भजनसंग्रह 57
57
सहायताको लागि प्रार्थना
1मलाई दया गर्नुहोस्, हे परमेश्वर! मलाई दया गर्नुहोस्
किनभने सुरक्षाको निम्ति म तपाईंको शरण पर्दछु।
उर्लंदो आँधी नथामिएसम्म तपाईंका
पखेटाका छायामा म शरण पाउँदछु।
2म परमेश्वरलाई, सर्वोच्च परमेश्वरलाई पुकार्दछु,
उहाँले मलाई चाहिएका हरेक थोक दिनुहुन्छ।
3उहाँले मलाई स्वर्गबाट जवाफ दिनुहुन्छ र बचाउनुहुन्छ,
उहाँले मलाई सताउनेहरूलाई हराउनुहुन्छ।
परमेश्वरले आफ्ना अटुट प्रेम र विश्वासयोग्यता मलाई देखाउनुहुन्छ।
4मानिस खाने सिंहहरूले जस्तै शत्रुहरूले मलाई घेरेका छन्,
तिनीहरूका दाँत काँड र भालाहरूजस्ता छन्
र जिब्रो धारिलो तरवारजस्तो!
5हे परमेश्वर! आकाशमा आफ्नो महान्ता र सारा पृथ्वीमा
आफ्नो गौरव देखाउनुहोस्।
6मेरा शत्रुहरूले मलाई समात्न जाल बिछाएका छन्,
म दु:खले विह्वल छु,
तिनीहरूले मेरो बाटोमा एउटा खाडल खने,
तर तिनीहरू आफैं त्यसमा परे।
7हे परमेश्वर! तपाईंमाथि मेरो पूरा भरोसा छ,
म भजन गाएर तपाईंको प्रशंसा गर्नेछु।
8हे मेरो आत्मा, जागी उठ्!
मेरो वीणा र सितार, जाग,
म घामलाई जगाउनेछु।
9हे प्रभु! जातिहरूका बीच म तपाईंलाई धन्यवाद चढाउनेछु,
जाति-जातिका बीचमा तपाईंको प्रशंसा गर्नेछु।
10तपाईंको अनन्त प्रेम स्वर्गसम्म पुग्दछ
र तपाईंको विश्वासयोग्यताले आकाश छुँदछ।
11हे परमेश्वर! आकाशमा आफ्नो महान्ता
र सारा संसारमा आफ्नो महिमा देखाउनुहोस्।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 57: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.