YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 50:1-15

भजनसंग्रह 50:1-15 सरल नेपाली

परमप्रभु सर्वशक्तिमान्‌ परमेश्‍वर बोल्‍नुहुन्‍छ, उहाँले पूर्वदेखि पश्‍चिमसम्‍म सारा पृथ्‍वीलाई बोलाउनुहुन्‍छ। सियोनबाट परमेश्‍वर चम्‍कनुहुन्‍छ, त्‍यो सहर सम्‍पूर्ण सुन्‍दरताले भरिएको छ। हाम्रा परमेश्‍वर आउँदै हुनुहुन्‍छ, तर उहाँ चुपचाप आउनुहुन्‍न, उहाँको अघि दन्‍कने आगो छ र उहाँको चारैपट्टि प्रचण्‍ड आँधी-बेहरी छ। आफ्‍ना प्रजाको न्‍याय गर्दा उहाँले स्‍वर्ग र पृथ्‍वीलाई साक्षी बनेर हेर्न बोलाउनुहुन्‍छ। उहाँ भन्‍नुहुन्‍छ, “मेरा विश्‍वासी प्रजा, जसले बलि चढाएर मसँग करार बाँधे, तिनीहरूलाई मकहाँ भेला गर।” परमेश्‍वर धर्मी हुनुहुन्‍छ र आफैं न्‍यायकर्ता हुनुहुन्‍छ भनी स्‍वर्गले घोषणा गर्दछ। हे मेरा प्रजा! म बोल्‍नेछु, तिमीहरू सुन, हे इस्राएल! म तेरो विरुद्ध गवाही दिनेछु। म परमेश्‍वर हुँ, तेरा परमेश्‍वर! तैँले मकहाँ सधैँ चढाएका होमबलि र बलिदानहरूका कारण, म तँलाई हप्‍काउँदिनँ। तर मलाई तेरा गोठबाट साँढे वा बगालबाट बोका चाहिँदैन। जङ्गलका सबै जनावरहरू मेरा हुन् र हजारौं डाँडाका गाई-वस्‍तु। सबै जङ्गली पक्षीहरू मेरा हुन् र मैदानमा भएका सबै जीवित प्राणीहरू। “म भोकाएको छु भने पनि तँलाई भन्‍नेछैनँ किनभने सारा संसार र त्‍यसमा भएका हरचीज मेरा हुन्। के म साँढेको मासु खाऊँ? वा बोकाको रगत पिऊँ? तेरो धन्‍यवाद नै परमेश्‍वरलाई चढाएको बलिदान होस्। तैँले जे कुराको प्रतिज्ञा गरेको छस्, ती सबै सर्वशक्तिमान्‌लाई दे। तँलाई दु:ख-कष्‍ट पर्दा मलाई पुकार्‌, म तँलाई बचाउनेछु र तैँले मेरो प्रशंसा गर्नेछस्।”

भजनसंग्रह 50 पढ्नुहोस्