भजनसंग्रह 94:12-23
भजनसंग्रह 94:12-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, त्यो मानिस धन्यको हो, जसलाई तपाईंले ताड़ना दिनुहुन्छ, र आफ्नो व्यवस्थाबाट सिकाउनुहुन्छ। त्यसलाई दु:खको दिनमा तबसम्म चैन दिनुहुन्छ, जबसम्म दुष्टहरूका निम्ति खाड़ल खनिँदैन। किनकि परमप्रभुले आफ्नो प्रजालाई फ्याँक्नुहुन्न, उहाँले आफ्नो निज उत्तराधिकारका मानिसहरूलाई त्याग्नुहुनेछैन। इन्साफ फेरि धार्मिकताको आधारमा गरिनेछ, र सबै सोझो मन भएकाहरू त्यसको पछि लाग्नेछन्। दुष्टहरूका विरुद्धमा मसँग को खड़ा हुनेछ? अधर्म गर्नेहरूका विरुद्धमा मेरो पक्षमा को उठ्नेछ? परमप्रभु मेरा सहायक नहुनुहुँदो हो त, मेरो प्राण अघि नै मृत्युको शून्यतामा वास गरिसक्नेथियो। “मेरो खुट्टा चिप्लिरहेछ” भनी जब मैले भनें, तब तपाईंको प्रेमले मलाई थाम्यो, हे परमप्रभु। जब मेरो मनमा ज्यादा फिक्री भयो, तपाईंको सान्त्वनाले मेरो प्राणलाई आनन्दित तुल्यायो। के दुष्ट शासकहरू तपाईंसँग मिल्न सक्छन्, जसले आफ्ना ऐनद्वारा विपद् ल्याउँछन्? तिनीहरू धर्मीहरूका विरुद्धमा गठबन्धन गर्छन्, र निर्दोषलाई मृत्युदण्ड दिन्छन्। तर परमप्रभु मेरो गढ़ हुनुभएको छ, र मेरा परमेश्वर मेरो शरणस्थानको चट्टान हुनुभएको छ। उहाँले तिनीहरूका पाप तिनीहरूमाथि खन्याइदिनुहुनेछ, र तिनीहरूका दुष्टताको निम्ति तिनीहरूलाई नाश गर्नुहुनेछ, परमप्रभु हाम्रा परमेश्वरले तिनीहरूलाई नाश गर्नुहुन्छ।
भजनसंग्रह 94:12-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, त्यो धन्यको हो, जसलाई तपाईंले अनुशासनमा राख्नुहुन्छ, जसलाई आफ्नो व्यवस्थाबाट सिकाउनुहुन्छ; दुष्टहरूका निम्ति खाडल नखनिएसम्म तपाईंले त्यसलाई कष्टका दिनमा आराम दिनुहुनेछ, किनकि याहवेहले आफ्ना प्रजालाई तिरस्कार गर्नुहुनेछैन। उहाँले आफ्ना उत्तराधिकारीहरूलाई त्याग्नुहुनेछैन। न्याय फेरि धार्मिकतामा स्थापित गरिनेछ, र सबै सोझो हृदय भएकाहरू त्यसको पछि लाग्नेछन्। दुष्टहरूका विरुद्धमा मसँग को उठ्नेछ? कुकर्मीहरूका विरुद्ध मेरो पक्षमा को खडा हुनेछ? याहवेहले मलाई सहायता नगर्नुभएको भए, म चाँडै मृत्युको शून्यतामा बास गर्न पुग्नेथिएँ। जब मैले भनेँ, “मेरो खुट्टा चिप्लँदैछ” तब हे याहवेह, तपाईंको अचुक प्रेमले मलाई थाम्यो। जब मेरो मनमा ज्यादै चिन्ता-फिक्री भयो, तब तपाईंको सान्त्वनाले मलाई आनन्दित तुल्यायो। के भ्रष्ट शासकहरू तपाईंसँग मिल्न सक्छन्, जसले आफ्ना उर्दीद्वारा विपत्ति ल्याउँछन्? तिनीहरू धर्मीहरूका विरुद्ध एकजुट हुन्छन्, र निर्दोषमाथि मृत्युदण्डको आज्ञा गर्छन्। तर याहवेह मेरो किल्ला हुनुभएको छ, र परमेश्वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु। उहाँले तिनीहरूका पाप तिनीहरूमाथि नै खन्याइदिनुहुनेछ, र तिनीहरूका दुष्टताको लागि तिनीहरूलाई नाश गर्नुहुनेछ; याहवेह हाम्रा परमेश्वरले तिनीहरूलाई नाश गर्नुहुनेछ।
भजनसंग्रह 94:12-23 पवित्र बाइबल (NERV)
मानिस जसलाई परमप्रभुले अनुशासनमा राख्नु भएको छ त्यो सुखी हुनेछ। परमेश्वरले त्यस मानिसलाई ठीक तरिकाले बाँच्ने बाटो बताउनु हुनेछ। हे परमेश्वर, तपाईंले त्यस मानिसलाई सहयोग गर्नु हुनेछ, जो सङ्कट आईपर्दा बिछिन्न हुँदछ। जब सम्म ती दुष्ट मानिसहरूलाई चिहानमा पुरिदैन, त्यसलाई शान्ति बस्न तपाईंले सहायता गर्नु हुनेछ। परमप्रभुले आफ्ना मानिसहरूलाई त्याग्नु हुन्न, उहाँले तिनीहरूलाई सहयोग गर्न छोड्नुहुन्न। न्याय फर्केर निर्मलतासित आउने छ। अनि त्यहाँ असल, ईमान्दारी मानिसहरू हुनेछन्। कसैले पनि मलाई दुष्ट मानिसहरूको विरूद्ध लड्न सघाएनन्। कोही पनि मसँग ती नीच कर्म गर्ने मानिसहरूको विरूद्ध लडाईँ गर्न उभिएनन्। यदि परमप्रभुले मलाई सहायता नगर्नु भएको भए, मृत्युद्वारा म मौन भइसकेको हुन्थें। म जान्दछु कि म पतन हुन लागेको थिएँ, तर परमप्रभुले आफ्नो चेलालाई सहायता गर्नुभयो। म अत्यन्त चिन्तीत र हड्बडिएको थिएँ तर परमप्रभु, तपाईंले मलाई सान्त्वना दिनुभयो अनि खुशी पार्नुभयो! परमेश्वर, कपटी न्यायकर्त्तालाई सहयोग नगर्नुहोस्। ती दुष्ट न्यायकर्ताहरूले साधारण जनताको लागि, कठिन जीवन यापन गर्ने नियमहरू बनाउँदछन्। त्यस्ता न्यायकर्ताहरूले असल मानिसहरूलाई आक्रमण गर्दछन्। तिनीहरूलाई दोषी साबित गरेर मार्न लगाउँछन्। तर मेरो परमप्रभु, उच्च पर्वतमाथि मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ। परमेश्वर मेरो चट्टान हुनुहुन्छ, मेरो सुरक्षाको ठाउँ। परमेश्वरले भयङ्कर कार्य गर्ने ती दुष्ट न्यायकर्ताहरूलाई दण्ड दिनुहुनेछ। परमेश्वरले तिनीहरूलाई नष्ट गर्नुहुनेछ किनभने तिनीहरूले पाप गरे। परमप्रभु हाम्रा परमेश्वरले ती पापी न्यायकर्ताहरूलाई नष्ट गर्नुहुनेछ।
भजनसंग्रह 94:12-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु, जसलाई तपाईंले शिक्षा दिनुहुन्छ, जसलाई तपाईं आफ्ना व्यवस्था सिकाउनुहुन्छ, त्यो कति खुसी हुन्छ! कष्टका दिनदेखि जबसम्म दुष्टहरू पर्ने खाडल तयार हुन्न, तबसम्म तपाईंले उसलाई विश्राम दिनुहुन्छ। परमप्रभुले आफ्ना प्रजालाई त्याग्नुहुन्न, जो-जो मानिसहरू उहाँका हुन्, उहाँले तिनीहरूलाई छोड्नुहुन्न। अड्डामा न्याय फेरि पाइनेछ र सबै धर्मी मानिसहरूले त्यसको समर्थन गर्नेछन्। दुष्टहरूका विरुद्धमा को मसँग खडा थियो? दुष्कर्मीहरूको विरुद्धमा कसले मेरो साथ दियो? परमप्रभुले मेरो मद्दत गर्नुनभएको हुँदो हो ता म चाँडै सुनसान मृत्यु-लोकमा पुग्नेथिएँ। मैले भनें, “म ढल्दै छु,” तर हे परमप्रभु! तपाईंको अटुट प्रेमले मलाई थामिराख्यो। जहिले-जहिले चिन्ता-फिक्री मलाई आइपर्दछ, तपाईंले मलाई सान्त्वना दिनुहुन्छ र खुसी बनाउनुहुन्छ। भ्रष्ट न्यायकर्ताहरू, जसले अन्यायलाई न्याय बनाउँदछन्, जसले असल मानिसहरूका विरुद्धमा जाल गर्छन् र निर्दोषीलाई प्राण दण्ड दिँदछन्, तिनीहरूसँग तपाईंको कुनै सरोकार छैन। तर परमप्रभुले मलाई बचाउनुहुन्छ, मेरा परमेश्वरले मेरो रक्षा गर्नुहुन्छ। परमेश्वरले तिनीहरूलाई आफ्ना दुष्टताको लागि दण्ड दिनुहुनेछ, आफ्ना पापको लागि तिनीहरूलाई नष्ट पार्नुहुनेछ। परमप्रभु हाम्रा परमेश्वरले, तिनीहरूलाई नाश गर्नुहुनेछ।