प्रकाश 17:3-14
प्रकाश 17:3-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब त्यस स्वर्गदूतले मलाई आत्माद्वारा एउटा उजाडस्थानमा लगे। त्यहाँ मैले एउटी स्त्रीलाई ईश्वरनिन्दाहरूको नामले भरिएको, सात शिर र दश सिङहरू भएको एउटा रातो पशुमाथि बसिरहेकी देखेँ। त्यस स्त्रीले बैजनी र चहकिलो रातो वस्त्र पहिरेकी थिई; अनि सुन, रत्न र मोतीहरूले सिँगारिएकी थिई। त्यसले हातमा घिनलाग्दा कुरा अर्थात् त्यसका व्यभिचारका अशुद्ध कुराहरूले भरिएको एउटा सुनको प्याला पक्रिएकी थिई। त्यसको निधारमा लेखिएको नाम एउटा रहस्य थियो: पृथ्वीका वेश्याहरू र घृणित कुराहरूकी आमा, महान् बेबिलोन। मैले त्यस स्त्रीलाई सन्तहरूको रगतले अर्थात् येशूको गवाही दिनेहरूका रगतले मात्तिएकी देखेँ। त्यसलाई देखेर म साह्रै अचम्मित भएँ। तब ती स्वर्गदूतले मलाई भने: “तिमी किन चकित पर्छौ? म तिमीलाई त्यस स्त्री र त्यसलाई बोकेर हिँड्ने त्यो सात शिर र दश सिङ भएको पशुको रहस्य बताइदिनेछु। तिमीले देखेको त्यो पशु कुनै समय थियो, तर अहिले छैन, र विनाशमा जानलाई अतल कुण्डबाट माथि निस्केर आउनेछ। संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा नाम नहुने पृथ्वीका बासिन्दाहरूले त्यस पशुलाई देखेर अचम्म मान्नेछन्; किनकि त्यो कुनै समय थियो, अब छैन, तर फेरि पछि आउनेछ। “बुद्धि भएको दिमाग यस्तै बेला चाहिने हो। ती सात शिरहरू सात वटा पर्वतहरू हुन्, जसमाथि त्यो स्त्री बस्छे। तिनीहरू सात जना राजाहरू पनि हुन्। पाँच जनाको पतन भइसकेको छ, एक जना छँदैछ, अर्कोचाहिँ अझ आइपुगेको छैन; तर जब त्यो आउँछ, उसको शासन केही समयको लागि रहनुपर्छ। त्यो रातो पशु, जो एक समय थियो, र अहिले छैन, त्योचाहिँ आठौँ राजा हो। त्यो सातमध्येको एक जना हो, र त्यसको सर्वनाश हुनेछ। “तिमीले देखेका ती दश सिङहरू दश राजाहरू हुन्, जसले अझसम्म राज्य पाएका छैनन्, तर तिनीहरूले त्यस पशुसित एक घडीको निम्ति राजाको झैँ अख्तियार पाउनेछन्। तिनीहरूको लक्ष्य एउटै हुनेछ; अनि तिनीहरूले आफ्ना शक्ति र अख्तियार त्यस पशुलाई दिनेछन्। तिनीहरूले थुमाको विरुद्धमा लडाइँ गर्नेछन्, तर थुमाले तिनीहरूलाई जित्नुहुनेछ; किनकि उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ; अनि उहाँसित उहाँद्वारा बोलाइएका र चुनिएका विश्वासयोग्य अनुयायीहरू हुनेछन्।”
प्रकाश 17:3-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि तिनले मलाई आत्मामा बोकेर एउटा उजाड-स्थानभित्र लगे। त्यहाँ सात वटा शिर र दश वटा सीङ भएको ईश्वर-निन्दाका नाउँहरूले भरिपूर्ण भएको चहकिलो रातो रङ्गको पशुमाथि बसेकी एउटी स्त्रीलाई मैले देखें। त्यस स्त्रीले बैजनी र चहकिलो रातो लुगा लाएकी थिई, अनि त्यो सुन, रत्न र मोतीहरूले सिङ्गारिएकी थिई, र घिनलाग्दा कुरा, अर्थात् त्यसका व्यभिचारका अशुद्ध कुराहरूले भरिएको एउटा सुनको प्याला हातमा लिएकी थिई। त्यसको निधारमा एउटा नाउँ लेखिएको थियो: रहस्य पृथ्वीका वेश्याहरू र घिनलाग्दा कुराहरूकी आमा महान् बेबिलोन। अनि मैले त्यस स्त्रीलाई सन्तहरूको रगत र येशूका शहीदहरूको रगत पिएर मातेकी देखें। त्यसलाई देखेर म साह्रै अचम्मित भएँ। तब ती स्वर्गदूतले मलाई भने, “तिमी किन अचम्म मान्दछौ? त्यो स्त्री र त्यसलाई