“म आदि र अन्त हुँ,” भनेर सर्वशक्तिमान् परमप्रभु परमेश्वरले भन्नुहुन्छ– उहाँ हुनुहुन्छ, हुनुहुन्थ्यो र आउनुहुनेछ। म तिमीहरूका दाजु यूहन्ना हुँ। अनि येशूमाथि विश्वास गरेकोले तिमीहरूसँग मैले पनि धीरजी भएर दु:ख सहेको छु, जुन दु:खचाहिँ उहाँको राज्यमा हुनेहरूमाथि आइपर्छ। परमेश्वरको वचन र येशू ख्रीष्टले प्रकाश पार्नुभएको सत्यलाई प्रचार गरेकोले म कैदी भएर पत्मोस टापुमा थिएँ। प्रभुको दिनमा म आत्माले भरिपूर्ण भएँ र मेरो पछिल्तिर एउटा तुरहीको जस्तो चर्को आवाजमा कोही बोलेको मैले सुनें। यो आवाजले यसो भन्यो, “जे-जति तिमी देख्छौ, एउटा पुस्तकमा लेखेर यी सातवटा मण्डलीलाई पठाइदेओ अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियामा।” मसित बोल्ने को हो भनी मैले फर्केर हेरें। मैले बत्ती राख्ने सात वटा सुनका सामदान देखें। मैले सामदानहरूका बीचमा पाउसम्मै पुग्ने लामो पोशाक लाएका र छातीमा सुनको पेटी बाँधेका एक जना मानिसको पुत्रजस्तो देखें। उहाँको केश ऊन वा हिँऊजस्तो सेतो थियो र उहाँका आँखा आगोका ज्वालाजस्ता बलेका थिए। उहाँका पाउ आगोको भट्टीमा खारेर टल्काएको काँसाजस्तै चम्केका थिए र उहाँको आवाजचाहिँ छाँगाको गर्जनजस्तो थियो। दाहिने हातमा उहाँले सातवटा तारा समात्नुभएको थियो र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो। उहाँको अनुहार दिउँसोको घामजस्तै चम्किरहेको थियो। उहाँलाई देख्दा मरेसमान भई म उहाँको पाउमा लडें। मेरो टाउकोमा आफ्नो दाहिने हात राख्दै उहाँले भन्नुभयो, “नडराऊ, म आदि र अन्त हुँ। जिउँदो हुनेचाहिँ म नै हुँ। म मरेको थिएँ, तर अब सधैँको लागि जिउँदो छु, मेरो हातमा मृत्यु र पातालका साँचाहरू छन्। यसकारण तिमीले जे देख्छौ, लेख। अहिले घटिरहेका कुराहरू र पछि हुने दुवै कुराहरू लेख। तिमीले मेरो दाहिने हातमा भएका कुराहरू देखेका सातवटा ताराहरू र सुनका सातवटा सामदानको रहस्यचाहिँ यो हो कि सुनका यी सात वटा सामदानचाहिँ सात मण्डली हो र सात ताराचाहिँ यी सात मण्डलीका हेरचाह गर्ने दूतहरू हुन्।
प्रकाश 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 1:8-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू