YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 58:1-11

भजनसंग्रह 58:1-11 सरल नेपाली

हे राजाहरू हो! के तिमीहरूले साँचो निसाफ कहिल्‍यै दिँदछौ? के तिमीहरूले निष्‍कपटसाथ सबै मानिसको न्‍याय गर्दछौ? होइन, तिमीहरूले सक्‍दो दुष्‍कर्म मात्रै सोचिरहन्‍छौ र देशमा हिँसाका उपद्रवहरू गर्दछौ। दुष्‍ट मानिसहरूले जीवनभरि दुष्‍कर्म गर्दछन्, तिनीहरूले जन्‍मेका दिनदेखि झूट बोल्‍छन्। तिनीहरू साँपजस्‍ता विषले भरिएका हुन्‍छन्, बहिरा गोमन साँपले जस्‍तै तिनीहरूले कान बन्‍द गर्दछन्। त्‍यसले साँप नचाउने मानिसको स्‍वर वा चलाख जादूवालाको मन्‍त्र सुन्‍दैन। हे परमेश्‍वर! ती डरलाग्‍दा सिंहहरूका दाँत भाँच्‍नुहोस्। तिनीहरू चुहुने पानीझैँ बिलाऊन्, तिनीहरू बाटोमा परेको झारपातझैँ चुर-चुर पारिऊन्। तिनीहरू माटोमा बिलिजाने चिप्‍लेकिराजस्‍ता होऊन्, तिनीहरू उज्‍यालो कहिल्‍यै नदेख्‍ने जन्‍मँदै मरेको बालकजस्‍ता होऊन्। चालै नपाई तिनीहरू झारपातझैँ फाँडिन्‍छन्, जिउँदै छँदा परमेश्‍वरले आफ्‍नो भयानक क्रोधमा तिनीहरूलाई बतासले झैँ उडाइदिनुहुनेछ। पापीहरूले दण्‍ड पाएको देख्‍दा धर्मीहरू खुसी हुन्‍छन्, दुष्‍टहरूको रगतमा तिनीहरू खुट्टा चाल्‍दै हिँड्छन्। मानिसहरूले भन्‍नेछन्, “धर्मीहरूले साँच्‍चै इनाम पाउँछन्, निश्‍चय नै संसारको न्‍याय गर्ने एक परमेश्‍वर हुनुहुन्‍छ।”

भजनसंग्रह 58 पढ्नुहोस्