YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 94:12-23

भजनसंग्रह 94:12-23 सरल नेपाली

परमप्रभु, जसलाई तपाईंले शिक्षा दिनुहुन्‍छ, जसलाई तपाईं आफ्‍ना व्‍यवस्‍था सिकाउनुहुन्‍छ, त्‍यो कति खुसी हुन्‍छ! कष्‍टका दिनदेखि जबसम्‍म दुष्‍टहरू पर्ने खाडल तयार हुन्‍न, तबसम्‍म तपाईंले उसलाई विश्राम दिनुहुन्‍छ। परमप्रभुले आफ्‍ना प्रजालाई त्‍याग्‍नुहुन्‍न, जो-जो मानिसहरू उहाँका हुन्, उहाँले तिनीहरूलाई छोड्‍नुहुन्‍न। अड्डामा न्‍याय फेरि पाइनेछ र सबै धर्मी मानिसहरूले त्‍यसको समर्थन गर्नेछन्। दुष्‍टहरूका विरुद्धमा को मसँग खडा थियो? दुष्‍कर्मीहरूको विरुद्धमा कसले मेरो साथ दियो? परमप्रभुले मेरो मद्दत गर्नुनभएको हुँदो हो ता म चाँडै सुनसान मृत्‍यु-लोकमा पुग्‍नेथिएँ। मैले भनें, “म ढल्‍दै छु,” तर हे परमप्रभु! तपाईंको अटुट प्रेमले मलाई थामिराख्‍यो। जहिले-जहिले चिन्‍ता-फिक्री मलाई आइपर्दछ, तपाईंले मलाई सान्‍त्‍वना दिनुहुन्‍छ र खुसी बनाउनुहुन्‍छ। भ्रष्‍ट न्‍यायकर्ताहरू, जसले अन्‍यायलाई न्‍याय बनाउँदछन्, जसले असल मानिसहरूका विरुद्धमा जाल गर्छन् र निर्दोषीलाई प्राण दण्‍ड दिँदछन्, तिनीहरूसँग तपाईंको कुनै सरोकार छैन। तर परमप्रभुले मलाई बचाउनुहुन्‍छ, मेरा परमेश्‍वरले मेरो रक्षा गर्नुहुन्‍छ। परमेश्‍वरले तिनीहरूलाई आफ्‍ना दुष्‍टताको लागि दण्‍ड दिनुहुनेछ, आफ्‍ना पापको लागि तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ। परमप्रभु हाम्रा परमेश्‍वरले, तिनीहरूलाई नाश गर्नुहुनेछ।

भजनसंग्रह 94 पढ्नुहोस्