YouVersion लोगो
खोज आइकन

प्रकाश 17

17
पशुमाथि बसेकी स्त्री
1सातओटा कचौराहरू भएका सात स्वर्गदूतहरूमध्ये एकजना आएर मलाई भने, “आऊ, म तिमीलाई धेरै पानीहरूमाथि बस्‍ने महा वेश्याको दण्ड देखाइदिनेछु। 2त्यससित पृथ्वीका राजाहरूले व्यभिचार गरे अनि त्यसको व्यभिचारको मद्यले पृथ्वीका बासिन्दाहरू मात्तिए।”
3तब त्यस स्वर्गदूतले मलाई आत्माद्वारा एउटा उजाडस्थानमा लगे। त्यहाँ मैले एउटी स्त्रीलाई ईश्‍वरनिन्दाहरूको नामले भरिएको, अनि सात शिर र दश सिङहरू भएको एउटा रातो पशुमाथि बसिरहेकी देखें। 4त्यस स्त्रीले बैजनी र चहकिलो रातो वस्त्र पहिरेकी थिई, अनि सुन, रत्न र मोतीहरूले सिँगारिएकी थिई। त्यसले हातमा घिनलाग्दा कुरा अर्थात् त्यसका व्यभिचारका अशुद्ध कुराहरूले भरिएको एउटा सुनको प्याला पक्रिएकी थिई। 5त्यसको निधारमा लेखिएको नाम एउटा रहस्य थियो:
पृथ्वीका वेश्याहरू
र घृणित कुराहरूकी आमा,
महान् बेबिलोन।
6मैले त्यस स्त्रीलाई सन्तहरूको रगतले, अर्थात् येशूको गवाही दिनेहरूका रगतले मात्तिएकी देखें।
त्यसलाई देखेर म साह्रै अचम्मित भएँ। 7तब ती स्वर्गदूतले मलाई भने: “तिमी किन चकित पर्छौ? म तिमीलाई त्यस स्त्रीको अनि त्यो बसेको सात शिर र दश सिङ भएको पशुको रहस्य बताइदिनेछु। 8त्यो पशु, जुन तिमीले देख्यौ, कुनै समय थियो, अहिले छैन, अनि विनाशमा जानलाई अतल कुण्डबाट माथि निस्केर आउनेछ। संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा नाउँ नहुने पृथ्वीका बासिन्दाहरूले त्यस पशुलाई देखेर अचम्म मान्‍नेछन्, किनकि त्यो कुनै समय थियो, तर अब छैन र पछि आउनेछ।
9“बुद्धि भएको दिमाग यस्तै बेला चाहिने हो। ती सात शिरहरू सातओटा पर्वतहरू हुन्, जसमाथि त्यो स्त्री बस्छे। 10तिनीहरू सात जना राजाहरू पनि हुन्। पाँचजनाको पतन भइसकेको छ, एकजना छँदैछ, अर्कोचाहिँ अझ आइपुगेको छैन; तर जब त्यो आउँछ, उसको शासन केही समयको लागि रहनुपर्छ। 11त्यो रातो पशु, जो एक समय थियो, र अहिले छैन, त्योचाहिँ एकजना आठौं राजा हो। त्यो सातमध्येको एकजना हो, र त्यसको सर्वनाश हुनेछ।
12“तिमीले देखेका ती दश सिङहरू दश राजाहरू हुन्, जसले अझसम्म राज्य पाएका छैनन्, तर तिनीहरूले त्यस पशुसित एक घडीको निम्ति राजाको झैं अख्तियार पाउनेछन्। 13तिनीहरूका लक्ष्य एउटै हुनेछ; अनि तिनीहरूले आफ्ना शक्‍ति र अख्तियार त्यस पशुलाई दिनेछन्। 14तिनीहरूले थुमाको विरुद्धमा लडाइँ गर्नेछन्, तर थुमाले तिनीहरूलाई जित्नुहुनेछ; किनकि उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ; अनि उहाँसित उहाँद्वारा बोलाइएका र चुनिएका विश्‍वासयोग्य अनुयायीहरू हुनेछन्।”
15तब स्वर्गदूतले मलाई भने, “तिमीले देखेका ती पानीहरू, जसमाथि त्यो वेश्या बस्छे, त्यो भनेको मानिस जातिहरू, भीडहरू, राष्ट्रहरू र भाषाहरू हुन्। 16तिमीले देखेको त्यो पशु र दश सिङहरूले त्यस वेश्यालाई घृणा गर्नेछन्। तिनीहरूले त्यसलाई नष्‍ट गर्नेछन्, नाङ्गो पार्नेछन्; तिनीहरूले त्यसको मासु खानेछन् र आगोले जलाइदिनेछन्। 17उहाँको वचन पूरा नहोउन्जेल तिनीहरूले त्यस पशुलाई आफ्ना राजकीय अख्तियार दिऊन् भनी परमेश्‍वरले तिनीहरूका हृदयमा हालिदिनुभयो। यो नै परमेश्‍वरको उद्देश्य पूरा हुनु हो। 18तिमीले देखेकी स्त्रीचाहिँ पृथ्वीका राजाहरूमाथि शासन गर्ने महानगरी हो।”

अहिले सेलेक्ट गरिएको:

प्रकाश 17: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्