बोक्ने सात शिर र दश सीङ भएको पशुको रहस्य म तिमीलाई बताउनेछु। तिमीले देखेको त्यो पशु एक समय थियो, तर अब छैन, र सर्वनाशमा जान अतल कुण्डबाट त्यो माथि उक्लन लागेको छ। अनि पृथ्वीका बासिन्दाहरू, जसका नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्, तिनीहरू त्यस पशुलाई देखेर अचम्म मान्नेछन्, किनकि त्यो एक समय थियो, तर अब छैन र पछि आउनेछ। “बुद्धिमत्ता यसैमा छ: ती सात शिर सात पर्वतहरू हुन्, जसमाथि त्यो स्त्री बसेकी छे। तिनीहरू सात राजाहरू पनि हुन्— पाँच जनाको पतन भइसकेको छ, एउटाचाहिँ छँदैछ, र अर्को अझै आएको छैन। त्यो आएपछि केही समयको लागि मात्र रहनुपर्छ। त्यो पशु, जो एक समय थियो, तर अब छैन, त्योचाहिँ आठौँ हो। सातमध्येको त्यो एक हो, तर त्यसको सर्वनाश हुनेछ। “तिमीले देखेका ती दश वटा सीङचाहिँ दश राजाहरू हुन्, जसले अहिलेसम्म राजकीय शक्ति पाएका छैनन्। तर तिनीहरूले त्यस पशुसँग छोटो समयको निम्ति राजाकै अधिकार पाउनेछन्। तिनीहरू एकै मनका छन्, र तिनीहरूले आफ्नो शक्ति र अधिकार त्यस पशुलाई सुम्पनेछन्। तिनीहरूले थुमाको विरुद्धमा युद्ध गर्नेछन्, र थुमाले तिनीहरूलाई जित्नुहुनेछ, किनकि उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ। उहाँको साथमा हुनेहरूचाहिँ बोलाइएका, चुनिएका र विश्वासयोग्य हुन्।”
प्रकाश 17:3-14 पवित्र बाइबल (NERV)
तब त्यो स्वर्गदूतले मलाई बोकेर मरुभूमिमा आत्माको नजिक लगे। त्यहाँ मैले एउटी स्त्रीलाई रातो पशुमाथि बसेकी पाँए। त्यो पशु जुन परमेश्वरको वदनामी लेखिएका नाउँहरूले ढाकिएको थियो। त्यो पशुका सातवटा टाउँको अनि दशवटा सीङ्गहरू थिए। त्यो स्त्रीले बैजनी अनि रातो रङ्गको बस्त्र पहिरेकी थिई। त्यो उसले लाएका सुन, रत्न अनि मोतीहरूमा चम्किरहेकी थिई। उसको हातमा एक सुनौलो प्याला थियो। त्यो प्याला भयानक वस्तुहरू अनि त्यस स्त्रीको अशुद्ध यौन-पापले भरिएको थियो। उसको निधारमा उपाधि लेखिएको थियो। त्यो उपाधिको गुप्ती अर्थ थियो: महान बेविलोन वेश्याहरूकी आमा अनि पृथ्वीका दुष्ट कुराहरूको जननी। मैले देखें कि त्यस स्त्री मातेकी थिई। उसले परमेश्वरको पवित्र मानिसहरू अनि जसले येशूमा आफ्नो विश्वास बताएका थिए तिनीहरूको रगत पिएर मातेकी थिई। जब मैले त्यस स्त्रीलाई देखें, म पुरै आश्चर्य चकित भएँ। तब त्यो स्वर्गदूतले मलाई भने, “तिमी किन आश्चर्य चकित भयौ? म तिमीलाई यस स्त्रीको अनि ऊ चढेको पशुको जसको सातवटा टाउको अनि दशवटा सींङ छ गुप्ती अर्थ बताउनेछु। त्यो पशु जसलाई तिमीले देख्यौ, एक समयमा जीवित थियो। तर अहिले त्यो पशु जीवित छैन। तर त्यो पशु जीवित हुनेछ अनि अतल खाल्डोबाट निस्केर नष्ट हुनलाई जानेछ। पृथ्वीमा बस्ने मानिसहरू, आश्चर्य चकित हुनेछन्। जब तिनीहरूले त्यो पशु देख्छन् तिनीहरू आश्चर्य चकित हुनेछन् किनभने एक समयमा त्यो पशु जीवित थियो, अहिले जीवित छैन, तर त्यो फेरि आउनेछ। यी मानिसहरू ती हुन् जसका नाउँहरू संसारको सृष्टि भएदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्। “यसलाई बुझ्नका निम्ति तिमीलाई ज्ञानपूर्ण हृदयको खाँचो छ। त्यो पशुमा भएका सात टाउकाहरू सातवटा पहाडहरू हुन् जहाँ त्यो स्त्री बस्छे। तिनीहरू सात राजाहरू पनि हुन्। पाँचजना राजाहरू मरिसकेकाछन्। एकजना राजा आहिले जीवित छ। अनि अन्तिम राजा आइरहेकाछन्। जब आउँछन्, छोटो समय मात्र रहनेछन्। त्यो पशु जो एक समयमा जीवित थियो, तर अहिले मरेको छ, त्यो आठौं राजा हो। त्यो आठौं राजा पनि पहिलो सात राजाहरूकै मध्येको हो र त्यो नष्ट हुनको लागि जानेछ। “तिमीले देखेका दशवटा सीङ्गहरू दश राजाहरू हुन्। यी दश राजाहरूले अहिलेसम्म राज्य पाएका छैनन्। तर तिनीहरूले एक घण्टाको निम्ति त्यो पशुसित शासन गर्ने अधिकार प्राप्त गर्नेछन्। यी सबै दश राजाहरूको एउटै उद्देश्य छ। अनि तिनीहरूले आफ्नो शक्ति अनि अधिकार त्यो पशुलाई दिनेछन्। तिनीहरूले परमेश्वरको थुमासित लडाईं गर्नेछन्। तर परमेश्वरको थुमाले तिनीहरूलाई परास्त गर्नेछ, किनभने जहाँ प्रभुहरूका परमप्रभु अनि राजाहरूका राजा हुनुहुन्छ। उहाँले तिनीहरूलाई उहाँद्वारा चुनिएका अनि बोलाइएका विश्वासी चेलाहरूद्वारा परास्त गर्नुहुनेछ।”
प्रकाश 17:3-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब म पवित्र आत्माले भरपूर भएँ र स्वर्गदूतले मलाई उजाड-स्थानमा लगे। रातो जन्तुमाथि चढेकी एउटी स्त्री मैले त्यहाँ देखें। त्यस जनावरका सात टाउका र दश वटा सिङ थिए र परमेश्वरलाई अपमान गर्ने नाउँहरू त्यसको जिउमा सबैतिर लेखिएको थियो। त्यस स्त्रीले बैजनी र रातो चहकिलो पोशाक लाएकी थिई र सुन, बहुमूल्य मणि र मोतीहरूका गहनाहरूले जिउभरि सिँगारिएकी थिई। त्यसले हातमा सुनको एउटा बटुका समाइरहेकी थिई। त्यो बटुकाचाहिँ त्यसको व्यभिचारका अनेक फोहोर र घिनलाग्दा कुराले भरिएको थियो। एउटा गुप्त अर्थ भएको नाउँ त्यसको निधारमा लेखिएको थियो, “महा-बेबिलोन, संसारका सबै वेश्या र घिनलाग्दा काम गर्नेहरूकी आमा!” परमेश्वरका भक्त र येशूका विश्वासी साक्षीहरूका रगत पिएर त्यो स्त्री मातेकी थिई। त्यसलाई देखेर म छक्क परें। “तिमी किन छक्क पर्यौ?” स्वर्गदूतले मलाई सोधे। “त्यो स्त्री र त्यसलाई बोक्ने सात टाउका र दश सिङ भएको जनावरको रहस्यको अर्थ म तिमीलाई बताउँछु। त्यो जनावर पहिले जिउँदो थियो तर अहिलेचाहिँ छैन। त्यो गहिरो भड्खालाबाट निस्कनेछ र नष्ट हुनेछ। संसारको सृष्टि पहिले जीवनको पुस्तकमा नाउँ नलेखिएका संसारका मानिसहरूले त्यो जनावर देखेर अचम्म मान्नेछन् किनभने त्यो जिउँदो थियो, अहिले मरेको छ। तर त्यो फेरि देखापर्नेछ। “यो कुरा बुझ्न ज्ञान र बुद्धि चाहिन्छ। जनावरका सात टाउकाचाहिँ सात डाँडा हुन्, जसमा त्यो स्त्री बसेकी छे। ती सातै राजा पनि हुन्, जसका पाँच जना पतन भइसकेका छन्। एक जना छँदैछ र एक जना आउन बाँकी छ। उसले आएर थोरै समयको लागि मात्र राज्य गर्नेछ। अनि त्यो जनावर, जो पहिले जिउँदो थियो तर अब छैन, त्यो आठौँ राजा हो तापनि त्यो सातमध्ये पनि एक हो र त्यसको नाश हुनेछ। “तिमीले देखेका दश सिङचाहिँ दश राजाहरू हुन्, तर उनीहरूले चाहिँ राज्य गर्न सुरु गरेका छैनन्। उनीहरूले एक-एक घण्टा गरेर त्यो जनावरसित राज्य गर्ने अधिकार पाउनेछन्। यी दश राजाको एउटै उद्देश्य छ र उनीहरू सबैले आफ्ना शक्ति र अधिकार त्यो जनावरलाई दिन्छन्। उनीहरू थुमाको विरोधमा लड्नेछन्, तर थुमाले आफ्ना बोलाइएका, छानिएका र विश्वासी भक्तहरू लिएर उनीहरूलाई जित्नुहुनेछ किनभने उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ।”