“अल्फा र ओमेगा म नै हुँ,” सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो आउनुहुनेछ।
म यूहन्ना, तिमीहरूका दाजु, तिमीहरूका साथसाथै येशूमा भएका कष्ट, राज्य र सहनशीलतामा सहभागी छु। परमेश्वरको वचन र येशू ख्रीष्टको गवाहीको खातिर म पत्मोस भन्ने टापूमा थिएँ। प्रभुको दिनमा म आत्मामा थिएँ, र तुरहीको जस्तो एउटा चर्को आवाज मेरो पछाडि यसो भनिरहेको मैले सुनें, “तिमी जे देख्तछौ, सो एउटा पुस्तकमा लेख, र सातै वटा मण्डलीलाई पठाऊ, अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियालाई।”
मसँग बोल्नेलाई हेरौं भनेर म पछि फर्के। फर्केर हेर्दा सात वटा सुनका सामदान र सामदानहरूका माझमा मानिसको पुत्रजस्तै पाउसम्मै पोशाक लाउनुभएको र छातीमा सुनौला चौडा फित्ता लाउनुभएको एक जनालाई मैले देखें। उहाँका शिर र केश ऊनजस्तो सेता र हिउँजस्तै सेता, र उहाँका आँखा आगोका ज्वालाजस्तै थिए। उहाँका पाउहरू आगोको भट्टीमा खारेर टल्काएका काँसाजस्ता थिए, र उहाँको सोरचाहिँ उर्लिंदो पानीहरूको आवाजजस्तै थियो। उहाँको दाहिने बाहुलीले सात वटा ताराहरू पक्रिराखेको थियो, र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो। उहाँको मुहारचाहिँ पूरा तेजमा चम्केको सूर्यजस्तै थियो।
जब मैले उहाँलाई देखें, तब म मरेतुल्य भएर उहाँका पाउमा परें। तर उहाँले आफ्नो दाहिने बाहुली यसो भनेर ममाथि राख्नुभयो, “नडराऊ, आदि र अन्त्य र जीवितचाहिँ म नै हुँ। म मरेको थिएँ। हेर, म सदासर्वदाको निम्ति जीवित छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन्। यसकारण तिमीले जे देख्छौ, र जे छ र यसपछि जे हुन आउनेछ, लेख। मेरो दाहिने हातमा तिमीले देखेका यी सात तारा र सुनका यी सात सामदानको रहस्य यो हो: सात तारा सात मण्डलीका स्वर्गदूतहरू र सात वटा सामदानचाहिँ सात मण्डलीहरू हुन्।”