिँ बोलाइएका, चुनिएका र विश्वासयोग्य हुन्।”
प्रकाश 17 पढ्नुहोस्
सुन्नुहोस् प्रकाश 17
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 17:3-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू